गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ।
आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमबीच चार लाख रूपैयाँ मूल्य बराबरका बेबी वार्मर,बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू हस्तान्तरण गरिएको हो। संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तर गरे।
उक्त अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारूले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
वितरण गरिएको स्वास्थ्य सामग्रीले स्थानीय समुदायको सेवामा सुधार ल्याउने अपेक्षा गरेको एनआरएनए उपाध्यक्ष एवम् महिला विभाग अध्यक्ष रेजिना प्रधान राईले बताइन्। उनले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाइएको भन्दै यस पहलले महिलाहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताइन्।