ग्लोबल नेपाली
लक्जम्बर्गमा दोस्रो पुस्ताका नेपाली
युरोपकै सबभन्दा सम्पन्न देशमध्येको एउटा देश हो, लक्जम्बर्ग। यो फ्रान्स, जर्मनी र बेल्जियमको बीचमा रहेको सानो, सुन्दर तथा सम्मुनत मुलुक हो।
विश्वका १ सय ८० मुलुकका नागरिकहरूको बसोबास रहेको लक्जम्बर्गमा अहिले करिब साढे ६ सयको हाराहारीमा नेपालीहरूको बसोबास छ। लक्जम्बर्गमा आइपुगेका पहिलो पुस्ताका नेपालीहरूमध्ये अधिकांश आफ्नो व्यापार व्यवसायमा जमेका छन्।
कतिपयले यहाँको सरकारी तथा अन्य निजी कम्पनीमा काम गरिरहेका छन् भने कतिपय सेवानिवृत्त समेत भइसकेका छन्। लक्जम्बर्गमा दोस्रो पुस्ताका नेपालीहरू के गरिरहेका छन् त? धेरैलाई जिज्ञासा लाग्न सक्छ।
आजको यो लेखमा मैले बाल्यकालमै नेपालबाट परिवारसँगै लक्जम्बर्ग आएका र यहीँ जन्मिएका दोस्रो पुस्ताका नेपालीहरूमध्ये केही प्रतिनिधिमूलक व्यक्तिहरूले गरिरहेको संघर्ष र सफलताको प्रसंग उल्लेख गर्ने जमर्को गरेको छु।
जो यहाँको सरकारी मन्त्रालयमा सल्लाहकारदेखि बहुचर्चित अन्तर्राष्ट्रिय कम्पनीको महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसिरहेका छन्।
डाक्टर र इन्जिनियर दाजुभाइ
सन् १९९७ मा युरोपेली मुलुक लक्जम्बर्ग आउँदै गर्दा गुल्मी वामीटक्सारका बालकृष्ण सापकोटाका ५ र ३ वर्षका छोराहरू सन्देश/सतिष सापकोटा नवलपरासीमा बस्थे।
भारतमा काम गर्ने बालकृष्णलाई एक्कासि लक्जम्बर्गमा कामको अवसर आएपछि उनले मनभरि ठूलो सपना बोकेर लक्जम्बर्गको उडान भरे। यहाँ आउँदा उनले दुःख गर्ने र नाबालक छोराछोरीको सुन्दर भविष्य बनाउने सपना पनि सँगै बोकेर ल्याएका थिए। उनको संघर्ष र मेहनतले यो सपना ३ वर्षमै पूरा भयो। फलस्वरूप सन् २००० को मार्च महिनामा उनले छोराछोरी र श्रीमतीलाई नेपालबाट लक्जम्बर्ग ल्याउन सफल भए। पाँच र तीन वर्षको उमेर हुँदा नेपालबाट आएका बालकृष्णका छोराहरू सन्देश र सतिष अहिले क्रमश: इन्जिनियर र डाक्टरको रूपमा कार्यरत छन्।
जेठी छोरी इशानी सापकोटा लक्जम्बर्गमै नर्सिङ पेसामा आबद्ध छिन्। उनका जेठा छोरा सन्देश सापकोटा लक्जम्बर्गकै आइफेज नामक कम्पनीमा वरिष्ठ कन्स्ट्रक्सन इन्जिनियरका रूपमा कार्यरत छन्। उनको यो कम्पनीले लक्जम्बर्ग लगायत युरोपेली मुलुकमा ठूला तथा आवासीय भवनहरू निर्माणको काम गर्दै आइरहेको छ। जुन लक्जम्बर्गकै नाम चलेको कन्स्ट्रक्सन कम्पनीमध्येको एक हो।
सन्देश सापकोटा (बायाँ) सतिष सापकोटा (बायाँ)
रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेका आफ्ना बुवाआमाले गरेको संघर्षलाई नजिकबाट नियालेका सन्देशको मनमा सानैदेखि कुनै विशेष सीपमूलक काम गर्नुपर्छ भन्ने भावनाले डेरा जमायो। अनि शिक्षक र साथीभाइको सहयोग लिएर भाषा सिक्दै पढाइलाई निरन्तरता दिन थाले। फलस्वरूप प्राविधिक शिक्षामार्फत् विद्यालय तहको पढाइ पूरा गरी क्याम्पस तहको अध्ययन सुरू गरे।
जर्मनीको कैसरस्लाउटर्न सहरमा रहेको राइनल्याण्ड फ्फैल्जिस टेक्निस्च युनिभर्सिटी कैसरस्लाउर्टन ल्यान्डाउबाट सिभिल इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर तहको अध्ययन पूरा गरेका सन्देश हाल वरिष्ठ सिभिल इन्जिनियर एवं कस्क्ट्रक्सन म्यानेजरको रूपमा कार्यरत छन्।
आफूहरूको सीप विज्ञताको प्रयोग गरेर जन्मभूमिका लागि जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको सन्देशले बताए।
बाल्यकालमा बुवाआमाले यहाँ आएर गरेको दुःखलाई आफूहरूले नजिकबाट नियालेका बताउने सन्देश र सतिष सापकोटा दाजुभाइले सुरूका दिनमा यहाँको विद्यालयमा भर्ना भएसँगै पढाइमा विशेष ध्यान दिन थाले। कम्तीमा ४ वटा नयाँ भाषा सिक्नुपर्ने र त्यसैमा विद्यालयको पाठ्यपुस्तक र पढाइ पूरा गर्न पक्कै सहज थिएन। तर पनि उनीहरूले मेहेनत जारी राखे। फलस्वरूप दुबैले विद्यालय शिक्षामा आफूलाई अब्बल सावित गर्दै क्याम्पस अध्ययनको ढोका उघार्न सफल भए। यहाँसम्म आइपुग्दा उनीहरूले ६ वटा भाषाहरू (फ्रेञ्च, जर्मनी, लक्जम्बर्गिस्, अंग्रेजी, नेपाली र हिन्दी) राम्ररी सिकिसकेका थिए।
भाइ सतिष सापकोटा लक्जम्बर्गसँग सिमाना जोडिएको जर्मनीको कार्लस्रुहे सहरस्थित फ्रेइबर्ग विश्वविद्यालयद्वारा सञ्चालित कार्लस्रुहे नगर शिक्षण अस्पतालबाट एमडी अध्ययन गरिरहेका छन् भने सोही अस्पतालमा आवासीय चिकित्सक (रेडियोलोजिस्ट चिकित्सक) को रूपमा कार्यरत पनि छन्। यो शिक्षण अस्पताल जर्मनीको राइन क्षेत्रको सबभन्दा ठूलो शिक्षण अस्पतालको रूपमा रहेको छ।
नेपालमा जन्मेर आज विश्वको विकसित मुलुकमा आएर मानव सेवाको क्षेत्रमा लाग्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए। भोलिका दिनमा आफूले जानेको ज्ञान र सीप नेपालमा लैजाने रहर भएको उनको भनाइ छ।
विश्वचर्चित विग ४ कम्पनीकी ट्याक्स एड्भाइजर रविना

सन् १९९५ मा गुल्मीमा जन्मेकी रविना बस्नेत बुटवलस्थित समिट स्कुलमा कक्षा ६ मा पढ्दै गर्दा लक्जम्बर्ग आइन्। बुवा सुमन बस्नेतले सबै कागजी प्रकृया पूरा गरेर रविना सहित २००७ मा अन्य चार जना छोराछोरीलाई यहाँ बोलाएका थिए। सुरूमा लक्जम्बर्ग आउँदा भाषा पढ्ने विद्यालयमा बिताएका दिनहरूलाई सम्झँदै रविना भन्छिन्– 'बुवाको दुःखलाई राम्ररी बुझेर अघि बढ्न मैले सुरूदेखि नै पढाइमा ध्यान दिन थाले। सुरूमा भाषा सिक्न केही कठिनाइ भयो। तर मैले हिम्मत हारिनँ।'
