काठमाडौंको वीर अस्पतालका मेडिकल अधिकृत सञ्जय धरेल अस्पतालमा रहेको 'टेलिमेडिसिन सेन्टर' बाट विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीहरूलाई स्वास्थ्य परामर्श दिन्छन्।
यो टेलिमेडिसिन सेन्टर वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालको सहकार्यमा स्थापना भएको हो। यहाँ सञ्जयसहित चार जना कार्यरत छन्।
उनी मेडिकल अधिकृत हुन्। सामान्य किसिमका समस्यामा आफै आवश्यक परामर्श दिन्छन्। आवश्यकता अनुसार बिरामी र विशेषज्ञ चिकित्सकबीच कुरा गराउँछन्।
टेलिमेडिसिन सेन्टर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहन्छ। विदेशमा रहेका श्रमिक र विद्यार्थीले जुनसुकै बेला आफ्नो समस्या ह्वाट्सएप, भाइबर र इमेल मार्फत जानकारी गराउन पाउँछन्।
स्वास्थ्य समस्या जानकारी दिन–लिन ९८५१३४५७०१ र ९८५१३४५७०३ फोन नम्बर प्रयोगमा छन्।
'टेलिमेडिसिन सेन्टर स्थापनाको मुख्य उद्देश्य विदेशमा रहेका श्रमिक दाजुभाइ, दिदीबहिनीलाई स्वास्थ्य परामर्श दिनु हो। उहाँहरूको स्वास्थ्य संवेदनशीलता ध्यानमा राखेर सञ्चालनमा आएको हो,' सञ्जयले भने, 'नेपाल सरकारले सुरू गरेको निःशुल्क परामर्श कार्यक्रम हो। फोन गरेर, भिडिओ, अडिओ वा म्यासेज पठाएर आफ्नो समस्या बताउन सकिन्छ।'
यो टेलिमेडिसिन सेन्टर विदेशमा रहेका व्यक्तिका लागि मात्र हो। विश्वका जुनसुकै देशमा रहेका श्रमिक र विद्यार्थीले स्वास्थ्य परामर्श लिन पाउँछन्।
धेरै परामर्श लिनेमा कतार, युएई, साउदी अरब, मलेसिया, ओमान, दक्षिण कोरिया लगायत देशमा रहेका नेपालीहरू छन्।
मेडिकल अधिकृत सञ्जयका अनुसार यस्ता नेपालीहरूको स्वास्थ्य समस्या कामको प्रकृति अनुसार हुने गरेको छ।
खुट्टा झमझमाउँछ र दुख्छ भन्नेमध्ये धेरैजसो सुरक्षा गार्ड हुन्छन्। छालाको समस्या छ भन्नेमध्ये धेरैजसो किचनमा काम गर्ने हुन्छन्।
टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नेमध्ये अधिकांशले पेटको समस्या बताउने गरेका छन्। कामको व्यस्तता र लापरबाही लगायतका कारण पेटको समस्या हुने गरेको पाइएको छ। मानसिक समस्या परेकाहरूले पनि सम्पर्क गर्ने गरेका छन्।
'धेरैलाई पेटको समस्या भएको पाइएको छ। कतिपयमा मानसिक समस्या पनि देखिएको छ,' उनले भने।
टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्ने तर आफ्नो स्वास्थ्य समस्या प्रस्ट बताउन हिच्किचाउने गरेको पनि उनको भनाइ छ।
'काम गर्ने कम्पनीमा स्वास्थ्य समस्या जानकारी भयो भने जागिरबाट निकालिदिने हो कि, सोझै घर पठाइदिने हो कि भन्ने त्रास हुँदो रहेछ,' उनले भने, 'यस्तो त्रासका कारण रोग लुकाएर बस्ने प्रवृत्ति पनि पाइयो। जागिर, आम्दानी, घरपरिवार सबै ठिकै देखिए पनि कसैकसैमा मानसिक समस्या रहेको पाइयो।'
टेलिमेडिसिन सेन्टरबाट दैनिक १५ देखि २० जनासम्मले स्वास्थ्य परामर्श लिने गरेका छन्। स्थापनाको दुई वर्षमा विभिन्न ३५ वटा देशबाट झन्डै ८ हजार पटक टेलिमेडिसिन सेन्टरमा सम्पर्क भएको छ।
यसरी समस्या राख्नेमा अधिकांश पुरूष छन्। केही महिला पनि छन्।
'मैले कुनै किसिमको अप्ठ्यारो नमानी आफ्नो समस्या बताउन प्रेरित गर्ने गरेको छु,' सञ्जयले भने, 'यो कार्यक्रम तपाईंहरूकै लागि हो। जस्तो स्वास्थ्य समस्या भए पनि सम्पर्क गर्नुहोला भन्छु।'
टेलिमेडिसिन सेन्टरबाट चिकित्कसहरूले बिरामीलाई 'प्रेस्क्रिप्सन' पठाइदिन्छन्। कतिपयलाई नेपालमा रहेका आफन्तले औषधि पठाइदिन्छन्।
स्वास्थ्य संवेदनशीलताका आधारमा कतिपयलाई तत्कालै नेपाल बोलाएर उपचार गराउन समेत सुझाब दिने गरिएको छ।
सञ्जयका अनुसार स्थापनाको दुई वर्षमा टेलिमेडिसिन सेन्टर निकै उपयोगी देखिएको छ।