करिब १६ महिनाअघि 'लर्न एन्ड अर्न' कार्यक्रम अन्तर्गत इसराइल पुगेका १० जना नेपाली युवाको ज्यान गयो। ती युवा इसराइल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परेका थिए।
आक्रमणको एक महिनाअघि मात्र सुदूरपश्चिम विश्वविद्यालयले बिएससी एग्रिकल्चर (कृषिमा स्नातक) तहका ४९ जना विद्यार्थीलाई कृषिकर्मका लागि इसराइल पठाएको थियो। तीमध्ये १० जना २०८० असोज तेस्रो साता हमासको आक्रमणमा परेर बिते। त्यही समूहका विपिन जोशीलाई हमासले बन्धक बनाएको छ। त्यस हिंसात्मक आक्रमणमा अन्य केही व्यक्ति पनि मारिए, बेपत्ता बनाइए। विपिन अझै रिहा भएका छैनन्।
उक्त घटनापछि भारत, थाइल्यान्ड, भियतनाम, लाओस, श्रीलंका लगायत मुलुकबाट इसराइल पुगेका धेरै आप्रवासीहरू स्वदेश फर्के। कतिपय नेपालीहरू भने त्यही बेला विभिन्न मुलुकको बाटो हुँदै इसराइल पुगे।
सेतोपाटीलाई प्राप्त जानकारी अनुसार इसराइली सेना र हमासबीच युद्ध चर्किरहेकै बेला कम्तीमा १५० जना नेपाली पर्यटक भिसामा इसराइल पुगेका छन्। हाल उनीहरू कृषिमा काम गर्दै छन्।
'प्रवासी नेपाली मञ्च, इसराइल' का उपाध्यक्ष शिवराज खड्काको अनुमान अनुसार पर्यटक भिसामा इसराइल पुगेका करिब तीन सय नेपाली कृषि कामदारका रूपमा कार्यरत छन्। ती नेपालीहरू वैधानिक हैसियतमा छन्। उनीहरूले कामको अनुमति पाएका छन् तर नेपाल सरकारबाट श्रम स्वीकृति पाएका छैनन्।
युद्ध चर्किरहेको जोखिमपूर्ण समयमा पनि नेपालीहरू किन गए इसराइल? नेपालले श्रम स्वीकृति स्थगित गरेको समयमा उनीहरू कसरी पुगे?
यसबारे हामीले त्यहाँ काम गर्न गएकै तीन युवासँग कुरा गरेका छौं।
धादिङका राजन दुवाडी इसराइल पुग्दा युद्ध चर्किँदो थियो। हमासले बेलाबेला मिसाइल हानिराख्थ्यो। त्यस्तो बेला साइरन बज्थ्यो। उनी एक सासमा बंकरभित्र पस्थे। कम्तीमा १० मिनेट बंकरमा बसेपछि फेरि काममा फर्किन्थे।
'साइरन बजेपछि फेरि बंकरभित्र छिर्थेँ। दिनभरिमा पटकपटक यस्तो हुन्थ्यो,' उनले भने।
राजन २०२४ जनवरी १० मा पर्यटक भिसामा इसराइल पुगेका हुन्। उनी त्यसअघि पनि 'पढ्दै कमाउँदै' कार्यक्रम अन्तर्गत सन् २०१३ मा गएका थिए।
उनका अनुसार इसराइलमा स्वदेशी नागरिकसरह आप्रवासीलाई पनि सुरक्षा व्यवस्था हुन्छ।
'आफन्तहरूले युद्ध छ, नजाऊ भन्दा पनि डर पैतालामा राखेर आएँ। राम्रो कमाइ हुने भएकैले आउनुपरेको हो,' उनले भने, 'नेपालमै काम गरौं न त भन्दा कमाइ छैन। यहाँ इसराइलमा अवसर पाएको बेलामा किन छोड्ने भनेर आएँ।'
उनी इसराइल पुगेर काम सुरू गरिसक्दा पनि परिवारजन बेचैन थिए। फोन गरेर हालखबर सोधिरहन्थे। अहिले पैसा कमाउनु पर्दैन, फर्किहाल् भन्थे। राजन भने उनीहरूलाई ठिकै छ, समस्या छैन भन्दै काम गरिरहे।
