गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको स्वास्थ्य समितिको आयोजनामा बेलायतमा शुक्रबारदेखि तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरू भएको छ।
'भर्च्युयल रूम' मार्फत विभिन्न विषयमा सम्बन्धित विशेषज्ञले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमको शुरुवात गरिएको छ। सम्मेलनको औपचारिक उद्घाटन भने लन्डनस्थित नेपाली दूतावासमा शनिबार बिहान गरिनेछ।
तेस्रो सम्मेलन भर्चुअल तथा प्रत्यक्ष दुवै माध्यमबाट हुने र विश्वभरबाट सम्मेलनमा सहभागी हुनेछन्। गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक एवं सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक डा. सन्जिव सापकोटाले सम्मेलनमा स्वास्थ्य सम्बन्धि बिभिन्न कार्यपत्र प्रस्तुत हुने बताए।
सम्मेलनमा नेपाल, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानेडा, जापान, बंगलादेशसहितका देशका करिब ५ सय स्वास्थ्यकर्मी, अनुसन्धाता, वैज्ञानिक लगायत सहभागी हुने आयोजकले बताएका छन्। सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकले आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
तीनदिने सम्मेलनको पहिलो दिन चिकित्सकले भर्चुअल माध्यमबाट आफ्ना अनुसन्धानपत्र प्रस्तुत गर्ने, दोस्रो दिन लण्डनस्थित नेपाली दूतावास भवनबाट सम्मेलन उद्घाटन र समापन अल्डरसटमा गर्ने तयारी रहेको छ।
नेपाल मेडिकल काउन्सील, नेप्लीज डक्टर्स एसोसिएसन यूके, नेप्लीज नर्सिङ एसोसिएसन यूके, नेपाल मेडिकल काउन्सिल अष्ट्रेलिया, रोयल कलेज अफ एडिनबरा, यूके नर्सिङ सोसाइटी जस्ता स्वास्थ्य संस्थाहरुले सहभागिता जनाउने छन्।
सम्मेलनमा विदेशमा रहेका नेपालीको स्वास्थ्य अवस्था, कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेश गर्ने छन्।
सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्धन, प्रयोगशाला, नेपालमा रोग नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनका विषयमा केन्द्रित रहनेछ।
सम्मेलनको यूके आयोजक कमिटीका संयोजक डा. सुनिल शाहले बेलायतको रेड लिष्टका कारण नेपालबाट भने स्वास्थ्यविज्ञहरु प्रत्यक्ष सहभागी हुन नसकेको बताए ।
सम्मेलनको उद्घाटन संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले गर्नेछन्। सम्मेलनलाई एनआरएनए अध्यक्ष कुमार पन्त, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यारोनेस क्यानेडी, यूके नर्सिङ सोसाइटीकी ट्रेसी बडिङ, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. सुनिल शाह, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलन शुक्रबार शुरु भएर आईतबार लन्डन घोषणापत्र जारी गर्दै समापन हुनेछ। बेलायतमा आयोजना गरिएको स्वास्थ्य सम्मेलनको समापनमा एनआरएनए यूकेले आइतबार अल्डरसटमा एक च्यारिटी डिनर कार्यक्रमको आयोजना गरेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए।