गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनका लागि ७२ हजार सदस्य बनिसकेको एनआरएनएले जनाएको छ।
एनआरएनएले 'मेम्बरसिप इन्फरमेसन सिस्टम'मार्फत सदस्यता वितरण गरिरहेको छ। जसमा पाँच हजार स्वीकृत हुन बाँकी रहेको उल्लेख गरिएको छ।
'जापानबाट मात्रै १८ हजार भन्दा बढी सदस्य छन्। अष्ट्रेलियाबाट साढे १५ हजार सदस्य बनेका छन्। विभिन्न देशमा अझै सदस्यता जारी छ र यो संख्या अझ बढ्दै छ। यो वास्तवमा हामीप्रतिको विश्वास पनि हो,' एनआरएनए अध्यक्ष बद्री केसीले भने।
अहिले राष्ट्रिय समन्वय परिषद् (एनसिसी) हरूमा राष्ट्रिय महाधिवेशन भइरहेको उनले बताए।
हालसम्म १५ एनसिसीको अधिवेशन सकिएको र अन्य देशमा अधिवेशन भइरहेको उनले बताए।
१२औं महाधिवेशनका लागि निर्वाचन समिति, निर्वाचन अनुगमन समिति तथा न्यायिक समिति पनि गठन भइसकेको एनआरएनएले जनाएको छ।
अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको उल्लेख छ।
यस्तै, संघको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ।
बैठकले भिम उदास, भक्त गुरुङ, डा. देवी बस्नेत, ओम गुरुङ, डिल्ली ढकाल, यास्मीन बेगम र पुरुषोत्तम बोहोरा सदस्य रहेको न्यायिक समिति पनि गठन गरेको छ।