अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले कृष्ण खतिवडाको अध्यक्षतामा बागमति प्रदेश कमिटी गठन गरेको छ।
शनिबार काठमाडौंस्थित ठमेलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहको सभापतिमा भएको कार्यक्रमले बागमति प्रदेश कमिटीको कार्यसमिति निर्विरोध चयन गरेको हो।
फिनेका नेपाल संयोजक रामशरण थापा र आइसी सचिव दिपेन घलेको संयोजकत्वमा गठन भएको कार्यसमितिमा अध्यक्ष खतिवडासहित वरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ, सहकोषाध्यक्षमा देविश्री पन्त तथा कार्यसमिति सदस्यहरूमा स्वेता सुवेदी, प्रमोश अधिकारी, किशोर गर्तौला, राज हुमागाईं र सुदिप थापा चयन भएका छन्।
विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न गरेको उक्त प्रयासको मन्त्री भण्डारीले प्रशंसा गर्दै युवा उद्यमीहरूको यो प्रयासलाई सरकारकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
फिनेका अध्यक्ष शाहले विश्वका अन्य मुलुकसँगै नेपालका सातै प्रदेशमा फिनेको कार्यसमिति विस्तार गर्ने उद्देश्य अनुसार बागमति प्रदेश कमिटी गठन गरिएको बताए।
महासंघका नेपाल संयोजक रामशरण थापाले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए।
‘हाम्रो उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउनु हो,’ उनले भने, ‘विभिन्न देशमा रहेका युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र विश्वव्यापी नेपाली व्यवसायिक समुदायको दिगो विकासलाई अघि बढाउन यसले महत्वपूर्ण मञ्चको काम गरिरहेको छ।’
यस्तै, फिनेका उपाध्यक्ष तथा एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले स्थापनाको छोटो समयमै फिनेले ९ वटा देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको जानकारी दिए। यसको जापान, अमेरिका, बेलायत, मध्यपूर्व, मकाउ, हङकङ, चीन, अष्ट्रेलिया तथा अन्य विभिन्न उपक्षेत्रहरूमा शाखाहरू क्रियाशील छन्।
उनले युवा उद्यमीहरूलाई फिनेले सक्दो सहयोग र सहकार्य गर्ने बताए।