एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको घरमा आगजानी र लुटपाट गर्नेलाई कारबाही गर्न माग गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले महतोलाई भेटेपछि यस्तो माग गरेको हो।
भदौ २४ गते भएको प्रदर्शनका क्रममा एनआरएनएका संस्थपाक अध्यक्ष महतोको भाटभटेनीमा रहेको घरमा तोडफोड लुटपाट र आगजानी भएको थियो।
महतोलाई भेट्न एनआरएनए अध्यक्ष श्रेष्ठ, पूर्वअध्यक्ष शेष घले सहित अन्य अभियन्ताहरू भाटभटेनीस्थित महतो निवास पुगेका थिए।
भेटमा महतोले नेपालमा केही गर्नलाई लगानी ल्याएको तर आफैमाथि आक्रमण भएको बताएका थिए।
'मैले नेपालमा लगानी ल्याउनुपर्छ भनेर अभियान सुरू गरेँ तर हाम्रै परिवारमाथि आक्रमण भयो। हामी घर छोडेर भाग्नुपर्यो भनेर उपेन्द्र दाइले भन्नुभयो, 'श्रेष्ठले भने, 'घरबार विहीनका दुःख देखेको थिएँ। तर आज आफैले भोग्नुपर्यो भनेर दाइले भन्नुभयो।'
गैरआवासीय नेपालीहरू एक आपसमा मिल्न नसक्दा समेत आफूहरू कमजोर भएको महतोले बताएका थिए।
आफ्ना संस्थापक अध्यक्षको घरमा भएको आक्रमणलाई गैरआवासीय नेपाली माथिको आक्रमणका रूपमा लिएको श्रेष्ठले बताए।
'आन्दोलनमा घुसपैठ गर्नेहरूले घरमा लुटपाट र आगजनी गरेका हुन्। उनीहरूलाई कारबाही गर्नुपर्छ। यदि कारबाही गरिएन भने दण्डहीनता मौलाउँछ,' श्रेष्ठले भने, 'हाम्रो लगानी सुरक्षित गर्न र अरू थप लगानी ल्याउनका लागि पनि कारबाही जरूरी छ। देशमा विधिको शासन स्थापना हुन पर्छ भन्ने हाम्रो माग हो।'
उनले एनआरएनए एकताका लागि आफूहरूले पहल गर्ने समेत बताए।
भेटमा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले अहिलेको परिस्थितिमा आफूहरू सहयोगका लागि तयार रहेको बताएका थिए।
यो पनि:
'विदेशको लगानी नेपालमा ल्याएँ तर छोराछोरी सहित घरबाट भाग्नुपर्यो'