ग्लोबल नेपाली
सन् २००३ मा इसराइल जानुभन्दा पहिला हेटौंडाका श्रीकृष्ण अधिकारी स्वास्थ्य क्षेत्रमा थिए। अहेब भएर विभिन्न हस्पिटल र नर्सिङ होममा काम गरेका अधिकारी त्यो बेलाको राजनीतिक परिस्थितिका कारण इसराइल भासिए। झण्डै १ दशक इसराइलको बिरूवा उत्पादन गर्ने नर्सरी फर्ममा काम गरे।
'हमासले गरेको बमबारीका कारण थाइल्याण्ड सरकारले आफ्ना कामदार स्वदेश बोलाएपछि हामी त्यहाँ गएका हौं। असुरक्षाको कारण देखाउँदै थाइल्याण्डले आफ्ना नागरिक बोलाउँदै गर्दा हामी भाग्य चम्कियो भनेर इसराइल गयौं,' उनले भने, 'नेपालमा स्वास्थ्यकर्मी भएर काम गरेको मैले कृषि क्षेत्रमा नयाँ अनुभव लिन पाएँ। मेडिसिन डिक्सनरी कण्ठै पारेको भए पनि उता केही काम लागेन।कृषि क्षेत्रमा सिक्ने र कमाउने दुवै मौका पाएँ।'
जतिबेला श्रीकृष्ण इसराइल गए त्यो बेला नेपालमा बिल्कुलै परम्परागत प्रविधिबाट खेती हुन्थ्यो। व्यावसायिक कृषिको समय सुरू भएको थिएनभन्दा पनि हुन्छ। आधुनिक कृषि कस्तो हुन्छ भनेर उनले इसराइलमा देख्न पाए। कृषिका नयाँ/नयाँ प्रविधि प्रयोग गरेर इसराइलले धेरै प्रगति गरेको भन्दै उनले थोरै लगानीमा धेरै उत्पादन कसरी लिन सकिन्छ भनेर आफूले प्रत्यक्ष देखेको र भोगेको बताए।
'हामीले देखेको कृषि निर्वाहको लागि मात्र थियो। तर इसराइल पुगेपछि हामीले बुझेको कृषि र यो फरक रहेछ भन्ने भयो। कृषि एउटा उद्योग रहेछ भन्ने थाहा भयो,' उनले भने, 'प्रविधिको उच्चतम प्रयोग गरेर थोरैभन्दा थोरै क्षेत्रमा गुणस्तरीय उत्पादन कसरी गर्ने भन्ने थाहा भयो। खाली रहेको सरकारी जग्गामा कसैलाई ठेक्कामा लगाएर ठूला ठूला कृषि फार्म खोलिएको थियो।'
उनका अनुसार इसराइलको खाली जग्गामा एक सिजन पूरै गहुँ खेती हुन्छ। जसले आफ्नो देशलाई पुर्याउँछ अनि निर्यात पनि गर्छ। त्यसका साथै उसले अंगुर, एभोकाडो र तरकारीको समेत निर्यात गर्छ। श्रीकृष्ण आफैले काम गरेको नर्सरी फार्मबाट देशैभरीका किसानलाई बिरूवा पुर्याएर युरोपमा निर्यात समेत हुन्थ्यो। त्यस्तै सलादको सँगै अन्य तरकारी फलफूलहरू युरोप/अमेरिका निर्यात हुन्थ्यो।
इसराइलमा सबै ठिकठाक चलिरहेकै थियो। शारीरिक रूपमा कडा श्रम गर्न परे पनि त्यहाँको सिकाइ र कमाइले उनी सन्तुष्ट थिए। तर उनलाई नेपालमा कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने हुटहुटी उत्तिकै थियो। त्यही हुटहुटीले उनलाई सन् २०११ मा नेपाल फिर्ता ल्यायो। त्यसपछि उनले नेपालमै कृषि क्षेत्रमा काम सुरू गरे।
'हाम्रो लागि इसराइल एउटा मरूभूमि हो। त्यहाँको जमिनको तुलनामा हाम्रो जमिन धेरै राम्रो छ। तर नेपालको कृषि क्षेत्रमा प्रविधिको प्रयोग शून्य जस्तै थियो,' उनले भने, 'केही सिकेको अनि केही कमाएको कारणले अब केही गर्न सक्छु भन्ने सहास आयो। त्यसपछि आफैले तरकारी खेती सुरू गरेँ। सँगै कृषि प्रविधिको प्रचारप्रसार र व्यवसाय पनि गरेँ।'
इसराइलको कृषि क्षेत्रमा काम गरेका श्रीकृष्णको लागि नेपाल आफैमा ग्रीन हाउस हो।

