गत वर्ष असार १० मा पालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा इलामको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले एउटा प्रतिबद्धता जनाएका थिए।
उनले भनेका थिए, 'आउँदो वर्षको बजेट सार्वजनिक गर्ने बेलामा हाम्रो टेबलमा गाउँपालिकाले ब्रान्डिङ गरेको गुन्द्रुकको प्याकेट हुनेछ।'
वर्ष दिनअघिको उनको वाचा यसपटक पूरा भयो।
यसपालि गाउँ अधिवेशन चलिरहँदा जनप्रतिनिधिका अघिल्तिर 'रोङ गुन्द्रुक' को प्याकेट सजिएको थियो।
पढ्नुहोस्ः रोङ गाउँपालिकाले खोल्यो गुन्द्रुक उद्योग, किसान भन्छन्- अब हाम्रो साग खेर जाँदैन
गत वर्षझैं यसपटक पनि रोङ गाउँपालिकाले असार १० मै बजेट ल्यायो।
यसपटक पनि अध्यक्ष स्याङ्बोले अर्को वाचा गरे।
'आउँदो वर्षको बजेट सार्वजनिक गर्ने कार्यक्रमका बेलासम्ममा हाम्रोअघि यहीँ ब्रान्डिङ गरिएको सिस्नोको प्याकेट हुनेछ,' उनले भने, 'हामी स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजार पठाउने र गाउँका किसानलाई त्यसबाट फाइदा दिलाउने अभियानमा निरन्तर लाग्नेछौं।'
झापासँग साँध जोडिएको दक्षिण इलामको रोङ गाउँपालिका हरेक वर्ष कुनै न कुनै स्थानीय उत्पादनलाई गाउँबासीको आम्दानीको स्रोत बनाउने अभियानमा लागेको छ। गत वर्ष सुरू भएको गुन्द्रुक उत्पादन र ब्रान्डिङ योजना अब 'लन्च' हुने तयारीमा पुगेको छ।
'गुन्द्रुकको उत्पादन र प्रशोधनको सम्पूर्ण चरण पूरा गरेर प्याकेजिङ पनि भइसकेको छ,' अध्यक्ष स्याङ्बोले भने, 'अब छिट्टै लन्च गरेर बजारमा पठाउने तयारी छ। त्योसँगै यो वर्षदेखि हामी सिस्नो पनि ब्रान्डिङ थाल्दैछौं।'
आइतबार सार्वजनिक भएको गाउँपालिकाको नीति कार्यक्रम तथा बजेटमा आर्थिक वर्ष २०८०/०८१ मा सिस्नो ब्रान्डिङलाई महत्व दिइएको छ। कच्चापदार्थको सहज उपलब्ध हुने र बजारमा माग पनि उच्च भएका कारण सानो लगानीमै ठूलो प्रतिफल हासिल हुने अपेक्षा गाउँपालिकाको छ।
'सिस्नोको ब्रान्डिङका लागि यसपटक हामीले विनियोजन गरेको बजेट जम्मा दुई लाख रूपैयाँ मात्रै हो,' स्याङ्बोले थपे, 'तर यसले ज्यादै ठूलो उपलब्धि दिनेछ।'
यति थोरै लगानीमा धेरै आम्दानी कसरी सम्भव छ?
गाउँपालिकासँग यसको चित्तबुझ्दो उत्तर छ। जंगलैजंगलले ढाकिएको र भीरपाखा प्रशस्त भएको गाउँपालिकामा सिस्नो जताततै पाइन्छ। जसरी गुन्द्रुक उत्पादन गर्न साग रोप्ने, गोड्ने, हेरचाह गर्ने, टिप्ने जस्ता काम गर्नुपर्छ, सिस्नोका हकमा त्यो सबै झन्झट हुँदैन।
गुन्द्रुक उत्पादनका लागि उद्योग स्थापना गर्नुपरेको थियो। सिस्नोलाई प्रशोधन गर्न त्यही उद्योगले काम दिन्छ। अन्य संरचना जोड्नु पर्दैन।
'गाउँपालिकाभरिका किसानलाई सहकारीमा संगठित गरिनेछ,' अध्यक्ष स्याङ्बोले योजना सुनाए, 'त्यही सहकारीमार्फत सिस्नो संकलन गरिनेछ। प्रशोधन गरेर बजार पठाइनेछ। त्यसबाट भएको आम्दानी सहकारीमार्फत गाउँबासीलाई प्रदान गरिनेछ।'
रोङका बहुसंख्यक किसानले हरेक वर्ष आफ्नो खेतबारीमा उम्रिने सिस्नो खेताला लगाएर फाँड्न लगाउने गरेका छन्।
'जंगलमा, पाखा, जताततै सिस्नो पाइन्छ। बाली लगाउँदा फाँड्ने चलन छ,' उनले भने, 'यो वर्षदेखि त्यो सबै सिस्नो संकलन गर्ने, प्रशोधन गरेर विभिन्न स्वरूपमा प्याकेजिङ गर्ने र बजार पठाउने काम हुनेछ। यो वर्ष रोङ गुन्द्रुक र केही समयपछि रोङ सिस्नो बजारमा उपलब्ध हुनेछ।'
