इसराइलले विस्फोट गराएका पेजर एकचोटि चार्ज गर्दा लामो समयसम्म टिक्ने भन्दै बेचेको खुलेको छ।
लेबनन र सिरियाका केही ठाउँहरूमा हिजबुल्लाह समूहका सदस्यले बोकेका हजारौं 'पेजर' हरू सेप्टेम्बर १७ मा एकसाथ विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने लगभग तीन हजार घाइते भएका थिए। यो पेजर हिजबुल्लाहलाई बेच्न इसराइलले केही समयअघि एकचोटि चार्ज गर्दा लामो समयसम्म टिक्ने विज्ञापन बनाएर बिक्री गरेको खुलासा द वासिङटन पोस्टले गरेको हो।
ताइवानको गोल्ड अपोलो कम्पनीको एआर २९४ मोडेलको लोगो भएको ती पेजर हिजबुल्लाहको हातमा पर्नुअघि नै इसराइलले पेजरको ब्याट्रीमा विस्फोटक पदार्थ लुकाएको पहिल्यै अनुमान गरिएको हो।
इसराइलले सेप्टेम्बर १७ को अपराह्न स्थानीय समय करिब ३:३० मा मेसेज पठाएर लगभग एकैपटक हिजबुल्लाह सदस्यहरूले बोकेका ती पेजरहरू विस्फोट गराएको थियो।
पेजर सुरूवालको गोजीमा बोकेकाको खुट्टा, हातमा बोक्नेको हातमा, र हेर्नलाई आँखाछेउ पुर्याएकाको अनुहारमा चोटपटक लागेको थियो। उनीहरूका परिवार सदस्यले पनि क्षति बेहोरेका थिए।
विस्फोट भएका बेला ती पेजर बोक्ने कति मानिसहरू सार्वजनिक ठाउँमा भएकाले छेउछाउका धेरै सर्वसाधारण पनि यो घटनामा हताहत भएका थिए। ताइवानको गोल्ड अपोलो कम्पनीले घटना लगत्तै ती पेजर आफूले बनाएको नभएर आफ्नो कम्पनीको लोगो राखेर अर्कै कम्पनीले बनाएको भनेको थियो।
घटनापछि कम्पनीका अध्यक्ष र मालिक सू चिङ-क्वाङ्ले नाफाको केही हिस्सा आफूलाई दिने सर्तमा आफ्नो लोकप्रिय मोडेलको लोगो हालेर पेजर बनाउन बिएसी नामको युरोपेली कम्पनीलाई अनुमति दिएको खुलासा गरेका थिए।
गोल्ड अपोलोले आफूले ब्रान्डको अनुमति मात्रै दिएको र सो पेजरको डिजाइन र बनाउने प्रक्रियामा अहिले संलग्न नभएको दाबी गरेको थियो। इसराइली, अरबी र अमेरिकी सुरक्षा अधिकारीहरू, लेबननी अधिकारीहरू र हिजबुल्लाह निकट स्रोतहरूसँग कुरा गरेको आधारमा इसराइलले दुई वर्ष अघि ती पेजर किन्न हिजबुल्लाहलाई प्रस्ताव गरेको भनेर द वासिङटन पोस्टले लेखेको छ।
ती पेजर अलिक ठूलो तर युद्धको क्रममा पनि नबिग्रिने, पानीमा भिजे पनि केही नहुने, तारबाट पनि चार्ज गर्न मिल्ने र ठूलो ब्याट्री भएकाले एक पटक चार्ज गरेपछि लामो समयसम्म चलाउन मिल्ने भनेर हिजबुल्लाहलाई प्रस्ताव गरिएको थियो।
ती पेजरको गुणहरूबाट प्रभावित भएर हिजबुल्लाहले एकै पटक ५००० वटा किनेर आफ्ना मध्यम ओहोदाका कार्यकर्ता र लडाकूलाई बाँड्न थालेको थियो। इसराइलले ठूलो ब्याट्रीमा थोरै शक्तिशाली विस्फोटक पदार्थ लुकाएर राखेको थियो।
विस्फोटक पदार्थ यसरी लुकाइएको थियो कि हिजबुल्लाहले खोलेर वा एक्स-रे मसिनले जाँच गर्दा पनि पत्ता लाग्दैनथ्यो भनेर सो योजना बारे जानकार एक इसराइली अधिकारीलाई उद्धृत गर्दै पोष्टले खुलासा गरेको छ।
