कोशी तराईका पशुपालक किसान यतिबेला दोहोरो तनावमा छन्। एकातिर 'लम्पीस्किन' ले गोठै रित्याइदिने त्रास चुलिएको बेला दिनरातको मेहनतले उत्पादन गरेको दूध नबिक्ने पिरलो पनि थपिएको छ।
‘उत्पादन तपाईंको बजारको जिम्मा सरकारको’ भन्दै हरेक वर्ष नीति तथा कार्यक्रम अनि बजेट ल्याउने प्रदेश सरकारको वाचा सम्झिरहेका किसानलाई दूध नबिक्ने समस्याले सताइरहेको छ।
‘प्रदेशको कृषि मन्त्रालयले बजारको चिन्ता नलिनू भनेर हामीलाई एउटा कार्यक्रममा आश्वस्त पारेको थियो’, झापास्थित दुग्ध सहकारीमा आवद्ध झापा गाउँपालिकाका किसान प्रेम गुरागाईंले भने, ‘अहिले हाम्रो दूध आधा बिक्छ, आधा बिक्दैन। यसले समस्या बनाएको छ।’
झापाका गुरागाईं मात्रै होइन, मोरङ कानेपोखरीका गाईपालक किसान भेषराज आचार्य पनि अहिले दूध नबिक्ने समस्याले हैरान छन्।
केही महिना अघिसम्म दूध किन्न घर-घरै आइपुग्ने डेरी उद्योगहरूले अहिले कोटा तोकेरमात्रै दूध लिन थालेपछि उनको हैरानी चुलिएको छ।
‘बजारमा दूध धेरै भयो रे, अनि हाम्रोबाट कम्ती मात्रै लिन थालेको डेरीहरूको भनाइ छ’, आचार्यले भने, ‘अहिले पनि मेरो गोठबाट बिहान र बेलुका गरेर ३२ देखि ३५ लिटर दूध उत्पादन हुन्छ। बिहानको सबै बिक्री भए पनि साँझमा उत्पादित दूध बिक्न समस्या हुन थालेको छ।’
व्यावसायिक गाईपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका बहुसंख्यक पशुपालक किसानले भोगिरहेको साझा समस्या हो यो।
मागभन्दा धेरै दूध किसानले डेरीहरूमा दिन थालेपछि कोशी तराईका जिल्लामा अघोषित ‘मिल्क होलिडे’ निम्तिएको अवस्था छ। यसको प्रत्यक्ष असर पशुपालक किसानको आम्दानीमा परेको छ।
किसानका अनुसार दूधको बजार सधैं राम्रो हुने सम्भावना देखेरै किसानले ऋण काढेरै भए पनि गाई र भैंसी थपेर गोठ विस्तार गरेका छन्। तिनको हेरचाहदेखि स्वास्थ्योपचारसम्ममा लगानी बढाएका छन्। तर, जब उत्पादन बढेर आम्दानी पनि बढ्ने बेला आयो, बजारमा दूध बिक्नै सकस हुन थालेको छ।
वैदेशिक रोजगारीमा गएर फर्केकाहरूदेखि स्वदेशमै अन्य पेशा व्यवसायमा रमाएकाहरूले समेत पछिल्लो समय पशुपालनमा चासो देखाएका छन्।
प्रविधियुक्त प्रणालीबाट पशुपालन गर्नेहरू बढ्दा पनि पशुपालन व्यवसाय फस्टाएको छ। उत्पादन बढेको छ। तर, उत्पादनले बजार नपाउने अन्य किसानको नियतिबाट दूध उत्पादक किसान पनि अछुतो छैनन्।
‘अहिले सबैतिरबाट दूध धेरै आउन थालेको भन्दै डेरीहरूले कोटा तोकेर मात्रै दूध लिन थालेका छन्’, मोरङ कानेपोखरीकै अर्का किसान भोला पोखरेलले भने, ‘किसानहरूबाट क्षमताभन्दा धेरै दूध आउन थालेपछि ५ लिटरभन्दा कम उत्पादन गर्नेहरूसँग सहकारी र डेरीहरूले दूध किन्नै छोडेका छन्। यसले साना किसानहरू मारमा परेका छौं अर्कातिर धेरै उत्पादन गर्नेहरूको पनि सबै बिक्री भएको छैन।’
पोखरेलका अनुसार बजारमा दूध बिक्न छाडेपछि गाउँका सहकारी र डेरीहरूले दुई–तीन दिनसम्म दूध नै नलिएका घटना पनि हुन थालेको छ। यसलाई उनीहरूले ‘अघोषित मिल्क होलिडे’ भन्न थालेका छन्।
