ग्लोबल नेपाली
वीरगन्जका अयुब अली नाइजेरियाको र्याडिसन ब्लु होटलमा डेपुटी जनरल म्यानेजर पदमा कार्यरत छन्। चाँडै जनरल म्यानेजर पदमा पदोन्नति हुने भएको छ।
उनले सन् १९९७ मा काठमाडौंको दरबार मार्गस्थित होटल अन्नपूर्णबाट काम सुरू गरेका थिए। त्यसयता लगातार होटलमै काम गरिरहेका छन्।
उनले भारतको कोलकातामा होटल म्यानेजमेन्ट विषय पढेका हुन्। पढाइ पूरा भएपछि होटल अन्नपूर्णमा क्याटरिङ असिस्टेन्ट भएर काम सुरू गरे। काम गर्दै गर्दै भारतको ताज होटल रिसोर्ट एन्ड प्यालेसमा होटल व्यवस्थापन तालिम लिने अवसर पाए।
तालिममा होटल अन्नपूर्णले नै पठाएको थियो। तालिम पूरा भएपछि पनि त्यहीँ काम गरे। करिब तीन वर्ष काम गरेपछि खाडी मुलुक जाने अवसर पाए।
उनले कतारमा र युएईको दुबईमा गरी सात वर्ष काम गरे। त्यसपछि फेरि नेपाल आएर वीरगन्जको सम्झना होटलमा साढे दुई वर्ष काम गरे। त्यहीँबाट उनी सन् २०१० मा अफ्रिकी मुलुक युगान्डा पुगे।
युगान्डाबाट जाम्बिया र केन्या हुँदै अहिले नाइजेरियामा छन्।
'म युगान्डाको सिटी ब्लु होटलमा फुड एन्ड बेभरेज म्यानेजर भएर गएको थिएँ। त्यो बुटिक होटल थियो। त्यहाँ सन् २०१३ सम्म काम गरेर जाम्बिया गएँ। त्यहाँबाट केन्या हुँदै अहिले नाइजेरिया आइपुगेँ,' अयुबले भने।
अयुबले सुरूदेखि नै होटलमा जाने भने सोचेका थिएनन्।

२०४६ सालमा एसएलसी उत्तीर्ण गरेका उनी चार्टर्ड अकाउन्टेन्ट बन्न चाहन्थे। त्यसै अनुसार चितवनको एउटा कलेजमा व्यवस्थापन विषयमा भर्ना भए।
अन्तिम परीक्षा दिएर बसेको फुर्सदको समयमा खाद्य प्राविधिक हिक्मत थापाले कोलकातामा होटल म्यानेजमेन्ट पढाइका लागि आवेदन मागेको जानकारी गराए। एउटै घरमा डेरा बसेका हुनाले हिक्मतसँग राम्रो चिनजान थियो। अयुबले आवेदन गरे। जम्मा ६ जनाका लागि अवसर थियो। आवेदन परेको थियो चार सय जनाको।
अयुबले अवसर पाए।
हिक्मत केही वर्षदेखि नाइजेरियामा छन्। उनी पश्चिम अफ्रिकामा ठूलो मानिने व्यापारिक घराना 'डांगोटे समूह' मा प्रबन्ध निर्देशक पदमा कार्यरत छन्। आखिर अयुब पनि नाइजेरिया नै पुगे।
अयुबका अनुसार उनी कार्यरत र्याडिसन ब्लु होटलमा आगन्तुकहरूका लागि १५५ वटा कोठा छन्। होटल सञ्चालक समूहले अर्को ठूलो होटल सञ्चालनको तयारी गरेको छ। अहिलेका जनरल म्यानेजर नयाँ होटलमा जाने भएका छन्।
२७ वर्ष होटल क्षेत्रमा काम गरेका उनी उच्चस्तरका होटल व्यवस्थापनमा अनुभवले खारिएका छन्। त्यही अनुभवले उनलाई दक्ष व्यवस्थापक बनाएको छ।
'होटलको व्यवस्थापक हुन पढाइ र ज्ञान दुवै चाहिन्छ। कोलकातामा होटल म्यानेजमेन्ट नपढेको भए म अर्कै पेसामा हुन्थेँ होला,' अयुबले भने।
उनका अनुसार हामी नेपालीले 'अतिथि देवो भवः' भने झैं अफ्रिकीहरू 'गेस्ट इज अल्वेज किङ' भन्ने मान्यता राख्छन्। पाहुनालई सबै किसिमले खुसी पार्नु होटलको पहिलो काम हो। न्यूनतम मूल्यमा आरामदायी सेवा दिन सक्नुपर्छ।

होटल व्यवस्थापकले आर्थिक गतिविधिमा निकै ध्यान पुर्याउनुपर्छ। व्यवस्थापकमा होटल फाइनान्सको राम्रो जानकारी हुनुपर्छ।
होटल बनाएर मात्र हुँदैन। त्यसको सौन्दर्य सधैं एकनासले जोगाइराख्नु निकै चुनौतीपूर्ण हुने उनको भनाइ छ। नियमित सरसफाइसँगै रंगरोगन, एसी, प्लम्बिङ, बिजुली लगायत सबै पक्ष हरेक मिनेट ठिकठाक हुनुपर्छ।
अयुब अब नेपालमै काम गर्न चाहन्छन्। उनलाई भारतका र नेपालका केही होटलले प्रस्ताव पनि गरेका थिए। केही होटलमा उनी आफैले पनि प्रयास गरे तर पारिश्रमिकमा कुरा मिलेन।
'म नाइजेरियामा कर कट्टा गरेर मासिक ६ हजार अमेरिकी डलर (हालको सटही मूल्यमा ८ लाख ४० हजार रूपैयाँ) पारिश्रमिक पाउँछु,' अयुबले भने, 'त्यसैले अब करिब पाँच वर्ष नाइजेरियामै काम गरेर केही पैसा जम्मा गर्छु। त्यसपछि नेपालमै व्यवसाय गर्ने योजना छ।'