एकपटक भाषा सिक्न अप्ठ्यारो भएकै कारण आफूले सुरूमा चाहेको विषय पढ्न नपाएको रविनाको तितो अनुभव छ। पछि भाइसँगै एउटै कक्षामा बसेर विद्यालय शिक्षा पूरा गरेपछि रविनालाई बैंकर बन्ने इच्छा जाग्यो। अनि लक्जम्बर्गबाट करिब ४० मिनेटको रेलयात्रामा पुगिने बेल्जियमको आर्लोनमा रहेको हेनालुक्स क्याम्पसमा पढ्ने निधो गरिन्। साढे ३ वर्षसम्म उनले दैनिकसजो लक्जम्बर्गबाट बेल्जियम आउने जाने गर्दै सन् २०२० मा ‘एकाउन्जिङ्ग एण्ड म्यानेजमेन्ट’ मा स्नातक तहको अध्ययन पूरा गरिन्। त्यस लगत्तै उनले बिग फोर अर्न्तगतको ई वाई लक्जम्बर्ग नामक (आर्न्स्ट एण्ड योङ्ग) कम्पनीमा इन्टर्नसीपको रूपमा काम सुरू गरिन्। हाल उनी २ हजार जना कर्मचारी कार्यरत लक्जम्बर्गकै ४ ठूला मध्येको ई–वाई लक्जम्बर्ग (आर्न्स्ट एण्ड योङ्ग) नामक अर्न्तराष्ट्रिय फाइनान्सिङ कम्पनीमा वरिष्ठ ट्याक्स एड्भाइजरको रूपमा कार्यरत छिन्।
विश्वकै चर्चित कम्पनीमध्येको एक ‘ई–वाई’ मा काम गर्न पाएको र विगतमा आफ्ना बुवाआमाले देखेको सपना पूरा भएकोमा आफू र परिवार अत्यन्तै खुसी रहेको रविनाको अनुभव छ। मेहनत गरेर आफ्नो लक्ष्यमा अविचलित रूपमा अघि बढ्न सकियो भने हरेक सपना पूरा हुन्छ भन्नेमा आफू विश्वस्त रहेको रविना सुनाउँछिन्। कुराकानीको अन्त्यतिर अहिलेको पुस्तालाई के सन्देश दिनुहुन्छ? भन्ने प्रश्नमा रविना थप्छिन्–विशेष गरी विदेशमा भविष्य बनाउन चाहनेहरूले सम्बन्धित देशको भाषा र आफूले काम गर्ने क्षेत्रसँग सम्बन्धित सीप राम्ररी सिक्नुपर्दछ। एउटा लक्ष्य लिएर कडा मेहनत गर्दै त्यसलाई पूरा गर्ने दिशामा अघि बढियो भने जस्तोसुकै काम पनि पूरा गर्न सकिन्छ।'
वातावरण मन्त्रालयको सल्लाहकार डा. विश्वजित

सन् १९९१ को अक्टोबरमा लक्जम्बर्गमा जन्मिएका विश्वजित बहादुर थापा लक्जम्बर्गमा आउने दोस्रो नेपाली चन्द्रबहादुर थापाका छोरा हुन्। यस्तै लक्जम्बर्गमा जन्मेका दोस्रो नेपालीको रूपमा पनि उनी चिनिन्छन्। विश्वजितका दाई श्याम थापा नेपालमै जन्मिएको भए पनि उनी पनि यही कार्यरत छन्। उनै श्याम दाइका कारण विश्वजितलाई बाल्यकालको पढाइ तथा सिकाइमा धेरै सहजता भयो। आफूभन्दा केही वर्षअघि नेपालमा जन्मिएका दाइ श्यामको सहयोगले गणित, विज्ञान, अनि अंग्रेजी लगायतका भाषाहरूको प्रारम्भिक तहको पढाइमा आफूलाई निकै सहयोग पुगेको उनी सम्झन्छन्।