पछिल्लो समय प्रदेशमा फैलिएको लम्पीस्किनको प्रकोपले धेरै किसानका गोठ रित्याएको छ। यही प्रकोपका बीच पनि अनेक उपाय गरेर बढाएको दूध उत्पादन काम नलागेपछि पशुपालक किसानको बेचैनी बढेको हो।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरका अनुसार असार दोस्रो सातासम्मको तथ्यांक अनुसार कोशीमा लम्पीस्किनबाट ३ हजार ६ सय १४ वटा पशु मरिसकेका छन्। प्रदेशमा सबैभन्दा धेरै प्रभावित भएको जिल्ला इलाम हो। जसलाई दूध उत्पादनका लागि प्रदेशकै ‘हब’ मानिन्छ।
दूध र दुधजन्य सबै उत्पादनका लागि कहलिएको इलाममा मात्रै १ हजार ७३९ वटा पशु मरिसकेका छन्। यसमा गाईको संख्या नै सबभन्दा धेरै छ।
निर्देशनालयले अहिले पनि लम्पीस्किनको फैलावट तीव्र रहेको र पशु मर्ने क्रम जारी रहेको जनाएको छ। यसले संख्या अझै बढ्ने निश्चित छ।
‘सरकारले भने जति खोप उपलब्ध गराउन सकिरहेको छैन’, निर्देशनालयका एक अधिकृतले भने, ‘यसले जोखिम झनै बढाएको छ। अर्कातिर किसानले दूध बिक्न छाडेको गुनासो गरिरहेका छन्। यसले पनि चिन्ता बढाएको छ।’
सरकारी निकायहरूको 'नोटिस' मा रहेको यो विषयको निदान के हुने भन्ने कुनै उपाय अहिलेसम्म नभेटिएको ती अधिकारी बताउँछन्।
‘अहिले धेरै किसानले प्रदेशमा व्यावसायिक पशुपालन गरिरहेका छन्,’ निर्देशनालयका ती अधिकृत भन्छन्, ‘यसरी फस्टाएको पशुपालनले दूध उत्पादन ह्वात्तै बढेको छ। उत्पादनको दाँजोमा बजार कमजोर जस्तो देखिएको छ।’
प्रदेश कृषि मन्त्रालयका अनुसार कोशी तराईका जिल्लामध्ये झापामा गाईपालन ज्यादै फस्टाएको छ।
‘गाई पाल्ने किसानको संख्या बढेको छ। किसानको संख्या बढेपछि स्वाभाविक रूपमा पशुको संख्या पनि बढ्ने नै भयो’, दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख परमेश्वर चौधरीले भने, ‘मौसमले पनि दूध उत्पादन बढाउन राम्रो साथ दियो। लामो झरी छैन, यसले घाँस उत्पादन पनि बढेको छ। यसरी यहाँ दूध उत्पादन बढेको हो।’
उनका अनुसार भारतबाट लैनो गाईको आयात पनि उल्लेख्य बढेको छ।
सरकार मातहत रहेको संस्थानका आयोजना प्रमुख चौधरी सरकारी प्रोत्साहनकै बलमा दूध उत्पादन बढेको दाबी गर्छन्।
‘सरकारले दूधको मूल्यवृद्धि गरेपछि गाईपालनमा किसानको आकर्षण बढेको छ’, उनको दाबी छ। यसबाहेक कोशी प्रदेश सरकारले किसानलाई दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने नीति पनि लिएको छ। यसबाहेक अन्य पेशा व्यवसाय गर्नेहरूले पनि आफ्नै उपभोगका लागि भए पनि दूध उपभोग गर्ने लक्ष्यसहित पशुपालन थालेका कारण पनि दूध उत्पादन बढेको दूध व्यवसायी र किसानको भनाइ छ।
दुग्ध कारोबार गर्ने निजी डेरीहरूमा मात्रै होइन, निश्चित परिमाणमा दूध संकलन गरेर कारोबार गर्ने सरकारी निकाय दुग्ध विकास संस्थान मातहतको विराटनगरस्थित दुग्ध वितरण आयोजनामा पनि दूध संकलन पाँच गुणाभन्दा बढीले बढेको छ।
