श्रीलंकामा राष्ट्रपति चुनावको मतगणना जारी छ।
१ करोड ७० लाख योग्य मतदाता भएको श्रीलंकामा राष्ट्रपतिका लागि शनिबार मतदान भएको थियो। जसमा ७० प्रतिशत मत खसेको बताइएको छ।
राष्ट्रपतिका लागि ३८ जना उम्मेदवार छन्। राष्ट्रपति चुनिनका लागि ५० प्रतिशत मत कटाउनुपर्छ।
श्रीलंकाको निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको विवरणअनुसार वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले अहिलेसम्म कुल गणना भएकोमध्ये ४०.३२ प्रतिशत मत पाएका छन्।
दोस्रो स्थानमा विपक्षी दलका नेता साजिथ प्रेमदासाले ३३.०१ प्रतिशत मत पाएका छन्। बिहान उनको मत २६ प्रतिशत थियो। हालका राष्ट्रपति रनिल विक्रमासिंघेले १७.३२ प्रतिशत मत पुर्याएका छन्।
बिहानसम्म चौथो स्थानमा रहेका नमल राजापाक्षे पाँचौं स्थानमा झरेका छन्। उनले २.३५ प्रतिशत मत पाएका छन्। चौथो स्थानका अरियनिथिरन पक्किएसेलवमले ३.६२ प्रतिशत मत ल्याएका छन्।
श्रीलंकाको राष्ट्रपतीय निर्वाचन प्रणाली अन्तको भन्दा फरक छ। लिमिटेड र्यांक्ड भोटिङ प्रणालीमा हुने निर्वाचनमा मतदाताले वरीयता तोकेर तीन जना उम्मेदवारलाई भोट हाल्न पाउँछन्। सुरूमा सबै मतदाताको पहिलो रोजाइका भोट गनिन्छन्। कुनै उम्मेदवारले यसमा सदर मतको ५० प्रतिशतभन्दा बढी ल्यायो भने सो उम्मेदवार विजयी हुन्छ।
तर कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याए सबभन्दा बढी मत ल्याउने दुई जना मात्रै दौडमा बाँकी रहन्छन्। त्यसपछि ती दुई उम्मेदवारबाहेक अरूलाई पहिलो रोजाइ मानेका मतदाताले पहिलो दुई उम्मेदवारलाई दोस्रो वा तेस्रो रोजाइमा पारेका छन् कि छैनन् भनेर हेरिन्छ। उनीहरू दोस्रो वा तेस्रो रोजाइमा परेका छन् भने त्यसलाई पनि तत् तत् उम्मेदवारको भोट भनेर गनिन्छ।
यसरी गन्दा बढी मत ल्याउने उम्मेदवारलाई निर्वाचित घोषणा गरिन्छ।
निर्वाचन प्रणाली त्यस्तो भए पनि सन् १९८२ मा भएको पहिलो राष्ट्रपतीय निर्वाचनदेखि अहिलेसम्म हरेक पटक कसै न कसैले पहिलो रोजाइकै भोटका आधारमा ५० प्रतिशत कटाएर निर्वाचन जितेको छ। दोस्रो र तेस्रो रोजाइको भोट अहिलेसम्म गनिएकै छैन। धेरै मतदाताले दोस्रो र तेस्रो रोजाइको भनेर भोट नै हाल्दैनन्। र, चुनाव प्रचारको क्रममा पनि उम्मेदवारले दोस्रो र तेस्रो रोजाइको भोटबारे चर्चा नै गर्दैनन्।