बेलायतको राजधानी लन्डनको ऐतिहासिक ट्राफल्गर स्क्वायर आइतबार नेपालमय बन्यो।
बेलायतको राजधानी लन्डनको मुख्य पर्यटकीय स्थल ट्राफलगर स्क्वायरमा आइतबार नेपाली समुदायले मौलिक शैलीमा बुद्ध जयन्ती मनाएका छन्।
बुद्ध फाउन्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसमेतको सहकार्यमा बुद्धजयन्ती आयोजना गरेको हो।
बुद्धजयन्तीको पाँचौं संस्करणमा मौलिक नेपाली पहिरनमा सजिएका नेपालीको चहलपहल, घन्किएको नेपाली गीतसंगीत, सांस्कृतिक कार्यक्रम, फहराइरहेका नेपाली झण्डा र ध्वजापतका लगायतले धेरै विदेशीको समेत ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारू नाच, नेपालको हिमाल, पहाड, तराई लगायत क्षेत्रको मौलिक पहिचान झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नेपालबाट आएका स्याल्पा तेन्जिङ रिम्पोचेले बौद्ध दर्शनसम्बन्धी प्रवचन दिएका थिए। सो अवसरमा बिसीसी यूकेको संयोजनमा शान्तिपूजा साथै विश्व शान्तिको कामनासहित सामूहिक दीप प्रज्वलन पनि गरिएको थियो।
उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सम्बोधनका क्रममा गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताए ।
उनले गौतमबुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको पनि उल्लेख गरे ।
मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए।
‘बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु’, मन्त्री पौडेलले भने, ‘शान्तिका अग्रदूत गौतमबुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधि ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ।’
बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायत मुलुकका बेलायतस्थित राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरुले सम्बोधन गरेका थिए।
बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न सघाउने सबैप्रति आभार व्यक्त गरे। कार्यक्रम संयोजक एवम् फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले कार्यक्रमको अवधारणाबारे बताएका थिए।
कार्यक्रममा लन्डन सहित आसपास र मिडल्याण्ड, स्वीन्डन लगायतका क्षेत्रबाट समेत सयौं नेपाली सहभागी भएका थिए।
हेर्नुहोस् तस्बिरहरू