नेपाल-बेलायत संसदीय मैत्री समूहले बेलायतमा रहेका नेपाली विद्यार्थी र भूपू गोर्खाबारे सरोकारवालहरूसँग छलफल गर्ने भएको छ।
नेपाल-बेलायत संसदीय मैत्री समूहको सिंहदरबारमा बसेको पहिलो बैठकले बेलायतसँग जोडिएका विषयहरूलाई ब्रिटिस दूतावासमार्फत् संवाद बढाउने समेत निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालय र विभिन्न सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने र सुझावहरू संकलन गरी ब्रिटिस दूतावासमार्फत् संवाद बढाइ संसदीय कूटनीतिलाई प्रभावकारी बनाउने निर्णय भएको सांसद माधव सापकोटाले बताए।
'बेलायतमा रहेका नेपाली विद्यार्थीले भोगेका समस्याबारे अध्ययन गरी त्यसको समाधानमा पहल गर्ने भनेका छौं। त्यस्तै भूपू गोर्खाको समस्या पनि छ। यसबारे भूपू गोर्खा र गैरआवासीय नेपाली संघसँग पनि छलफल गर्ने निर्णय भएको छ,' उनले भने,'वेस्ट मिन्स्टरको जननी बेलायतसँग हामीले सिक्नुपर्ने कुरा पनि धेरै छन्। त्यसैले दुई देशका सांसदहरूका बीचमा समेत प्रभावकारी सम्बन्ध अगाडि बढाउनेबारे छलफल भयो।'