उनी भन्छन्, 'धनकुटामा एउटा तापक्रम हुँदा धरानमा फरक छ अनि इटहरीमा फरक छ अलि पर सर्लाहीमा अर्को छ। काठमाडौंमा नहुने उत्पादन तराईमा भइरहेको छ अनि तराईमा नहुने काठमाडौंमा हुनसक्छ। त्यसैले नेपाल आफैमा एउटा ग्रीन हाउस हो।'
सुरूमा श्रीकृष्ण आफैले थोपा सिँचाइमार्फत् तरकारी खेती सुरू गरे। विस्तारै उनले प्रयोग गरेको प्रविधिबारे अरूलाई चासो भयो। आफूले जानेको कुरा सिकाउँदै गए। त्यस्तै मल्चिङ प्लाष्टिक, ग्रीन हाउस, कोकोपिठमा खेती गर्ने तरिका सबैको प्रयोग गरे अनि व्यवसाय समेत सुरू गरे।
त्यस्तै, असिना रोक्ने जाली, कीरा रोक्ने जाली लगायत आधुनिक कृषिका लागि चाहिने सबैजसो प्रविधि उनले पुर्याउँछन्। अहिले सलोम एग्रिकल्चरमार्फत् उनले देशभरी कृषि प्रविधिको व्यवसाय गर्छन्। झण्डै १८/२० जनाले उनको व्यवसायमा रोजगारी पाइरहेका छन्।
'प्रविधिलाई किसानमाझ लैजान हामीले नमूनाको रूपमा धेरैतिर पठायौं। असिना रोक्ने जाली धेरै प्रभावकारी छ भनेर म ७/८ वर्षदेखि लागिरहेँ। अहिले किसानले यसको अपरिहार्यबारे बुझेका छन्।यस्ता धेरै प्रविधिको आवश्यकताबारे किसान जानकार छन्,' उनले भने, 'हामीले सानो ठूलो धेरै थोरै गरेर ६० जिल्लामा हाम्रा प्रविधि पुर्याएका छौं। पुर्याउनको लागि मात्र पुर्याएको छैनौं। यसबाट किसानले फाइदा लिन सकेका छन्।'
कोही बेला मेडिकल क्षेत्रमै आफ्नो भविष्य देखेका श्रीकृष्ण अहिले कृषि प्रविधिको अगुवा बनेका छन्। यसको सबै कारण इसराइल भएको उनले बताए। इसराइल नगएको भए आजको अवस्थामा नपुग्ने उनको भनाइ छ।
कृषि क्षेत्रको लागि चाहिने प्रविधि ल्याउने नाममा देशलाई जरूरी नहुने खालका प्रविधि समेत ल्याइएको उनको दाबी छ। अर्कोतिर सरकारले सहुलियत दिने तर अनावश्यक कर लगाउँदा किसान थप मर्कामा परेको अधिकारीको विश्लेषण छ।

'किसानका लागि जरूरी पर्ने प्रविधिमा ५२ प्रतिशतसम्म कर लगाइएको छ। अनि सहुलियतका लागि अनेक झन्झट ब्यहोर्न पर्छ। सरकारको सहुलियत वास्तविक किसानले पाउन सकेका छैनन्,' उनले भने, 'चर्को भन्सार तिर्ने भनेको वास्तविक किसान हुन्। असिना रोक्ने जाली, कीरा रोक्ने जाली, मल्चिङ प्लाष्टिक जस्ता प्रविधिमा कर छुट दिने हो भने सहुलियत दिनै पर्दैन।'
भारतमा किसानले ठूलो मात्रामा कर छुट र अनुदान पाउने तर नेपाल सरकारले उल्टै कर लगाउने भएकाले किसान मर्कामा परेको उनले बताए। कृषि प्रविधिमा कुनै कर नलागउने हो भने अहिले भइरहेको उत्पादनको खर्चमा ५० प्रतशितले कमी आउने उनको दाबी छ।
'हेटौंडाका मुक्ति अधिकारीले दुधको पैसा नपाएको ५/६ महिना भइसकेको छ। तर उनले गाईको लागि दाना त यसरी उधारो पाउँदैनन्। अनि कसरी किसानले जोखिम उठाउन सक्छ भन्ने हो,' उनले भने, 'मुक्ति अधिकारी एउटा उदाहरण मात्र हुन्। यस्ता किसान धेरै छन्। जसले आफ्नो उत्पादनको मूल्य पाउन सकेका छैनन्।'
किसान र बिचौलियाको बीचमा राज्यले मध्यस्थता गर्नुपर्ने उनको भनाइ छ। किसानको उत्पादन बजारसम्म पुर्याउन बिचौलिया चाहिने भन्दै उनले उनीहरूको अनुगमन गर्ने जिम्मेवारी सरकारको रहेको बताए। त्यस्तै बिचौलियाको सुरक्षाको दायित्व समेत सरकारको रहेको उनको तर्क छ।
'जस्तो डडेल्धुराको किसानले ३ पाथी टिमुर लिएर काठमाडौं आउन सम्भव छैन। ३/३ पाथी जम्मा गरेर बिचौलियाले ल्याउने हो। तर राज्यले यसको अनुगमन गर्नुपर्छ,' उनले भने, 'दाङबाट गोलभेँडा ल्याएको गाडी बाटो बन्द भएर गन्तव्य पुग्न सकेन भने त्यसबाट पुग्ने क्षतिको जिम्मेवारी राज्यले लिनुपर्छ। तर अहिलेसम्म बिचौलिया परिरहेका छन्।'

बिचौलियाको निगरानी पनि नहुने अनि सुरक्षा पनि नहुने भएकाले समस्या आएको उनले बताए।
विदेशबाट नेपाल आएर कृषि क्षेत्रमा राम्रो गरेको र समस्यामा परेको दुवै उदाहरण रहेको उनले देखेका छन्।
'कति साथीहरूले आफ्नै तरिकाले काम गर्नुभएको छ अनि धेरै राम्रो गर्नुभएको छ। कसैले तरकारी खेती अनि कसैले फलफूल अनि कसैले पशुपालन गर्नुभएको छ र धेरै राम्रो गर्नुभएको छ,' उनले भने, 'तर कतिपय साथीहरूले हरेश खाएर मृत्युको बाटो रोज्नुभएको छ भने कतिले कृषिमा गरेको लगानी उठाउन फेरि विदेशको बाटो रोजेका छन्। यो सबै घटनाक्रममा राज्य जिम्मेवार छ भन्ने मलाई लाग्छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com