यस्तो योजनाले रैथाने उत्पादनको प्रवर्द्धन हुने र अर्गानिक उत्पादनले उपभोक्ताको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै लामो समयदेखि लगभग अपहेलित अवस्थामा रहेका वनस्पति स्थानीयवासीको आय आर्जनको स्रोत बन्ने अपेक्षा गाउँपालिकाको छ।
सिस्नोको ब्रान्डिङबारे प्राविधिक अध्ययन सुरू भइसकेको र चाँडै काम थालिने पालिकाको भनाइ छ।
सिस्नो गुणकारी वनस्पति भएकाले नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा सजिलै खपत हुने विश्वास पनि गाउँपालिकाको छ।
'यसको उत्पादनसँगै बजारीकरणमा पनि हामी आक्रामक रूपमा लाग्नेछौं,' अध्यक्ष स्याङ्बोले भने, 'विस्तृत योजना बनिसकेको छ।'
आफ्नो कार्यकालको पहिलो वर्षमा गुन्द्रुक उत्पादन गरेर देखाएको गाउँपालिकाले यो वर्ष सिस्नोसँगै 'रोङ मह' को पनि ब्रान्डिङ गर्दैछ।
प्रदेश सरकार र आफ्नो संयुक्त लगानीमा गाउँपालिकाले 'मह बैंक' नै स्थापना गर्दैछ।
'शुद्ध मह उत्पादनमा मौरीपालक किसानलाई प्रतिकिलो दुई सय रुपैयाँ अनुदान दिइनेछ,' रोङको नीति कार्यक्रममा भनिएको छ, 'तर उक्त अनुदान लिन किसानले सुरूमै आफ्नो नाम सम्बन्धित निकायमा सूचीकृत गर्नुपर्नेछ। सूचीकृत किसानको मह उत्पादनदेखि काढ्नेसम्मको अनुगमनमा मापदण्ड पूरा भए मात्र शुद्ध मह प्रमाणित हुने र अनुदान प्राप्त गर्न सक्नेछन्।'
महबारे साउन महिनाभित्रै कार्यविधि बनाएर बैंक स्थापना गरिने गाउँपालिकाले जनाएको छ।
मह उत्पादनमा किसान लाग्दा गाउँमा विषादी प्रयोग नियन्त्रणमा आउने, परागशेचनमार्फत कृषि उत्पादन वृद्धि हुने र पर्यावरणमा पनि टेवा पुग्ने पालिकाको भनाइ छ।
कृषिलाई उच्च महत्व दिएको गाउँपालिकाले 'एक वडा एक सहकारी, एक सहकारी एक प्रशोधन उद्योग, एक उद्योग एक कृषि एम्बुलेन्स' को अवधारणा पनि अघि सारेको छ।
कृषि प्रशोधन उद्योगका लागि विशेष अनुदान एक करोड १५ लाख रूपैयाँ र दुग्ध उत्पादन प्रवर्द्धनमा २० लाख रूपैयाँ विनियोजन गरिएको छ।
'यी सबै उद्योगहरू स्थानीय उत्पादनमा आधारित हुनेछन्,' अध्यक्ष स्याङ्बोले भने, 'यी उद्योग सञ्चालनमा आउँदा ४८० जनाले रोजगारी पाउनेछन्।'
गाउँपालिकाले 'सबै विद्यालय कृषि पाठशाला, हरेक किसानलाई अनिवार्य तालिम' भन्ने कार्यक्रम पनि तर्जुमा गरेको छ।
'हरेक विद्यालयमा कृषि शिक्षकको प्रबन्ध गरिनेछ,' नीति कार्यक्रममा उल्लेख छ, 'यसका लागि ४० लाख र कृषि शैक्षिक सामग्री व्यवस्थापनका लागि २० लाख रूपैयाँ विनियोजन गरिएको छ।'
रोङले आउँदो आर्थिक वर्षदेखि गाउँपालिकाभरि 'कृषि एम्बुलेन्स' पनि सञ्चालन गर्ने भएको छ।
'रोङका कुना–कुनामा तरकारी, सागपातदेखि अरू धेरै कृषि वस्तु उत्पादन हुन्छ,' अध्यक्ष स्याङ्बोले भने, 'ती उत्पादन बजार पुर्याउन गाउँपालिकाले गाडीको प्रबन्ध गर्नेछ जसलाई हामीले कृषि एम्बुलेन्स भनेका छौं।'
यसले किसानको उत्पादन खेतबारीमै खेर जाने अवस्थाको अन्त्य हुने गाउँपालिकाले जनाएको छ।
त्यस्तै कृषि तथा पशु बीमा अनिवार्य लागू गरिने, सरकार र जनताको बीचमा सहकारीलाई सम्पर्क सेतु बनाउने, सहकारी व्यवस्थित गर्न 'नेपाल फेडेरेसन अफ सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ युनियन्स लिमिटेड (नेफस्कुन) को र रोङ गाउँपालिकाको साझेदारीमा तीन वर्षे रणनीति लागू गरिएको छ।