इसराइल र इरानबीच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इसराइलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चासो देखाएको छ।
बुधबार साँझ भर्चुअल माध्यमबाट आयोजित अन्तरक्रियामा एनआरएनएले इसराइलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितलगायत सम्बन्धित पक्षसँग छलफल गर्दै पछिल्लो अवस्थाबारे जानकारी लिएको हो।
कार्यक्रममा एनआरएनए इसराइलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इसराइलको अवस्था अति संवेदनशील भएको उल्लेख गर्दै भने, ‘अहिलेको अवस्था विगतका युद्धहरूको तुलनामा झन् संवेदनशील छ, तर सरकारले निर्धारण गरेको सुरक्षा मापदण्ड पालन गर्दा असुरक्षा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ।’ उनले सामाजिक सञ्जालमा नकारात्मक गतिविधि तथा सामग्री नगर्न समेत आग्रह गरे।
त्यसैगरी, एनआरएनए इसराइलका महासचिव अलि मोहम्मद मियाँले पनि इसराइली सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिए। उनका अनुसार हाल गाडी, पसल लगायतका सेवा सञ्चालनमै छन्, तर युद्धको अनिश्चितताबीच सतर्कता अत्यावश्यक रहेको बताए।
इसराइलस्थित नेपाली राजदूत पण्डितले नेपालीलाई सेल्टरमा बस्न र सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्न सुझाव दिँदै भने, ‘अहिलेसम्म कसैले तत्काल उद्धारको लागि औपचारिक अनुरोध गरेका छैनन्। तर, विराटनगरका मेयर र एक नेपाली चिकित्सकको लागि आवश्यक प्रक्रियागत काम सुरू गरिएको छ।’
साथै केही अन्डकुमेन्टेड नेपालीले फर्कन चाहेको जानकारी पनि आएको उनले बताए।
राजदूत पण्डितका अनुसार नेपाल फर्किन चाहने नेपालीहरूका लागि परराष्ट्र मन्त्रालयले खुला गरेको फारम भराउन दूतावासले आग्रह गरिरहेको छ, ताकि उद्धार प्रक्रिया सहज बनोस्।
अन्तरक्रियामा सहभागी इसराइलस्थित विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले अहिले नै नेपाल फर्किने सोच नरहेको जनाएका थिए। कार्यक्रमका क्रममा एनआरएनएका केन्द्रीय महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्तलगायत पदाधिकारीहरूले सुरक्षित रहन आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतका अनुसार इसराइलस्थित नेपालीहरूको जानकारी र सहायताका लागि बिहीबारदेखि संघको सचिवालयमार्फत हटलाइन सेवा सञ्चालनको तयारी भइरहेको छ।