आफ्नो योजनालाई सफल बनाउन इसराइलले त्यसमा एउटा अनौठो फिचर पनि हालेको थियो। गोप्य मेसेज आयो भने त्यसलाई खोल्न एकै पटक दुई वटा बटन थिच्नु पर्थ्यो।
हिजबुल्लाहका वरिष्ठ अधिकारीले पठाए जसरी सेप्टेम्बर १७ मा इसराइलले पठाएको त्यो गोप्य मेसेज खोल्न पनि उनीहरूले एकै पटक दुई हातले दुई वटा बटन थिच्नु पर्यो। ज-जसले मेसेज पढ्न खोजे उनीहरूको दुई वटै हात विस्फोटमा क्षत-विक्षत भए।
कसैले केहीबेरसम्म मेसेज नखोले पनि ती पेजर आफै विस्फोट भएका थिए। ती पेजर बिकाउन हिजबुल्लाहले विश्वास गर्ने पहिले अपोलो कम्पनीको मध्यपूर्वका लागि बजार प्रतिनिधि रहेकी एक मार्केटिङ अधिकृतको प्रयोग इसराइलले गरेको थियो।
इसराइलको योजनाबारे थाहा नभएकी ती महिलाले अपोलोको एआर २९४ मोडेलभन्दा बलिया, पानीमा भिजेर पनि नबिग्रिने, तारबाट पनि चार्ज गर्न मिल्ने र ठूलो ब्याट्री भएकाले एक पटक चार्ज गरेपछि लामो समयसम्म चलाउन मिल्ने भनेर विज्ञापन गरेकी थिइन्।
पोस्टका अनुसार भोलिपल्ट विस्फोट गराइएका वाकी-टकी त झन् नौ वर्ष अघि नै इसराइलले बेचेको थियो।
ती वाकी-टकी अचानक विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु र अरू ४०० जनाभन्दा बढी घाइते भएका थिए।
अघिल्लो दिनको पेजर आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत वाकी-टकी विस्फोट भएर केही हताहत भएका थिए। हिजबुल्लाहले ह्याक गर्न नमिल्ने सञ्चार उपकरण खोजिरहेका बेलामा सन् २०१५ मै ती वाकी-टकी इसराइलले बेचेको थियो।
ती वाकी-टकीमा पनि विस्फोटक पदार्थ लुकाउन सामान्यमा भन्दा ठूला ब्याट्री प्रयोग भएको थियो र कुरा गरेको सुन्न सकिने 'माइक्रोफोन' पनि जडान भएको थियो। नौ वर्षसम्म ती वाकी-टकी प्रयोग गरेर भएको कुराकानी इसराइलले सुनेर बस्यो।
पेजर विस्फोट गराएपछि वाकी-टकीमा विस्फोटक पदार्थ लुकाएको हिजबुल्लाहले थाहा पाउला भनेर इसराइलले भोलिपल्टै विस्फोट गराएको थियो।
अमेरिकी अनलाइन एक्सियसका अनुसार इसराइलले पेजर विस्फोट सेप्टेम्बर १७ मा गर्न चाहेको थिएन। तर आफूले पेजरमा विस्फोटक पदार्थ लुकाएको हिजबुल्लाहले थाहा पाउन सक्ने ठानेर सो दिन विस्फोट गराएको उक्त अनलाइनले खुलासा गरेको थियो।
पेजर र वाकी-टकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार व्यवस्था तहसनहस पारेपछि इसराइलले लगातार सो समूहमाथि हमला गरिरहेको छ।
३२ वर्षदेखि हिजबुल्लाहका प्रमुख रहेका हसन नसरल्लाह लगायत कैयौं वरिष्ठ नेता र सैन्य कमाण्डरलाई मारिसकेको छ। गत हप्तादेखि लेबननभित्र सेना नै पठाएर हिजबुल्लाहविरूद्ध कारबाही चलाइरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)