घरमा नेपाली भाषा बोलिने भए पनि विद्यालयमा लक्जम्बर्गिस् भाषा पढ्नै पर्ने सुरूआती बाध्यता थियो। अहिले ६ वटा भाषा बोल्ने थापाले माध्यमिक तहको पढाइपछि ‘क्लासिक एकेडेमिक’ क्षेत्रको पढाइलाई छनोट गरे। उनलाई सानैदेखि गणित विषयको पढाइ सजिलो लाग्दथ्यो। उनले विद्यालय तहको पढाइ सकिनै लाग्दा इन्जिनियरिङको क्षेत्र मन पर्न थालेकोले सोही क्षेत्र रोजेको स्मरण गर्छन्। फलस्वरूप युनिभर्सिटी अफ लक्जम्बर्गमा इन्जिनियरिङको पढाइ सुरू गरेका थापाले सिभिल इन्जिनियरिङमा स्नातक पास गरेपछि सोही विश्वविद्यालयबाट स्नातकोत्तर तहको पनि पढाइ पूरा गरे।
स्नातकोत्तर तहको पढाइ सुरू भएको पहिलो वर्षमा पहिलो ब्याजको विद्यार्थीको रूपमा उनले सिभिल इन्जिनियरिङमा स्नातक तहको पढाइ सके। त्यो पनि पहिलो ब्याचका १३ जना विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थीको रूपमा।
स्नातकको अध्ययनमा उनले ‘मेघा स्ट्रक्चर एण्ड सस्टेनेबल डेभलपमेन्ट’ अर्थात् ठूला विल्डिङ तथा संरचना निर्माणको क्षेत्र उनको अध्ययनको विषय थियो। स्नातक तहको पढाइ सकिनै लाग्दा उनले आफूलाई पढाउने विश्वविद्यालयका प्राध्यापकको रिसर्च सहायकको रूपमा काम समेत सुरू गरिसकेका थिए। स्नातकोत्तर तहको पढाइ सकेपछि उनले ‘स्ट्रक्चरल इन्जिनियरिङ’ को क्षेत्रमा काम सुरू गरेका थिए।
यतिबेला उनले विश्वविद्यालयका सहायक प्राध्यापकको रूपमा विभिन्न विषयमा अनुसन्धानात्मक विवरणहरू तयार गर्ने, आर्टिकलहरू लेख्ने जस्ता विभिन्न खालको अनुभव बटुलिसकेका थिए।
उनले युनिभर्सिटी अफ लक्जम्बर्गबाटै ‘सिमेन्टको वैकल्पिक प्रयोग तथा वातावरण मैत्री सिमेन्ट उत्पादन’ को विषयमा विद्यावारिधिको अध्ययन गरेका छन्। कसरी कार्वनडाईअक्साईड कम गर्ने र वातावरण मैत्री सिमेन्ट उत्पादन गर्न सकिन्छ भन्ने विषय उनको विद्यावारिधि अध्ययनको मुख्य विषय थियो। यहाँसम्म आइपुग्दा राज्यले पढाइमा लाग्ने सबै खर्चको दायित्व व्यहोर्दै आएका कारण पनि उनलाई निकै सहज भयो।
'लक्जम्बर्ग भनेको एउटा यस्तो देश हो जहाँ प्रतिभा र क्षमता भएका व्यक्तिले कहिलै पनि राज्यको सहयोगबाट विमुख हुनु पर्दैन,' उनी भन्छन्, 'यो अर्थमा पनि भोलिका दिनमा यो गर्छु यो पढ्छु भन्ने सोच भएका प्रतिभाशाली र मेहनती विद्यार्थीहरूको लागि लक्जम्बर्ग भनेको सम्भावनायुक्त मुलुक हो।'
बुवाआमाको हौसलाको कारण नै आफूलाई पढ्न र अघि बढ्न थप प्रेरणा मिलेको बताउने विश्वजितले सन् २०२० को डिसेम्बरमा विद्यावारिधि सकेसँगै सन् २०२१ को जनवरीदेखि लक्जम्बर्गको वातावरण मन्त्रालयमा काम सुरू गरेका छन्।
