गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद(एनसिसी) रूसको अध्यक्षमा सिताराम 'मिलन' कटेल चयन भएका छन्।
मस्कोमा सम्पन्न १२ औं साधारण सभाले एनआरएनए एनसिसी रूसको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
उपाध्यक्षमा अमित कुमार कर्ण, संज्ञान कार्की र डा. प्रनिल प्रधान गरी तीन जना छन्। महासचिवमा प्रविण खतिवडा चयन भएका छन्यु। युवा संयोजकमा गिभ्सन ढकालले निरन्तरता पाएका छन्।
सचिवमा खगेन्द्र धामी र दयानिधि गुरागाईं छन्। कोषाध्यक्षमा राम बाबु पाण्डे र सह–कोषाध्यक्षमा यम बहादुर थापा छन्। महिला संयोजकमा हेमा कुमारी 'कला' पोखरेल छन्।
कार्यसमिति सदस्यमा मुक्तिराम न्यौपाने, नारायण भुसाल, विनय रिजाल, सुजन रायमाझी र गौरव पौडेल छन्।
अध्यक्ष कटेलले आपतकालीन अवस्थामा सहयोग पुर्याउने स्वास्थ्य कोषको स्थापना, सम्पूर्ण रुसभर रहेका नेपालीहरूलाई एउटै अनलाइन सञ्जालमा समेट्ने प्रयास, अध्यागमन तथा कानुनी समस्याको समाधानका लागि हेल्पलाइन सेवा, रूसी साझेदारहरूसँग व्यापारिक सम्बन्ध विस्तार, नेपाली भाषा, संस्कृति, पर्यटन तथा उत्पादन प्रवर्द्धनमा सम्मेलन र प्रदर्शनीमार्फत पहल गर्ने योजना अघि सारेका छन्।
त्यसैगरी, विभिन्न सहरमा नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट, नेपाली दूतावाससँग समन्वय गरेर नेपाल–रूस सम्बन्ध थप मजबुत बनाउने प्रयास गर्ने उनले बताए।
त्यस्तै मानव तस्करी न्यूनीकरणका लागि सूचना केन्द्र स्थापना, विद्यार्थीहरूको छात्रवृत्तिमा पहुँच र सहभागिता अभिवृद्धि, श्रम स्वीकृति तथा सामाजिक सुरक्षा प्रणालीको जानकारी, विशेष सैन्य अपरेशनमा संलग्न नेपालीहरूको पुनःस्थापनाका लागि पहल, नव उद्यमीहरूको सहभागिता विस्तार र महिला नेतृत्वको सुनिश्चितता उनको प्रतिबद्धता छ।