गैरआवासीय नेपाली संघ थाइल्याण्डको अधिवेशन जुलाई २७ मा हुने भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) को आज बसेको बैठकले डा.उमेद कुमार पुन सेरपुन्जको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत बनाएको छ।
समितिमा आशा पुन, भारती लिम्बुनी, जमिला कायस्त र बेनी माधव लेखक सदस्य रहेको एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले बताए।
एनआरएनए थाइल्याण्डको आह्वानमा भएको बैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, श्रमिक, व्यापारी, बुद्धिजीवीहरूको उपस्थिति थियो।
आगामी २०२५ देखि २०२७ सम्मको कार्यकालका लागि हुने अधिवेशनमा थाइल्याण्डमा रहेका धेरै भन्दा धेरै गैरआवासीय नेपालीलाई समेट्न प्रयास गर्ने एनआरएनए थाइल्याण्डका अध्यक्ष बस्नेतले बताए।
'हामीले अधिवेशनलाई भव्य तरिकाले सम्पन्न गर्नुपर्छ। सबैको सहभागिताले मात्र संस्था बलियो हुन्छ,' बस्नेतले भने, 'थाइल्याण्डमा रहेका नेपालीको समस्या समाधान गर्ने विषयमा हामी एक ठाउँमा हुनुपर्छ। एक भएर मात्र हामीले काम गर्न सक्छौं।'
बस्नेतले २०२१ देखि अहिलेसम्म २ कार्यकाल एनआरएनए थाइल्याण्डको नेतृत्व गरेका छन्।