यो वर्ष धान उत्पादन घट्यो, सरकारी प्रक्षेपण ‘फेल’

ललितपुरको बुंगमतिमा शुक्रबार धान निफन्दै स्थानीय किसानहरू। दशैं सकिएसँगै काठमाडौं उपत्यकाका किसानहरूलाई धान भित्र्याउने चटारो छ । तस्बिर:अनिश रेग्मी/सेतोपाटी


सरकारले यो वर्ष हालसम्मै धेरै धान फल्ने प्रक्षेपण गरे पनि उत्पादनमा भने गत वर्षभन्दा पनि कमी आएको छ। सरकारले ५३ लाख मेट्रिक टन बढी धान फल्ने प्रक्षेपण गरेकोमा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन मात्रै उत्पादन भएको छ।

कृषि विकास मन्त्रालयका अनुसार यो उत्पादन गत वर्षकोभन्दा पनि कम हो। गत वर्ष ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो। गत वर्षभन्दा यो वर्ष १ दशमलव ५ प्रतिशत उत्पादन कम भएको मन्त्रालयले जनाएको छ।

यो वर्ष समयमै वर्षा नहुँदा धान रोपाई हुन ढिला भएकाले उत्पादनमा कमी आएको कृषि विज्ञहरु बताउँछन्। वरिष्ठ कृषि विज्ञ मणिरत्न अर्यालका अनुसार असारको २०÷२२ गतेसम्म पर्याप्त वर्षा हुनु धान रोपाईका लागि उपयुक्त मानिन्छ। तर यसपटक एक महिना ढिला भएकाले त्यसले उत्पादमा कमी आएको हो।

असारको अन्त्यसम्म ६० प्रतिशत बढी रोपाई हुनुपर्नेमा त्यो हुन सकेन, बिउ हुर्किसकेपछि मात्रै रोपाइ गर्नुपर्दा त्यसले उत्पादनमा असर पर्यो’ सेतोपाटीसितको कुराकानीमा उनले भने।

दोस्रो कारणका रुपमा उनले खेती गरिएको क्षेत्रफल घट्नु रहेको औंल्याए। मन्त्रालयका अनुसार धान खेती गरिएको क्षेत्रफल एक वर्षको अवधिमा ५ दशमलव ३ प्रतिशतले खुम्चिएको छ। यो वर्ष १४ लाख ६९ हजार ५४५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। जवकि गत वर्ष १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान लगाइएको मन्त्रालयले जनाएको छ।

उत्पादनमा कमी आउनुको अर्को कारण तराईमा आएको बाढीले लगाइएको धान नष्ट हुनु पनि रहेको विज्ञ बताउँछन्। ‘खेती भएको क्षेत्रफल जोडियो, तर करिब २५ हजार हेक्टर क्षेत्रफलको खेती बाढीले नष्ट भयो, जसले गर्दा उत्पादनमा ह्रास आयो’ अर्यालले भने।

यो वर्ष कुल खेती गरिएको क्षेत्रफलका आधारमा प्रतिहेक्टर उत्पादन भने बढेको छ। यो वर्ष ३ दशमलव ५ मेट्रिकटन प्रतिहेक्टर धान फलेको छ। जवकि गत वर्ष प्रतिहेक्टर ३ दशमलव ३६ मेट्रिक टन फलेको थियो।

यो वर्ष प्रतिहेक्टर क्षेत्रफलमा धान उत्पादन बढेकाले निराश हुनुपर्ने अवस्था भने नरहेको विज्ञहरु बताउँछन्। मन्त्रालयका सूचना अधिकृत समेत रहेका अर्याल हाइब्रीड बिउको प्रयोग बढ्नु र समयमै मल पुग्नुले प्रतिहेक्टर उत्पादकत्व बढेको तर्क गर्छन्। ‘अब लोकल जातका धान मात्रै भन्दा पनि बढी उत्पादन दिने बिउतर्फ किसान लागेका छन् त्यसले उत्पादकत्व बढाएको हो’ उनले भने।

यस्तो छ, विगत ५ वर्षमा धान खेती गरिएको क्षेत्रफल र उत्पादन

वर्ष खेती गरिएको क्षेत्रफल (हेक्टर) कुल उत्पादन (मेट्रिकटन)
२०७० १४ लाख २० हजार ४५ लाख ४ हजार
२०७१ १४ लाख ८६ हजार ५० लाख ४७ हजार
२०७२ १४ लाख २५ हजार ४७ लाख ८८ हजार
२०७३ १५ लाख ५२ हजार ५२ लाख ३२ हजार
२०७४ १४ लाख ६९ हजार ५१ लाख ५१ हजार

सरकारी प्रक्षेपण ‘फेल’
कृषि मन्त्रालयले यो वर्ष धानको उत्पादनले नयाँ रेकर्ड राख्ने अनुमान गरेको थियो। मन्त्रालयका उच्च अधिकारीहरुले ५३ लाख मेट्रिकटनभन्दा बढी उत्पादन हुने अनुमान गर्दै गर्दा अन्ततः परिणाम भने सोअनुसार आउन सकेन। मन्त्रालयले प्रक्षेपण गरेभन्दा ३ लाख मेट्रिक टनको उत्पादन कमी आएको छ। अनुमान गरिएभन्दा धान उत्पादन केही कमी भएको मन्त्रालयका सूचना अधिकृत अर्याल स्वीकार्छन्। ‘हामीले कात्तिक महिनाको प्रारम्भिक रिपोर्टअनुसार प्रक्षेपण गर्यौँ, तर उत्पादन सोअनुसार देखिएन, यसबारे हामी पनि थप बुझ्दैछौँ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.