हाल उनी यहाँको महत्वपूर्ण मन्त्रालय मध्येको एक वातावरण मन्त्रालयको प्राविधिक सल्लाहकारको रूपमा कार्यरत छन्। उनले विशेष गरी कन्स्ट्रक्सन साइटको ‘वेस्ट मेनेजमेन्ट’ को क्षेत्रमा इन्चार्जको रूपमा काम गरिरहेका छन्। यसले आफूले काम गरेको क्षेत्रको रिपोर्टिङ गर्दै मन्त्रालयलाई सल्लाह दिने भूमिकामा उनी छन्।
लक्जम्बर्गजस्तो विश्वकै समुन्नत मुलुकको वातावरण मन्त्रालयमा सल्लाहकारको रूपमा काम गर्ने पहिलो नेपाली भाषी भएकोमा उनी आफैलाई भाग्यमानी ठान्दछन्। आफू अहिलेसम्म एक पटकमात्रै नेपाल पुगेको भए पनि नेपालसँग आफू र परिवारको रगतको सम्बन्ध रहेकोले कहिल्यै भुल्न नसक्ने उनी बताउँछन्।
छिट्टै नेपाल गएर आफूले काम गरेको क्षेत्रको विज्ञता र अनुभवको आदानप्रदान गर्ने अनि आफ्नो टिमलाई भोलिका दिनमा नेपाल लैजान आफू उत्सुक रहेको उनले सुनाए।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सरकारको लागि टाउको दुखाइको विषय बनिरहेको सन्दर्भमा प्रश्न गर्दा डा. विश्वजितले सरकारले चाहने हो भने फोहोर तथा अन्य वेस्ट मेनेजमेन्टको काम त्यति कठिन नहुने बताए।
'केही वर्षअघिसम्म लक्जम्बर्गको वेस्ट मेनेजमेन्ट पनि काठमाडौं जस्तै थियो। यहाँको सरकारको पोलिसी, भिजन, बजेट विनियोजन, विज्ञता र दुरदर्शीताको कारण यो सबै केही वर्षमै सम्भव भयो,' उनले भने।
समाज कल्याण मन्त्रालय अर्न्तगत सामाजिक विभागमा जनसम्पर्क अधिकृत नवजोत

सन् १९९१ मा लक्जम्बर्गमा जन्मिएका नवजोत न्यूरे स्वर्गीय दुर्गाबहादुर न्यूरेका छोरा हुन्। उनी हाल लक्जम्बर्गमा रहेका १ सय वटा कम्युनमध्येको ‘बालफरडाङ्ग कम्युन’मा ‘वेलफेर अफिसरको’ रूपमा कार्यरत छन्।
दिल्लीको एक होटलमा काम गर्दैगर्दा आफ्ना बुवा यहाँ आएको बताउने नवजोतले विगतमा आफ्नो अभिभावकले यहाँ आएर गरेको दुःखलाई नजिकैबाट नियालेका थिए।
सुरूमा उनले यहाँको विद्यालयमा पढाइ गरे सँगै यहाँको लागि आवश्यक पर्ने आधारभूत भाषाहरू (फ्रेञ्च, जर्मनी, लक्जम्बर्गिस् र अंग्रेजी) पनि विस्तारै सिके।
सानैदेखि सामाजिक क्षेत्रमा काम गर्ने रूचि रहेको बताउने नवजोतले विद्यालय तहको पढाइ सकेर क्याम्पसमा जाने बेलामा सोही विधाको अध्ययनलाई निरन्तर दिए। फलस्वरूप उनले ‘सोसल साइन्स एण्ड एजुकेसन’ मा स्नातक तहको अध्ययन पूरा गरे। योसँगै उनले यहाँको सरकारी काममा जागिर पाए।
न्यूरे सन् २०१९ देखि लक्जम्बर्ग सिटीबाट उत्तरतर्फ रहेको बालफरडाङ्ग कम्युनमा सोसल वेलफेयर अफिसरको रूपमा काम गर्दै आइरहेका छन्। जुन यहाँको परिवार तथा समाजकल्याण मन्त्रालय अर्न्तगत सञ्चालित सामाजिक परामर्श तथा सहयोग कार्यालय हो।
