युनाइटेड नेपाली डायस्परा अर्गनाइजेसन (युएनडिओ) का महासचिव कुशल केसीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
गैरआवासीय नेपालीमा विभाजन आउन नहुने भन्दै उनले पदबाट राजीनामा दिएका हुन्।
गैरआवासीय नेपालीसँग सम्बन्धित रहेर खुलेका सबैखाले संगठनहरू एक भएर अन्तरिम कमिटी बनाएर जानुपर्ने उनको माग छ।
परिवर्तित अवस्थामा गैरआवासीय नेपाली (एनआरएन) मा पनि एकताका लागि दबाब पुगोस् भनेर आफूले राजीनामा दिएको केसीले बताए।
'जसरी जेनजी आन्दोलनले नेपालको राजनीतिक कोर्ष बदल्यो। हामीले पनि यसलाई आत्मसाथ गर्न जरूरी छ। पुरानै पाराले हामी चल्न हुँदैन,' उनले भने, 'विदेश बस्ने नेपालीलाई एनआरएनए भन्नसाथ गाली गर्छन्। हामीले यो अवस्थालाई परिवर्तन गर्न जरूरी छ।'
अदालतको आदेश र परमादेश भन्दा माथि उठेर नयाँ पुस्तालाई समेट्ने गरी अघि बढ्नुपर्ने भन्दै उनले यस्तो गर्न नसकेमा सबै संगठनको औचित्य सकिने बताए।
राजनीतिक दलको भ्रातृ संगठन नबनिकन स्वतन्त्र ढंगले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने उनको भनाइ छ।
गत पुस १४ गते भएको अधिवेशनबाट सोनाम लामाको नेतृत्वमा युएनडिओको नयाँ कार्यसमिति चयन भएको थियो।