बेलायतस्थित नेपाली डायस्पोराको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ मा हजारौं मानिस सहभागी भएका छन् ।
तमुधिँ यूकेले आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा गरेको २० औं गोर्खा कप फुटबल प्रतियोगितामा बेलायतभरबाट झण्डै १० हजार नेपाली सहभागी भएका आयोजकले जनाएको छ।
स्थानीय रसमोर बरो काउन्सिलले आफ्नो वार्षिक क्यालेण्डरमा समेत राखेको गोर्खा कप खासमा फुटबल प्रतियोगिता भए पनि नेपालीले यसलाई एकापसमा भेटघाट र नेपाली कला संस्कृति अवलोकन गर्न पाइने पर्वका रुपमा लिने गरेका छन् ।
यसपटक १६ देखि ३९ वर्ष उमेर समूहको मेन क्याटेगोरीमा ३२, भेट्रानतर्फ ८ र महिला मेनमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा लन्डन आसपासबाहेक वेल्स, कोलचेष्टर, अक्सफोर्ड, योर्क, क्याटरिकसहित बेलायतका विभिन्न शहर र नेदरल्याण्डबाट समेत टिम सहभागी थिए।
प्रतियोगितामा मेन विधातर्फ एफसी केन्ट विजेता बन्यो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा राङभाङ समाज यूकेलाई २–१ गोलअन्तरले हराउँदै एफसी केन्टले उपाधि जितेको हो।
उपाधिसँगै एफसी केन्टले नगद २५ सय पाउन्ड, शिल्ड, ट्रफी र प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्यो।
उता, गोर्खाकपमा पहिलो पटक सहभागी राङभाङले फाइनलसम्मको रोमाञ्चक यात्रा तय गर्दै उपविजेता बन्न सफल भयो। राङभाङले नगद १५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्रसहितको दोस्रो पुरस्कार पायो।
त्यस्तै, प्रतियोगिताको भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विजेता बन्यो। बीबीसीले नगद १५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। भेट्रान विधाको उपविजेता इलाम एफसीले नगद ८ सय पाउन्डसहितको पुरस्कार पायो।
गोर्खाकपमा यो वर्ष पहिलोपटक प्रतिस्पर्धा गराइएको महिला विधामा मनोक्रान्ति टिम विजेता बन्दै नगद ५ सय पाउन्ड पुरस्कार प्राप्त गरेको छ।
महिलातर्फ उपविजेता ‘म खेल्छु’ समूहले तीन सय पाउन्ड नगदसहित दोस्रो पुरस्कार पायो ।
गोर्खाकपको यो संस्करणमा मेन विधामा मिलन राई, भेट्रानमा खुम गुरूङ र महिलामा काजा उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए। उत्कृष्ट म्यानेजरमा प्रेम गुरूङ छनोट भए ।
गोर्खाकपमा पहिलोपटक गराइएको ठेलो प्रतिष्पर्धामा निरज गुरूङ विजेता र मानबहादुर गुरुङ उपविजेता भए। भेट्रानतर्फ भने श्याम गुरूङ विजेता र आशबहादुर गुरुङ उपविजेता बने।
गोर्खा कपमा प्यारासुट डिस्प्ले, तमु परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल, सांस्कृतिक प्रस्तुति, गायिका एलिना गुरूङको गायन आदि मुख्य आकर्षण थिए ।
गोर्खा कपमा इंग्ल्याण्डकै क्लब टोटेनहम हटस्परमा आवद्ध फुटबलर सुश्री अस्मिता आले पनि सहभागी थिइन्।
औपचारिक कार्यक्रमलाई प्रमुख अतिथि रसमोर बरो मेयर काउन्सिलर जोन मार्स, लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, तमुधिँ यूके अध्यक्ष हित काजी गुरूङ लगायतले सम्बोधन गरेका थिए।
सम्वोधनका क्रममा वक्ताहरूले गोर्खा कपले नेपाली कला-संस्कृति र परम्परा जगेर्ना एवं प्रवर्धन तथा बेलायती समुदायसँग अन्तरघुलनका लागि विशेष भूमिका खेलेको बताए।
नेपाली समुदायलाई एकतावद्ध गर्न पनि यस इभेन्ट महत्वपूर्ण रहेको उनीहरूले बताएका थिए। नेपाली युवालाई कुलततिर लाग्नबाट रोक्न, फुटबलस्तर वृद्धि र 'इन्ट्रीगेसन' मा गोर्खा कप सहयोगी बनेको आयोजकको दावी छ।