युएईमा गएको वर्ष ८४ नेपालीको मृत्यु , आत्महत्या गर्ने क्रम बढ्दो


 

पछिल्लो समय युएईमा नेपालीहरूले आत्महत्या गर्ने क्रम बढेको तथ्यांक सार्वजनिक भएको छ ।

सन २०१३ देखि २०१७ सम्म विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुका मृत्युका कारणहरुबारे विस्तृत अध्यन गर्दै नेपाली दूतावासले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार सन २०१७ मा मात्रै युएईमा २६ जना नेपालीले आत्महत्या गरेका छन्। जुन अघिल्लो वर्ष सन २०१६ भन्दा दोब्बरले बढी छ । अघिल्लो वर्ष युएईमा १२ जना नेपालीले आत्महत्या गरेका थिए ।

दूतावासको तथ्यांकमा सन २०१३ मा ९ जना नेपालीले आत्महत्या गरेको उल्लेख छ । त्यसैगरी २०१४ मा १२ जना र २०१५ मा ९जना  नेपालीले आत्महत्या गरेको तथ्यांक छ ।

पछिल्लो सरकारी तथ्यांकअनुसार युएईमा २ लाख ४ हजार १ सय ६ जना नेपाली रहेका छन् । ति मध्ये अधिकांस मजदुर , निर्माण , सेवा , होटल र सुरक्षा क्षेत्रमा कार्यरत छन् । एक्लोपना , पारिवारिक तनाव , कामको चाप , दवाव आदि कारणले आत्महत्या गर्ने क्रम बढेको बताईन्छ ।

सन २०१७ मा मात्रै ८४ जनाको मृत्यु

नेपाली दूतावास युएईको तथ्यांकअनुसार सन २०१७ मा मात्रै युएईमा ८४ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरु मध्ये प्राकृतिक रूपमा मृत्यु भएकाहरुको संख्या ३६ रहेको छ । त्यसैगरी आत्महत्या गर्ने २६ जना र दुर्घटनामा परि मृत्यु हुने २२ जना रहेका छन् ।

प्राकृतिक रूपमा मृत्यु हुनेहरुमा हृदयघातबाट २४ जना , विभिन्न रोगका कारण ९ जना , मादकपदार्थ सेवनबाट १ र अन्य कारणबाट २ जना रहेका छन् ।

त्यसैगरी विभिन्न दुर्घटना मृत्यु हुनेहरुमा सडक दुर्घटनामा मृत्यु हुने ९ जना , आगलागी र डुबानमा २ जना , कार्यस्थलमा भएको दुर्घटनामा २ जना र अन्य दुर्घटनामा मृत्यु हुने ७ जना रहेका छन् । साथै २ जनाको हत्या भएको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष मृत्यु भएका ८४ मध्ये ८ महिला र ७६ पुरुष रहेको तथ्यांकमा उल्लेख छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.