ग्लोबल नेपाली
भारतको तेलंगना राज्यको हैदराबादस्थित ऐतिहासिक स्थल चारमिनार घुम्दै गर्दा केही मानिसले हामीलाई सोधेका थिए – इरानी चिया चाख्नुभयो? छैन भने चाखेर मात्रै जानुस् है, यहाँको चर्चित चिया हो।
यसलाई त्यहाँ 'हैदराबादी दम चिया' पनि भन्दा रहेछन्।
यो चिया बनाउने तरिका केही फरक छ। एउटा भाँडोमा दूध र मसला (चिया मसला) मिश्रण अनि अर्कोमा चियापत्ती र मसलाको मिश्रण पकाइन्छ। यसरी छुट्टाछुट्टै पकाइएको दुई मिश्रण मिलाएर इरानी चिया तयार गरिन्छ। यो चिया सामान्यभन्दा मसालेदार र बाक्लो हुन्छ।
यो चिया संस्कृति दक्षिण भारत आएका इरानी आप्रवासीहरूले उन्नाइसौं शताब्दीको सुरूतिर ल्याएको मानिँदो रहेछ। आप्रवासी इरानीहरूले हैदराबादमा चिया पसल चलाए। त्यसको स्वाद हैदराबादका बासिन्दाले रूचाए अनि बिस्तारै लोकप्रिय बन्दै गयो। त्यहाँ प्रत्येकजसो क्याफेमा इरानी चिया पाइन्छ।
यो चियाको स्वाद काठमाडौं उपत्यकामा पनि पाइन्छ।
कुनै बेला हैदराबादमै इरानी चिया पिएर स्वादका पारखी बनेका सरोज पौडेलले काठमाडौंका पारखीलाई पनि पियाइरहेका छन्।
'भारतको एउटा होटलमा काम गर्दा सेफ साथीहरूले मलाई इरानी चिया चखाएका थिए। मलाई एकदमै मिठो लाग्यो। त्यसको स्वाद जिब्रोमै झुन्डियो,' उनले भने, 'बिस्तारै म इरानी चियाका पारखी भएँ।'
उनले काठमाडौंमा इरानी चिया व्यवसायको सम्भावना खोजी गरे। सम्भावना छ भन्ने विश्वास भएपछि तीन वर्षअघि नरेफाँटमा 'इरानी चिया' पसल खोले।
'नरेफाँटमा मेरा एक जना साथीको पसल थियो। कहिलेकाहीँ जाँदा बसेर चिया पिउने ठाउँ पाउन पनि मुस्किल हुन्थ्यो। त्यहाँ चियाको राम्रो व्यापार हुन्छ भन्ने लागेपछि मैले नरेफाँट नै रोजेँ,' उनले भने।
पसल सुरू गरेपछि तीन दिन पैसा नलिई चिया खुवाए। प्रत्येकसँग प्रतिक्रिया लिए अनि त्यसै अनुसार काम गरे। एक साता नहुँदै चिया पारखीहरूको भिड बढ्न थाल्यो। पसलमा बस्ने ठाउँ नपुगेर उभिएरै पनि पिए।
-1742920019.jpg)
-1742920019.jpg)
सरोजका अनुसार इरानी चिया बनाउन दूध निकै बेर पकाउनुपर्छ। चियापत्ती बेग्लै उमाल्नुपर्छ। दूध र चियापत्तीमा राख्ने मसला पनि छुट्टाछुट्टै हुन्छ।
'इरानी चियाको बाक्लोपन र स्वाद अलिक फरक छ। म यसलाई फेन्सी चिया भन्छु,' सरोजले भने।
पैसा लिएको पहिलो दिन नै करिब २५ सय रूपैयाँको चिया बिक्यो। यसपछि ग्राहक बढ्दै गए। व्यापार उकालो लाग्दै कुनै दिन त २५ हजार रूपैयाँभन्दा बढीको व्यापार भयो।
सरोजका अनुसार नरेफाँटमा तराई भेगका मानिस धेरै बस्छन्। उनीहरू चियाप्रेमी हुन्छन्। उनीहरू दसैंदेखि छठसम्म उपत्यका बाहिर जाँदा व्यापार नै केही कम हुन्छ।
बिस्तारै सरोजको इरानी चियाको व्यापारमा अरू पनि लोभिन थाले। चिया पिउन आउने कतिपयले फ्रेन्चाइज मागे। उनले आफ्नो आउटलेट (पसल) बिस्तार गर्ने र फ्रेन्चाइज पनि दिने नीति लिए। हाल सरोजको इरानी चिया फ्रेन्चाइजसहित १४ ठाउँमा पाइन्छ। सुविधानगर र कोटेश्वरमा आफैले खोलेका हुन्। लोकन्थली, सेतोपुल, बोजेपोखरी, इमाडोल, बानेश्वर, सिनामंगल, टीकाथली, मध्यपुर ठिमी, पेप्सीकोला लगायत ठाउँमा अरूले चलाएका छन्।
'इरानी चियाका सबै पसलमा सेवाग्राहीको भिड हुन्छ,' उनले भने।
सरोजले फ्रेन्चाइजमा युवालाई प्राथमिकता दिएका छन्। देशमा काम नपाएर विदेश जान लागेका युवाले आफ्नै देशमा कमाइ गरून् भनेर फ्रेन्चाइज दिने गरेको उनले बताए।
