संयुक्त अधिराज्य बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली दूतावास लन्डनमा आफ्नो पदभार ग्रहण गरेका छन्।
बेलायतको लागि २२ औं नेपाली राजदूतका रूपमा आचार्यले बुधबार दिउँसो पदभार ग्रहण गरेको लन्डनस्थित दूतावासले जनाएको छ।
पदभार ग्रहण गरेसँगै आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यसैगरी भूतपूर्व ब्रिटिश गोर्खाको समस्या समाधान प्राथमिकताको विषय रहेको जनाईको छ। व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिनेसमेत दूतावासले जनाएको छ।
बेलायतको लागि नेपाली राजदूतमा नियुक्त भएको एक महिनापछि बुधबार बिहान मात्रै उनी लन्डन उत्रिएका थिए।
पूर्व राजदुत लोक दर्शन रेग्मी* लाई नेपाल सरकारले कार्यावधि अगावै फिर्ता बोलाएपछि नेपाली दूतावास लन्डन विगत चार महिनादेखि राजदूतविहिन थियो।
उक्त अवधिमा दूतावासकी उपनियोग प्रमुख रोशन खनालले कार्यबाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएकी थिईन्।
यसअघि मंगलवार मात्रै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संयुक्त अधिराज्यका परराष्ट्र मन्त्रीका विशेष प्रतिनिधि माइकल जोन हलोवे, राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारीलगायत दूतावासका कर्मचारीले राजदूत आचार्यलाई स्वागत गरेका थिए।