शेष घले नेतृत्वको गैर आवासीय नेपाली (एनआरएन) उच्चस्तरीय समितिले सदस्यता दर्ताका लागि भन्दै एक महिना समय थप गरेको छ।
उच्च स्तरीय समितिको आइतबार बसेको नवौं बैठकले सदस्यता दर्ताका लागि ३१ मार्च २०२५ सम्म तोकेको छ। यसअघि फेब्रुअरी ३१ सम्म तोकिएको थियो।
बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा छलफल भएको उच्च स्तरीय समितिका सदस्य विनोद कुँवरले सेतोपाटीलाई बताए।
'बैठकले ३ सदस्यीय अध्यक्ष मण्डल समेत गठन गरेको छ। सदस्यहरूलाई जानकारी गराएर उहाँहरूको स्वीकृतिमा छिट्टै नाम सार्वजनिक गर्छौं। सदस्यता दर्ता गर्दा एनआरएनएले लिने शुल्क यस महाधिवेशनमा नलिने निर्णय गरिएको छ। शाखाहरूले आफ्नो देशका नियमानुसार शुल्क तोक्न सक्ने निर्णय गरिएको छ।'
बैठकले राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ।
महाधिवेशनको तयारीको सिलसिलामा बैठकले प्रमुख अतिथि र अन्य अतिथिहरूलाई निमन्त्रणा गर्न सुरू गर्ने निर्णय गरेको छ र मूल आयोजक समितिको बैठक तुरून्तै आयोजना गर्ने निर्णय गरिएको कुँवरले बताए।