'पाँच–सात लाख रूपैयाँ लगानी गर्न सक्नेले फ्रेन्चाइज लिन सक्छ। हाम्रो फ्रेन्चाइज लिनेले महिनामा एक लाख रूपैयाँ मजाले कमाएको छ,' उनले दाबी गर्दै भने।
इरानी चियाका आउटलेटहरूमा अहिले ३० जनाले काम पाएका छन्। रोजगारीमा महिलालाई बढी अवसर दिने गरेको उनले बताए।
सरोज पेसाले सेफ हुन्। काभ्रेका स्थायी बासिन्दा उनले सन् २०१३ मा होटल म्यानेजमेन्ट विषयमा स्नातक सके। यसपछि दिल्लीको ह्यात रिजेन्सी होटलमा काम गरे।
काम गरेको एक वर्ष नहुँदै उनी स्नातकोत्तर तह पढाइका लागि दक्षिण कोरिया गए। त्यहाँको पार्क ह्यातमा करिब तीन वर्ष काम गरे। सेफ भए अनि सन् २०१८ को अन्तिमतिर नेपाल फर्के।
नेपालमा शिक्षण पेसामा लागे। कलेजहरूमा पढाउँदै गर्दा होटल म्यानेजमेन्ट सम्बन्धी डिप्लोमा कोर्स पढाउने शिक्षण संस्था खोल्ने योजनामा लागे। योजना बन्दै थियो, कोरोना फैलियो। लकडाउनले धेरै दिन घरमा थुनिएपछि योजना अलपत्र पर्यो।
'एउटा कलेज खोलेर राम्रो सीपयुक्त जनशक्ति उत्पादन गरूँ भन्ने योजना थियो, कोभिडले खाइदियो। अरू कलेजहरूमा कक्षा लिन्थेँ, चार बजे घर फर्किन्थेँ। त्यसपछिको समय उपयोग गर्ने उपाय खोज्ने क्रममा इरानी चिया सुरू भएको हो,' उनले भने, 'यतिसम्म फस्टाउला भन्ने त सोचेकै थिइनँ।'
प्रारम्भमा उनले करिब दुई लाख रूपैयाँ लगानी गरेका थिए। आम्दानी बढ्दै गएपछि लगानी पनि बढाउँदै गए। अहिले उनी पढाउने काम छाडेर पूर्णकालीन चिया व्यवसायी भएका छन्। बैंकमा जागिरे उनकी श्रीमती बबिता अधिकारी समेत जागिर छाडेर चियामै खटेकी छन्।
-1742920017.jpg)
-1742920018.jpg)
सरोजका अनुसार इरानी र कडक (चिनी र चियापत्ती कडा भएको) चियाको रेसिपी उनीसँग मात्रै छ। सबै आउटलेट र फ्रेन्चाइजका लागि चाहिने दूध र चियापत्ती उनी आफै तयार गरेर पठाउँछन्।
'दूध र चियापत्ती सबैलाई पुग्ने गरेर सेन्ट्रल किचनमा एकै पटक उमाल्छौं। एक पटकमा सय लिटरभन्दा धेरै दूध उमाल्नुपर्छ,' उनले भने, 'इरानी चियाका सबै फ्रेन्चाइजमा एकै स्वादको गुणस्तरीय चिया हुनुपर्छ भन्ने मेरो मान्यता छ।'
सरोज फ्रेन्चाइज लिने र तिनमा काम गर्ने कर्मचारीलाई तालिम दिन्छन्। २१ दिनको तालिममा इरानी र कडक चियाको रेसिपीबाहेक अन्य काम सिकाउने उनले बताए।
हाल उनी इरानी चिया प्रतिकप ९० र कडक चिया प्रतिकप ७५ रूपैयाँमा बेच्छन्। यसबाहेक यहाँ पाइने चिया हुन् — प्रिमियम, हाँडी, रोजमेरी, मसला, साधारण दूध, कालो, लेमन, ग्रीन, विभिन्न स्वाद र बास्नाका कोल्ड चिया।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरमा चिया पसल निकै चल्तीमा छन्। उनी इरानी र कडक चियाको फ्रेन्चाइज पोखरामा पनि दिन चाहन्छन्। यसका लागि सामान उपलब्ध गराउने उपायको खोजी गरिरहेका छन्।
गुणस्तरमा ध्यान दिने हो भने यो व्यापार निकै राम्रो हुने सरोजको भनाइ छ। तर अर्को व्यक्ति सफल भएका आधारमा मात्र व्यवसाय सुरू नगर्न उनी सुझाव दिन्छन्।
'आफ्नो रूचि र सीप अनुसारको काम गर्नुपर्छ। व्यापारको सम्भावना कस्तो छ भन्ने अध्ययन गर्नुपर्छ। अर्काले राम्रो गरेको देखेर काम थालिहाल्ने र निरन्तरता दिन नसक्ने समस्या देखिएको छ,' ३७ वर्षीय सरोजले भने, 'व्यवसायमा स्टार्टअप प्रोत्साहन गर्न सरकारले सहुलियत ऋण व्यवस्था पनि गर्नुपर्छ।'
-1742920017.jpg)
-1742920018.jpg)
-1742920018.jpg)
-1742920019.jpg)
-1742920019.jpg)
-1742920020.jpg)
-1742920020.jpg)
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com