सामान्यतया लक्जम्बर्गमा ६ हजारभन्दा बढी जनसंख्या भएको हरेक कम्युनले सामाजिक परामर्श तथा सहयोग सम्बन्धी छुट्टै कार्यालय (सोसल अफिस) सञ्चालन गरेर सेवाग्राहीहरूलाई सेवा दिन पाउने व्यवस्था छ। सोही व्यवस्था अनुसार करिब ९ हजार जनसंख्या रहेको वालफरडाङ्ग कम्युनमा विगत छ वर्षदेखि उनले आम नागरिकहरूलाई सरकारी अधिकारीको रूपमा सामाजिक क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेका छन्।
कार्यालयमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने आधारभूत विषयको जानकारीदेखि रोजगारी, आवासको समस्या, जागिर, यहाँको कानुनी व्यवस्था, कानुनी परामर्श लगायतका विविध विषयहरूको सेवा प्रवाह गर्ने उनको जिम्मेवारी हो।
उनले सेवा प्रदान गर्नेहरूमा यहाँका नागरिकदेखि विभिन्न देशबाट लक्जम्बर्ग आउने आप्रवासी, राजनीतिक तथा अन्य कारणले लक्जम्बर्गलाई आश्रय लिइरहेका शरणार्थी, कामदार, विद्यार्थी लगायत छन्।
आफूले पाएको ज्ञान, सीप, अनुभव र तालिमको आधारमा यो देशको एक सरकारी कर्मचारीको रूपमा सेवाग्राहीलाई सेवा दिन पाउँदा आफूलाई मनैदेखि सन्तोष मिल्ने उनको अनुभव छ।
न्यूरे हाल गैरआवासीय नेपाली संघ लक्जम्बर्गको सहकोषाध्यक्षको जिम्मेवारीमा समेत छन्।
यातायात मन्त्रालयको इन्जिनियर किम

१९८७ मा नेपालमा जन्मिएका किमबहादुर थापा ४ वर्षको हुँदा परिवारसँगै लक्जम्बर्ग आएका थिए। उनी हाल यहाँको यातायात व्यवस्था, भौतिक योजना सामाजिक निर्माण मन्त्रालय अर्न्तगतको प्रशासन शाखामा वरिष्ठ इन्जिनियरको रूपमा कार्यरत छन्।
विगतका दिनहरू सम्झँदै किम भन्छन्– 'सुरूका दिनमा यहाँ आएर संघर्ष गर्न त्यति सहज पक्कै थिएन। बुवा आफ्नै काममा व्यक्त हुनुहुन्थ्यो। हामी भाइबहिनी यहाँको भाषा सिक्दै विदेशी साथीभाइसँगै हेलमेल हुनुपर्ने अवस्था थियो। तर पनि हामीले मेहनतलाई जारी राख्यौ।'
सन् १९९१ मा किम लक्जम्बर्ग आउँदा उनका बुबा किसनबहादुर थापाले लक्जम्बर्गलाई कर्मथलो बनाएर काम गर्न थालेको केही वर्ष बितिसकेको थियो।
गणितमा रूचि रहेकोले सानैदेखि इन्जिनियर बन्ने सपना उनले देखेका थिए। विद्यालय तहको पढाइको अन्त्यतिरदेखि नै आफूले इन्जिनियरिङको अध्ययनलाई निरन्तरता दिने सोच उनले राखेका थिए।