राजन हाल एउटा कुखुरा फार्ममा काम गर्छन्। उनका अनुसार सात वटा खोरमा साढे दुई लाख कुखुरा छन्। कुखुराका लागि कुलर, हिटर, प्रकाश, दानापानी सबैको आधुनिक व्यवस्था छ।
'म एक्लै साढे दुई लाख कुखुरा हेर्न सक्छु। नेपालमा परिवारका सबै खट्दा पनि एक हजार कुखुरा हेर्न भ्याइँदैन। नेपालमा बजार पनि छैन। डुब्नु परे किसान एक्लै हुन्छ। सरकारले कुनै जिम्मेवारी लिँदैन,' उनले भने, 'इसराइलमा नाफाको ग्यारेन्टी हुन्छ। कुखुराको बीमा भएको हुन्छ। बजार राम्रो छ।'
राजन नेपाल छँदा एउटा गैरसरकारी संस्थामा काम गर्दै थिए। पहिले इसराइलमा कृषि सिकेका थिए तर नेपालमा कृषिकर्म गर्न सकेका थिएनन्।
अब भने पाँच वर्षपछि फर्केर आधुनिक तरिकारले कुखुरापालन गर्ने सोचेका छन्। उनलाई इसराइली किसानले पनि सहयोगको आश्वासन दिएका छन्।
'मैले प्राविधिक सहयोगको वचन पाएको छु। सबै सुविधा जुटाउने हो भने एक-दुई लाख कुखुरा सजिलै पाल्न सकिने रहेछ। कुखुरापालनमा आत्मविश्वास बढेको छ,' उनले भने।
राजन हाल मासिक कम्तीमा दुई लाख रूपैयाँ कमाइ गर्दै छन्। उनका अनुसार इसराइल पुगेको आप्रवासी कामदार पाँच वर्षपछि फर्किनै पर्छ। पर्यटक भिसामा इसराइल पुगेर कामदार बनेका आफूजस्ता तीन सय युवाको श्रम स्वीकृतिमा नेपाल सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।
श्रम स्वीकृति नभएका कारण नेपाल आउजाउमा समस्या परेको उनले बताए।
'एक जना साथीका बुबाको मृत्यु भयो तर जान सक्नुभएन। कतिपय साथी स्वास्थ्य समस्या हुँदा पनि जान पाएका छैनन्। तीन जना साथी नेपाल गएका थिए। इसराइल फर्किने बेलामा झमेला भएछ। धेरै पैसा खर्च गरेर, भनसुन गरेर, दुःखले मात्र आउन सकिने रहेछ,' उनले भने, 'हामी युद्धमा होमिन आएका होइनौं। कृषि क्षेत्रमा छौं। हाम्रो श्रम स्वीकृतिको व्यवस्था हुनुपर्छ।'
इसराइलमा आप्रवासी कामदारले वर्षमा १४ दिन एकमुष्ट बिदा पाउँछन्। धेरैजसो नेपाली कामदार दुई वर्षमा २८ दिन बिदा लिएर घर आउँछन्। श्रम स्वीकृति नहुँदा फेरि फर्किन नसक्ने अवस्था भएको राजनको गुनासो छ।
उनका अनुसार इसराइलमा गरेको आम्दानीको ठूलो हिस्सा बचत हुन्छ। घर किन्ने, पिआर (स्थायी आवासीय अनुमति) को प्रक्रिया गर्ने, गाडी किन्ने भन्ने हुँदैन। घुमफिरमा जाने एकदमै कम हुन्छ। बिदाको दिन गाडी नै चल्दैन। खर्च गर्ने ठाउँ नहुने भएकाले कमाएको धेरै पैसा बचत हुन्छ।
'यस कारण पनि युवा इसराइलमा आकर्षित छन्,' राजनले भने।
युद्धकै बेला अवसर खोज्दै इसराइल पुगेका अर्का युवा हुन् कञ्चनपुरका धनसेर धानुक। नेपालबाट श्रम स्वीकृति नमिलेपछि २०८० पुस अन्तिम साता उनी भारत हुँदै इसराइल पुगे।
धनसेर पहिले इसराइल बसेर फर्केका थिए।
'घरमा बेरोजगार भएर बस्नुभन्दा युद्ध हुँदै गर्छ, एक पटक जान्छु भनेर हिँडेको हुँ,' उनले भने।
