ग्लोबल नेपाली
धादिङका योगेन्द्र थापाले एक दशकभन्दा बढी समय खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरबमा बिताए। खाडीमा कमाएको रकम लगानी गरेर अहिले काठमाडौंमा बेकरी उद्योग चलाएका छन्।
उनले तारकेश्वर नगरपालिका–११, नेपालटारमा 'मिठो बेकरी' नामको उद्योग चलाएको पाँच वर्ष भयो।
उनी २०६६ सालको अन्तिमतिर रोजगारीका लागि युएई गएका थिए। त्यहाँ 'जनरल वर्कर' का रूपमा पेस्ट्री बेकरीमा काम गर्ने अवसर पाए। उनी बेकरी सम्बन्धी तालिम लिएर गएका थिए।
योगेन्द्रले २०५८ सालमा पोखराको लेकसाइडमा इन्टरनेसनल कुक तालिम पनि लिएका थिए। तालिमपछि नेपालमै होटल क्षेत्रमा काम गर्दा गर्दै युएई गए।
'कामको अनुभव बढ्दै जाँदा म हेड सेफ भएँ,' उनले भने, 'म धेरै पढेलेखेर होइन, परेर सेफ भएँ। आफ्नो अनुभव नेपालमै लगाऊँ भनेर आएको हुँ। आफ्नो सीप सदुपयोग गर्न बेकरी उद्योग खोलेको हुँ।'
त्यहाँको बेकरीमा उनले 'जनरल हेल्पर' को जिम्मा पाएका थिए। करिब साढे दुई वर्षपछि हेड सेफको जिम्मेवारी पाए। त्यस कम्पनीमा तीन वर्ष बित्न लाग्दै थियो अन्यत्रबाट अवसर आउन थाल्यो। उनी अर्को कम्पनीमा गए।
हेड सेफ भएर उनले युएईका चार वटा कम्पनीमा काम गरे।

युएईमा काम थाल्दा उनी मासिक ७७२ दिराम तलब पाउँथे। युएई छोड्ने बेला तलब १० हजार दिराम (हालको विनिमय दर अनुसार करिब तीन लाख ७८ हजार रूपैयाँ) थियो। हेड सेफ भएपछि उनको तलब बढ्न थालेको थियो।
उनले करिब १० वर्ष उतै बिताए। त्यसपछि आफ्नै देशमा काम गर्ने अठोट लिएर २०७६ सालमा फर्के। युएईमा कमाएर बचाएको सबै पैसा बेकरी उद्योगमा लगानी गरेको र व्यवसायका साथै रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाइ छ।
'म समाजसेवी पनि हुँ। युएईमा बस्दा दुःखबिमार परेका धेरैलाई सहयोग गरेँ,' उनले भने, 'केही रकम व्यक्तिगत खर्चमा पनि गयो। बचेको रकम बेकरीमा लगानी गरेको हुँ।'
बेकरी उत्पादन र प्रशोधनका लागि मेसिन खरिद, उद्योगको तयारी लगायत काममा २८ लाख रूपैयाँ लगानी गरेको उनले बताए। उद्योग चालु भएपछि आम्दानी हुन थाल्यो। त्यो पनि त्यसैमा लगाए।
'अहिले त लगानी सुरूको भन्दा दोब्बर भइसक्यो, कमाएको सबै यसमै लगाएको छु।'
उनको उद्योगमा केक (पेस्ट्री), कुकिज लगायत विभिन्न किसिमको बेकरी परिकार उत्पादन हुन्छ। उनका अनुसार बजारमा केक र कुकिजको माग धेरै छ। उत्पादन पनि त्यसै अनुसार छ।
जन्मदिन, विवाह, वार्षिकोत्सव लगायत अनेक उत्सवका लागि केकको अर्डर आउँछ। अर्डर अनुसार तयार गरेर ग्राहकका हातमा पुर्याउँछन्। केकको मूल्य त्यसको परिमाण र विशेषताका आधारमा तय हुन्छ। सामान्यतया एक पाउन्ड केकको मूल्य पाँच सय रूपैयाँदेखि १४ सय रूपैयाँसम्म हुन्छ।
आफ्नो उद्योगको केक उच्च गुणस्तरको र स्वादिलो रहेको उनको भनाइ छ।
'मैले प्रयोग गर्ने रेसिपी विदेशको जस्तै हो। केक एकदमै मिठो, स्वच्छ र गुणस्तरीय छ,' योगेन्द्रले भने।
उनले कुकिज बनाउन नेपाली रैथाने बाली प्रयोगमा जोड दिएका छन्। कोदो, मकै, फापर, मोरिंगा (सजिवन) र सिस्नोबाट कुकिज बनाउँछन्। नेपाली रैथाने अन्नबाली प्रयोग गरेर बेकरीमा क्रान्ति ल्याउने सोचका साथ आफू अघि बढेको उनको भनाइ छ।


