सल्यानको त्रिवेणी गाँउपालिका-६ की नोखी बुढाथोकीको परिवारले १० वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका छन्।
बुढाथोकी परिवारको आम्दानीको प्रमुख आधार तरकारी खेती नै हो। उनले वार्षिक १० लाख बराबरको तरकारी उत्पादन गरी बेच्ने गरेकी छन्। पाँच कट्ठा जमिनमा तरकारी खेती गर्दै आएका छन्। जससमध्ये दुई कट्ठा जमिन यसपालि भाडामा लिएका थिए। जसकारण यो पटक उत्पादन पनि बढी भएको छ।
स्थानीय नन्दकली रेउलेको पनि यो वर्ष सात लाख बढीको तरकारी बिक्री हुने अनुमान छ।
‘आधा जति तरकारी बिक्री भइसकेको छ,’ रेउलेले भनिन्, ‘त्यसबाट हामी निकै उत्साहित छौं।’
बुढाथोकी र रेउले जस्ता ५० जना किसान परिवारले त्रिवेणी – ६ सल्लेखोलामा उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत तरकारी बेच्दै आएका छन्।
यहाँका किसानले उत्पादन गरेको तरकारी मात्रै हैन खसी-बाख्रापनि सहकारीले नै बजारीकरण गर्न सहयोग गर्दै आएको छ।
उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले विगत ६ वर्षदेखि तरकारी हाट बजार संचालन गर्दै आएको छ। सहकारीको कार्यालय नजिकै जग्गा भाडामा लिएर टहराहरू बनाइएका छन्।
जहाँ प्रत्येक सोमबार हाटबजार लाग्छ। त्यहाँबाट व्यापारीहरूले तरकारी खरिद गर्ने गरेका छन्।
किसानले बजार मुल्य अनुसार नै बिक्री गर्छन्। सरकारीलाई भने प्रतिकिलो ५० रुपैयाँ दिने सहमती छ।
महिला समुहले बजारिकरणको काम गर्न थालेपछि उत्पादित तरकारी बेच्न सजिलो भएको स्थानीय रूपा पुनले बताइन्।
‘सहकारीका कारण तरकारी कहाँ बेच्ने भन्ने तनाव छैन,’ पुनले भनिन्, ‘हामीलाई बजारको कुनै समस्या छैन र बिचौलियाले बीचमा ठूलो फाइदा उठाउन पनि पाउँदैनन्।’
हेफर इन्टरनेशनल नेपाल र तत्कालीन शान्ति नेपाल संस्थाको सहयोगमा महिला समुह गठन गरिएको थियो। स्थानीय किसानको समस्या अवगत गरी बचत समुह सहकारीमा परिणत गरी स्थानीय उत्पादन खरिद गर्न थालेको हो।
२०६८ सालमा दर्ता भएको सहकारीले समय सँगै आफ्नो व्यावसाय पनि विस्तार गर्दै लगेको छ।
महिलाहरूलाई सशक्तिकरणसँगै आर्थिक रूपले बलियो बनाउने उद्देश्यले यो कामको थालनी गरेको सहकारीकी व्यवस्थापक राधा घर्ती बताउँछिन्।
सहरकारीले आफ्नो विनियममा आधारित रहेर कृषी जन्य व्यावसायिक कामहरू गर्दै आएको उनले जानकारी दिइन्।
‘६ वर्षअघि सहकारीको आफ्नो संकलन केन्द्र पनि थिएन र विश्वास नभएर धेरै सदस्यले सुरूमा सहकारीमा तरकारी ल्याउन मान्नुहुन्न थियो,’ उनले भनिन्, ‘पहिलो दिन छ क्विन्टल मात्रै तरकारी संकलन गरी फर्किँदा पनि हामीले हार मानेनौं।’
सहकारीले हाल वार्षिक किसानबाट एक लाख क्विन्टल जति तरकारी संकलन गरी बिक्री गर्ने गरेको उनले बताइन्।
सहकारीका बजार व्यवस्थापक झिनबहादुर नेपालीले गत वर्ष ३४ लाख बराबारको तरकारी बिक्री गरेको बताए।
सल्यानको तरकारी तुलसीपुर, घोराही, बुटवल, नेपालगंज, नारायणगढसम्म पठाउने गरेको उनले बताए।
हेफर इन्टरनेशनल नेपाल र ग्रामिण महिला उत्थान केन्द्र दाङले परियोजना मार्फत सहकारीले संचालन गरेको तरकारी व्यवसायलाई थप व्यवस्थित बनाउँदै लगेको छ ।
सहकारीले तरकारी राख्ने क्यारेट, खसी बोका र तरकारी बोक्न पिकअप भ्यान सहयोग गरेको छ। त्यसले गर्दा तरकारी र खसी बोकाको बिक्रीमा वृद्धि भएको बजार व्यवस्थापक नेपालीले बताए।
साथै व्यावसायिक तरकारी खेती तथा कृषि जन्य व्यवसायका गर्न सदस्यलाई सहकारीले बिना धितो कर्जा लगानी गर्दै आएको छ।