फलस्वरूप उच्च शिक्षा अध्ययनका बेला किमले प्राविधिक विषयको पढाइ रोजे। सोही अनुरूप उनले उच्च शिक्षा अध्ययनको क्रममा २ वर्ष जर्मनीको कैसरस्लाउटन सहरमा रहेको कैसरस्लाउटन प्राविधिक विश्वविद्यालयबाट इन्जिनियरिङको पढाइ गरे। त्यसलगत्तै पुनः लक्जम्बर्ग फर्केर युनिभर्सिटी अफ लक्जम्बर्गबाट ब्याचलर इन सिभिल इन्जिनियरिङको अध्ययन पूरा गरे। परिवारको जेठो छोरा भएको र परिवारमा भाइबहिनीहरूसमेत भएकोले उनले परिवारप्रतिको दात्यिव समेत बोध गरे। अनि सन् २००८ तिरबाट किमले यहीको एउटा सिनेमा हलमा पार्टटाइम काम गरेर आफूलाई आवश्यक पर्ने खर्चको जोहो गर्न थाले। केही समयपछि उनले आफ्नो पढाइसँग सम्बन्धित निर्माण व्यवसायसँग सम्बन्धित कम्पनीमा सुरूआती चरणमा इन्जिनियरिङको काम गरे।
उनले विभिन्न सीपमुलुक तालिम तथा अन्य प्रयोगात्मक अध्ययनबाट उनले यो क्षेत्रमा प्रगति गर्दै गए। अनि समय अनुसार उनको पदोन्नति पनि हुँदै गयो। ६ वर्ष एउटै निजी कम्पनीमा काम गरेको अनुभव लिएर २०१८ देखि यहाँको यातायात व्यवस्था, भौतिक योजना सामाजिक निर्माण मन्त्रालय अर्न्तगतको प्रशासन शाखामा वरिष्ठ साइट इन्जिनियरको रूपमा कार्यरत छन्।
सानैदेखि पढाइमा तेज किम अहिले विश्वका विभिन्न मुलुकका इन्जिनियरको टिममा बसेर काम गर्दै आइरहेका छन्। नेपालमा जन्मिएको एक जना नेपालीले यहाँको सरकारी निकायको उच्च दर्जामा बसेर काम गर्न पाउँदा उनले आफूलाई भाग्यमानी ठानेका छन्। यसका पछाडि बुबाआमाले विगतमा गरेको दुःख, आफ्नो मेहनत, लक्जम्बर्ग सरकारले यहाँ रहेका नागरिकलाई प्रदान गर्ने समान अवसर तथा सबैबाट प्राप्त सहयोग र हौसला नै भएको उनको भनाइ छ।
उनकै नेतृत्वको टिमले लक्जम्बर्गको उत्तरी क्षेत्रमा क्षेत्रमा कृषि सम्बन्धी बृहत् पढाइ हुने माध्यमिक तहको बेनलुक्सकै (बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग) पहिलो माध्यमिक विद्यालय निर्माणको परियोजना पनि पूरा गरिसकेको छ। जहाँ हाल जर्मनी, फ्रान्स र बेल्जियम, नेदरल्याण्ड र लक्जम्बर्गका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्।
विगतमा आफूले देखेको सपना आज पूरा भएकोमा उनी खुसी छन्।
यी केही प्रतिनिधि व्यक्तिहरूको अलावा लक्जम्बर्गमा विद्यालय तहको अध्ययन पूरा गरी छिमेकी मुलुकमा विमान चालक (पाइटल), चिकित्सक, नर्स, इन्जिनियर तथा अन्य विषयको पढाइलाई निरन्तरता दिइरहेका दोस्रो पुस्ताका नेपालहरू पनि पछिल्ला वर्षहरूमा बढ्दैछन्।
यस्तै नेपाल लगायत विश्वका विभिन्न मुलुकमा पुगेका मध्येबाट दक्ष कामदारका रूपमा लक्जम्बर्ग आएर यहाँका चर्चित कम्पनीहरूमा चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, होटल तथा रेस्टुरेन्ट व्यवासयमा सेफको भूमिकामा रहेर काम गर्ने नेपालीहरूको संख्या पनि पछिल्ला दिनहरूमा बढ्दै गएको छ।
(विगत २ दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न लामिछाने लक्जम्बर्गमा बस्छन्।)