सरकारले अध्यादेशमार्फत गैरआवसीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई १० वर्षसम्म निःशुल्क भिसा दिने व्यवस्था गर्न लागेको छ।
शुक्रबार मध्यरातसम्म बसेको मन्त्रिपरिषद् बैठकले गैरआवसीय नेपाली नागरिकताप्राप्त व्यक्तिलाई १० वर्ष सम्म निःशुल्क भिसा दिनेगरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो।
सरकारले गैरआवसीय नेपाली नागरिकहरूलाई नेपालमा लगानी सहजताका लागि त्यस्तो व्यवस्था गर्न लागेको हो।
अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि सो व्यवस्था कार्यान्वयनमा जानेछ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष बद्री केसीले सरकारको उक्त कदम सकारात्मक भनेका छन्। यसलाई उनले आफूहरुको आंशिक सफलताका रूपमा हेरेको पनि बताए।
'आर्थिक सांस्कृतिक सामाजिक अधिकारसहितको नागरिकताको कार्यान्वयनमा नै हाम्रो जोड हो। तर सरकारले जुन निर्णय लिएको छ, त्यो हाम्रो आंशिक सफलता हो। १० वर्षको निःशुल्क भिसा मात्रै होइन, भिसा नै नचाहिने बनाउने हाम्रो प्रयास हो,' उनले सेतोपाटीसँग भने।
सोही अनुसारको नागरिकता सरकारले दिनुपर्ने र त्यसका लागि आफूहरू लागिरहेको अध्यक्ष केसीले बताए।
२०७२ को संविधान अनुसार २०८० असोजदेखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो। सो अनुसार १० हजार हाराहारीमा एनआरएन नागरिकत लिएको अध्यक्ष केसीले बताए।