दुई हप्तादेखि हराइरहेका इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को विदेशी समूह परिचालन गर्ने कुद्स फोर्सका प्रमुख ब्रिगेडियर जनरल इस्माइल घानी मंगलबार देखा परेका छन्।
इरानको सरकारी समाचार एजेन्सीले (आईआरएनए) ले प्रशारण गरेको भिडिओमा उनलाई देखाइएको हो।
इसराइलले सेप्टेम्बर २७ मा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गरेको थियो। त्यसको दुई दिनपछि अर्थात सेप्टेम्बर २९ मा घानी एक तस्बिरमा देखा परेका थिए। पछिल्लो पटक सार्वजनिक रूपमा उनलाई त्यही बेला देखिएको हो।
नसरल्लाह मार्न लेबननको राजधानी बेरूतमा हमला गर्दा मेजर जनरल अब्बास निलफरोशन पनि मारिएका थिए। उनैको शव लिन मंगलबार बिहान तेहरानको विमानस्थलमा पुग्दा भिडिओमा कैद भएको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ।
आईआरएनएको सो भिडिओका अनुसार केही बेरपछि गरिएको अन्त्येष्टि समारोहमा पनि उनी उपस्थित थिए।
इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूह परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ।
इरानले इसराइल र अमेरिकाविरूद्ध बनाएको यो मोर्चाबन्दीलाई 'एक्सिस अफ रेजिस्टेन्स' भनिन्छ। इरानले यी समूहहरूसँग समन्वय कुद्स फोर्समार्फत गर्छ।
ती समूहहरू मध्ये सबैभन्दा शक्तिशाली हिजबुल्लाहका प्रमुख नसरल्लाहसहित अरू धेरै वरिष्ठ नेता र कमाण्डरहरू इसराइलले मारेर इरानसँग नै युद्ध सुरू हुन लागेको बेलामा कुद्स फोर्सका प्रमुख पनि सार्वजनिकरूपमा नदेखिँदा विभिन्न अड्कल काटिएका थिए।
कतिले उनी पनि हिजबुल्लाहका वरिष्ठ नेता हशिम सफिइद्दिनमाथि गरिएको हमलामा परेको अड्कल काटेका थिए। नसरल्लाह मारिएको बैठकमा कारणवश अनुपस्थित भएर जोगिएका वरिष्ठ नेता सफिइद्दिनलाई पनि अक्टोबर ४ मा मारिसकेको इसराइलको दाबी छ।
नसरल्लाहका भाइ सफिइद्दिन (उनीहरूका आमाहरू दिदी-बहिनी हुन्) हिजबुल्लाहका नयाँ प्रमुख हुने अपेक्षा थियो। सफिइद्दिनको मृत्युको पुष्टि नभए पनि उनीसँग त्यसपछि हिजबुल्लाहको सम्पर्क नभएको समाचारहरू आएका छन्।
लगभग त्यसैबेला देखि जनरल घानी पनि सार्वजनिकरूपमा नदेखिएकाले उनी पनि सफिइद्दिनसँगै इसराइली हमलामा परेको अड्कल काटेका थिए। कतिले भने उनी इसराइली एजेण्ट भएको थाहा पाएर उनको सफाया गरिएको वा उनी भागेको पनि अनुमान गरेका थिए।
इसराइलले नसरल्लाहको हत्या गरेपछि त्यसको र तेहरानमा भएको हमासका शीर्ष नेता इस्माइल हनियेको हत्याको बदला भनेर इरानले अक्टोबर १ मा इसराइलमाथि करिब १८० ब्यालेस्टिक मिसाइल प्रहार गर्यो।
हमासको राजनीतिक विभागका प्रमुख ६१ वर्षीय हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो।
इरानको पछिल्लो आक्रमणबाट इसराइलमा खासै नोक्सानी नभए पनि त्यसको इसराइलले कडा जबाफ दिने अपेक्षा गरिएको छ। इसराइलले कडा जबाफ दिए इरान-इसराइल युद्ध हुने खतरा फेरि बढेको बेला जनरल घानी अचानक हराएकाले त्यस्ता अड्कलहरू गरिएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)