हाल दैनिक दुई हजार हाराहारी संख्यामा नेपाली युवाहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइरहेका छन्। यो संख्यामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने दुवै पर्छन्।
वैदेशिक रोजगारीमा जाने प्रक्रियामा कतिपय युवा देशभित्रै कुनै समस्या परेका हुन्छन्। गन्तव्य मुलुक पुगेपछि पनि अनेक समस्या झेल्न बाध्य हुन्छन्। वैदेशिक रोजगारीमा रहेकाहरूमा मृत्यु हुनेको संख्या दैनिक औसत तीन जना रहेको सरकारी आँकडा छ। अंगभंग हुनेको संख्या पनि करिब यस्तै छ।
वैदेशिक रोजगारीमा जाँदा के के कुरामा ध्यान दिनुपर्छ?
यस प्रश्नमा केद्रित भएर हामीले वैदेशिक रोजगार बोर्डका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालसँग कुराकानी गरेका छौं।
'कतिपय व्यक्ति समस्यामा पर्ने, दुर्घटनामा पर्ने, बिरामी हुने र मृत्युसम्मका घटना आवश्यक चेतना वा जानकारी अभावका कारण पनि हुन सक्छ,' ढकालले भने।
उनका अनुसार वैदेशिक रोजगारीमा जाँदा मुख्य रूपमा ७ कुरामा अनिवार्य ध्यान दिनुपर्छ।
१. जानुअघि 'पूर्वप्रस्थान अभिमुखीकरण तालिम' मा अनिवार्य सहभागी हुनुपर्छ र स्वास्थ्य परीक्षण गराउनुपर्छ।
२. आफूसँग के सीप छ, आफ्नो सीप र योग्यताले कुन देशमा राम्रो अवसर र कमाइ हुन्छ भन्ने पनि ध्यान दिनुपर्छ।
३. विदेशमा धेरै खटेर काम गर्नुपर्छ भन्ने मानसिक रूपमा तयार भएर मात्रै जानुपर्छ।
४. गन्तव्य मुलुकमा आफूलाई आवश्यक पर्ने भाषा सिक्नुपर्छ।
५. त्यहाँको सामाजिक र सांस्कृतिक पक्षका जानकारी जानुअघि नै लिनुपर्छ।
६. श्रम स्वीकृति लिएर मात्रै जानुपर्छ।
७. वैदेशिक रोजगारीमा जाने सिलसिलामा कसैलाई पनि पैसा अग्रिम बुझाउन हुँदैन। पैसा अग्रिम बुझाउनु परेको अवस्थामा पनि वैदेशिक रोजगारीमा जाने प्रयोजनमा भन्ने कुरा खुलाएर प्रमाण लिनुपर्छ। यसो भएपछि ठगी भयो, मुद्दामामिला प्रक्रियामा जानुपर्यो भने पीडितलाई सजिलो हुन्छ।
'यस्तो तयारी गरेर जाँदा धेरै किसिमका कठिनाइहरूबाट जोगिन सकिन्छ,' निर्देशक ढकालले भने।
वैदेशिक रोजगारीमा दुई किसिमले जान सकिन्छ– संस्थागत (म्यानपावर कम्पनी) मार्फत् र व्यक्तिगत (व्यक्ति आफैले) श्रम स्वीकृति लिएर।
श्रम स्वीकृति लिँदा करार अवधि तीन वर्षसम्मको छ भने वैदेशिक रोजगार कल्याणकारी कोषमा साढे एक हजार र तीन वर्षभन्दा बढीको छ भने साढे दुई हजार रूपैयाँ बुझाउनुपर्छ।
हाल वैदेशिक रोजगार कल्याणकारी कोषमा साढे ६ अर्ब रूपैयाँ जम्मा भएको छ। कोषको रकम वैदेशिक रोजगारीमा गएका श्रमिक र उनीहरूको परिवारको कल्याणकारी कामका लागि खर्च गर्ने प्रावधान छ।
वैदेशिक रोजगारीमा गएको कोही व्यक्ति बिरामी पर्दा, अंगभंग वा घाइते हुँदा औषधि उपचारका लागि कोषबाट सात लाख रूपैयाँसम्म आर्थिक सहायता उपलब्ध हुन्छ। विदेशमा श्रमिकको मृत्यु भयो भने शव नेपाल ल्याउन र सडक पुगेको ठाउँमा, घाटसम्म शव पुर्याउने काम पनि कोषमार्फत नै हुन्छ।
कोषले मृतकका हकवालालाई दस लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका वा अंगभंग भएका व्यक्तिका सबै छोराछोरीलाई १२ कक्षा उत्तीर्ण नहुँदासम्म र १८ वर्ष उमेर नपुग्दासम्म शैक्षिकवृत्ति पनि उपलब्ध हुन्छ।
'यस्तो सहायता सम्बन्धी निर्णय वैदेशिक रोजगार बोर्डले गर्छ,' निर्देशक ढकालले भने।
हेर्नुस् वैदेशिक रोजगारीबारे निर्देशक ढकालसँगको कुराकानी भिडिओमाः
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com