धनसेर सन् २०१९ मा 'पढ्दै कमाउँदै' कार्यक्रम अन्तर्गत इसराइल गएर, दुई वर्ष काम गरेर फर्केका थिए। त्यो बेला उनीसँग २० लाख रूपैयाँ थियो। केही पैसा लगानी गरेर आफ्नै गाउँमै कृषिकर्म गर्दै थिए। कमाइ चित्तबुझ्दो भएन।
'स्याम्पुमा प्रयोग हुने मेन्था खेती गर्दै थिएँ। बजार भएन, सरकारले कुनै सहुलियत नदिने, दिक्दार भइरहेको थिएँ। त्यसै बेला अवसर आयो,' उनले भने, 'इसराइलमा हुने युद्धको बानी परिसकेको थियो। तर यहाँ सुरक्षा एकदमै राम्रो हुन्छ। मनमा अलिअलि डर भए पनि बेरोजगार बस्न मन नलागेर हिँडेको हुँ।'
उनी नेपालबाट हिँडेको छैटौं दिन इसराइल पुगेका थिए। पहिले भारतबाट भिजिट भिसामा श्रीलंका गए। त्यहाँबाट दुबई हुँदै इसराइल पुगे। इसराइल पुग्दा १२ लाख रूपैयाँ खर्च भयो।
'भारतमा चार दिन बस्ने, खाने र जहाज भाडा महँगो भयो। यता आएपछि कमाउन सकिन्छ भनेर आँट गरेँ,' धनसेरले भने।
उनी हाल फलफूल तथा तरकारी खेतीमा काम गर्छन्। खजुर, सुन्तला र सागपात टिप्नुपर्छ, प्याकिङ गर्नुपर्छ। उनीसमेत एउटै कम्पनीमा १५ जना नेपाली छन्। श्रीलंकाली, भारतीय र थाई समेत गरेर १५० भन्दा धेरै विदेशी कामदार छन्।
धनसेर मासिक साढे एक लाख रूपैयाँ भन्दा केही बढी तलब पाउँछन्। बीमा लगायत अन्य केही सुविधा हुन्छ। खान, बस्न आफै खर्च गर्नुपर्छ। उनका अनुसार हरेक वर्ष भिसा नवीकरण हुन्छ। पाँच वर्ष काम गर्न पाइन्छ। तर श्रम स्वीकृति नहुँदा नेपाल आउन पाएका छैनन्।
'घर गएपछि यता फर्किन सकिँदैन। हामीजस्ता श्रमिकका लागि अनलाइन श्रम स्वीकृतिको व्यवस्था गरिदिए हुन्थ्यो। सामाजिक सुरक्षा कोषमा योगदान गर्न पनि सजिलो हुने थियो,' उनले भने।
युद्ध चर्केकै समयमा इसराइल पुगेका अर्का व्यक्ति हुन् धादिङका नकुल खड्का।
उनी पनि भारत हुँदै इसराइल पुगेर कृषिमा काम गर्दैछन्।
राजन र धनसेरजस्तै नकुलले पनि एक पटक इसराइल पुगेर काम गरिसकेका हुन्। फर्केर धादिङमै कुखुरापालन गर्दै थिए।
'सात लाख रूपैयाँ लगानी गरेर कुखुरा फार्म चलाएको थिएँ। व्यापार भएन। गाउँमा गएको पैसा उठेन। घाटा भइरहेको थियो। फेरि इसराइल जान पाउने थाहा पाएर आएँ,' उनले भने।
उनका अनुसार काम राम्रो छ, तलब पनि राम्रो छ। भेदभाव छैन। त्यसैले आफूहरूले श्रम स्वीकृति पाउनुपर्ने उनले पनि माग गरे।
पर्यटक भिसामा इसराइल पुगेर काम गरिरहेका व्यक्तिले श्रम स्वीकृति पाउँछन् कि पाउँदैनन् भनेर हामीले वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीलाई सोधेका छौं।
उनले सन् २०२४ भित्र विभिन्न मुलुकमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृतिको दायरामा ल्याउने प्रक्रिया सुरू भएको बताए।
'हामीले ओमानबाट सुरू गरेका छौं। यो कार्यक्रम इसराइलमा पनि छिट्टै पुग्छ,' महानिर्देशक खत्रीले भने।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com