मिठो बेकरीमा २६० ग्रामको फापर कुकिजको मूल्य १८० रूपैयाँ छ। सोही परिमाणमा कोदो र मकै कुकिजको मूल्य १५० रूपैयाँ छ।
रैथाने बालीको कुकिज उनी नेपालटारस्थित आफ्नो पसलबाट मात्रै बेच्दै छन्। ग्राहकको अर्डर अनुसार घरमा पुर्याउने प्रबन्ध मिलाएका छन्। सुपरमार्केट लगायत ठूला स्टोरहरूमा पुर्याउन सरकारी अनुमतिका लागि प्रक्रिया पूरा भएको छ।
'अनुगमन भइसकेको छ। अनुमति पाउन मात्र बाँकी छ। अनुमति पाएपछि सुपर स्टोरहरूमा पुर्याउँछु,' उनी भन्छन्, 'कुकिज खानेहरूबाट राम्रो प्रतिक्रिया आएको छ। स्कुल, कलेज र पार्टी प्यालेसहरूमा बेकरी आइटम बिक्री भएको छ।'
पछिल्लो एक वर्षमा ५० लाख रूपैयाँको व्यापार भएको उनले बताए।
मिठो बेकरीमा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अहिले नेपालमा बेकरी क्षेत्रमा काम गर्न निकै प्रतिस्पर्धा रहेको योगेन्द्रको अनुभव छ।
'प्रतिस्पर्धा पनि अस्वस्थ खालको छ। काम सजिलो छैन तर आफ्नै देशमा परिवारका साथ बसेर काम गर्दा परदेशजस्तो कठिन हुँदैन,' उनले भने, 'नेपाली बजारको मुख्य समस्या अस्वस्थ प्रतिस्पर्धा हो। कच्चा पदार्थको मूल्य छिटोछिटो घटबढ भइरहने समस्या पनि छ।'
व्यवसाय दर्ता गर्ने कानुनी प्रक्रियामा पनि निकै झन्झट बेहोर्नुपरेको उनको अनुभव छ। नेपालमा लगानीका लागि उपयुक्त वातावरण नहुँदा देशमै काम गर्छु भनेर आएका युवा पनि बाध्य भएर फेरि विदेश जानुपर्ने अवस्था रहेको उनले देखेका छन्।
'यहाँ काम गर्न त सकिन्छ तर जोखिम धेरै छ। सरकारी निकायबाट अलिकति पनि सहयोग छैन। कसैसँग आशा गर्ने ठाउँ छैन,' उनी भन्छन्, 'कति बेला डुबिन्छ भन्ने डर भइरहन्छ। बेकरी खोलेपछि पनि त्यही डरले म ब्याकअपका लागि साउदी अरब गएँ।'

योगेन्द्र अन्तर्राष्ट्रिय स्तरका पेस्ट्री सेफ हुन्। उनले नेपालमा बेकरी उद्योग सुरू गरेपछि पनि पेस्ट्री र डेजर्ट मेनु तयार गर्न साउदी अरबबाट बोलावट आयो अनि दुई वर्ष काम गरेर आए। पछिल्लो पटक सन् २०२२ मा गएर अरेबिक रेस्टुरेन्टमा डेजर्ट र पेस्ट्रीमा काम गरे।
यो अवधिमा उनले मासिक १३ हजार साउदी रियाल तलब पाए, हालको विनिमय दरमा चर लाख ७२ हजार नेपाली रूपैयाँ।
विदेशमा काम गर्दा नियमित रूपमा तलब आउने र जोखिम नहुने भए पनि आफ्नै देशमा काम गर्ने अठोटले फर्किएको योगेन्द्रको भनाइ छ।
'अब चाहिँ ४० वर्ष कटियो। सधैं पैसाको पछि लागेर अर्काको देश धाउँदा आफ्नो जवानी र सम्बन्ध सकिने भयो,' उनले भने, 'आफ्नै देशमा परिवारसँग बसेर दुःखसुख बेहोरूँ भनेर लागेको छु। बेकरी आइटम स्वस्थकर बनाउने र यसको आयात रोक्ने मेरो उद्देश्य हो।'
स्थानीय उत्पादन प्रयोग गरेर बेकरी परिकार अर्गानिक र स्वस्थकर बनाउने उनको प्रयास छ।
उनी भन्छन्, 'खाद्यवस्तु मानिसको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिन्छ। सहरी क्षेत्रमा स्वस्थकर बेकरी पुर्याउने मेरो प्रयास छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com