गएको फागुन–चैत महिनामा दैनिक ८ हजार लिटर दूध संकलन गर्दै आएको डिडिसी विराटनगरले अहिले दैनिक ४५ हजार लिटर दूध संकलन गरिरहेको प्रमुख चौधरी बताउँछन्।
डिडिसी र अन्य धेरै निजी डेरीहरूले अहिले बढी भएको दूध पाउडर बनाउन उपयोग गरिरहेका छन्। यद्यपि यसो गरिरहँदा पनि किसानको सबै उत्पादनले बजार पाएको अवस्था छैन।
झापा मेचीनगरकी राधा शिवाकोटी डेरी व्यवसायमा आवद्ध उद्यमी हुन्। उनका अनुसार बर्खा सुरू भएपछिका केही महिना बजारमा सधैं दूधको अभाव उच्च हुने गर्दथ्यो।
‘असार लागेपछि र भदौ अन्तिमसम्मै बजारमा दूध अभाव हुने गथ्र्यो’, शिवाकोटीले भनिन् ‘यसपालि अवस्था त्यस्तो छैन। बजारमा दूध फालाफालको अवस्था छ। किसानबाट दूध लिन्नँ भन्नुपर्ने अवस्था सिर्जना भएको छ।’
डेरी व्यवसायीहरूका अनुसार अन्य वर्षको दाँजोमा यो पटक बजारमा दोब्बर परिमाणमा दूध उपलब्ध छ। दूध उत्पादन बढेको प्रमाण दिने तथ्यांक मोरङ कानेपोखरीको पौरखी डेरीसँग छ।
पौरखी डेरीले गएको चैत महिनामा किसानहरूबाट दैनिक सरदर ४ हजार लिटरका दरले दूध संकलन गरेको थियो।
डेरीका अनुसार असार सुरू भएपछि यो परिमाण कम्तीमा ३० प्रतिशतसम्म घट्थ्यो हरेक वर्ष। डेरीको अनुमान यही थियो। तर, अहिले अवस्था अर्कै छ। अघिल्लो वर्षको बर्खामा दैनिक २५ सय लिटर हाराहारी दूध संकलन गर्ने डेरीले यतिबेला दैनिक ८ हजार लिटरका दरले दूध संकलन गरिरहेको छ।
कोशी प्रदेशका ४२ वटा दुग्ध उत्पादक सहकारी मिलेर बनेको सगरमाथा विशिष्टिकृत सहकारी संस्थाका अध्यक्ष बाबुराम दाहालले भने, ‘दूध उत्पादन यसपटक धेरै बढेको छ जसले गर्दा यस क्षेत्रमा १५ दिनयता अघोषित रूपमा मिल्क होली–डे निम्तिएको छ। यो सुखद् कुरा होइन।’
उनका अनुसार उत्पादन बढेपछि डेरीहरूले दूध संकलन दोब्बरले बढाएका छन्। तै पनि किसानको सबै दूध बिक्री हुन सकेको छैन।
सहकारीका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार कोशी प्रदेशमा उत्पादन हुने १ लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो। तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटर दूध संकलन भइरहेको छ।
उनले थपे ‘दैनिक १ लाख लिटर बढी दूध बजारमा आएपछि सबै डेरीहरूमा त्यसको चाप परेको छ। यसले दूध बिक्री नहुने समस्या सिर्जना गरेको छ।’
त्यसो त सुख्खायाम सुरू हुने बित्तिकैदेखि दूध उत्पादन घट्ने पूर्वानुमान गरेका डेरीहरूले हिउँदमै पर्याप्त धुलो दूधको जोहो पनि गरेका थिए। तर, किसानबाटै पुग्दो दूध आपूर्ति भइरहेका कारण पाउडर प्रयोग गर्नुनपर्ने अवस्था छ।
व्यावसायिक रूपमा दूध उत्पादनमा संलग्न किसान सरकारले दूधको बजारको प्रबन्ध गर्नुपर्ने बताउँछन्।
‘दूध उत्पादन बढेपछि बजारको प्रबन्ध गरिदिनु राज्यको दायित्व हो’, झापाका किसान प्रेम गुरागाईंले भने, ‘भारतमा आफ्नै उत्पादन धेरै छ। सरकारले अर्को कुनै तेस्रो देशको विकल्प खोज्नसक्छ। अन्यथा पशुपालनमा भविष्य खोज्न थालेका हामीजस्ता किसान पूरै मारमा पर्नेछौं।’