पर्यटक भिसामा इसराइल आएका धेरै नेपाली हाल कामदारका रूपमा छन्। हमास र इसराइलबीच युद्ध चर्किएका बेला कामदार अभाव भएको थियो। इसराइल सरकारले त्यही बेला पर्यटक भिसाका व्यक्तिलाई वर्किङ भिसाको अवसर दिएको थियो।
नेपालीहरू भारत, श्रीलंका, थाइल्यान्ड, लगायत मुलुक हुँदै पर्यटक भिसामा इसराइल आएका थिए। त्यसरी आएका तीन सय हाराहारी नेपाली अहिले कृषि क्षेत्रमा कार्यरत छन्। यस्ता धेरैजसो नेपालीले निकै राम्रो अवसर पाएका छन्।
पर्यटक भिसामा इसराइल आएका नेपालीहरूले पहिलो पटक वर्किङ भिसाको अवसर पाएका हुन्। उनीहरूको हैसियत वैधानिक छ।
इसराइलमा स्वदेशी र आप्रवासी बीच तलब-सुविधामा भेदभाव छैन। सामान्यतया एक जना नेपालीले मासिक दुई लाख ५० हजार रूपैयाँसम्म कमाइ गर्न सक्छ।
इसराइलमा भारत, बंगलादेश, फिलिपिन्स लगायत थुप्रै मुलुकका कामदार छन्। नेपाली कामदार इसराइली रोजगारदाताको रोजाइमा पर्छन्। नेपाली कामदार मेहनती र इमानदार हुन्छन् भन्ने उनीहरूको विश्वास छ।
यही विश्वासका कारण नेपालीहरूले केयरगिभर काममा बढी अवसर पाउँछन्। केयरगिभर काम संवेदनशील मानिन्छ। कृषि र अन्य क्षेत्रमा पनि नेपालीका लागि राम्रो अवसर छ।
नेपाल सरकारले केयरगिभरमा मात्र कामदार पठाउने सम्झौता गरेको छ। हामीले नेपाल सरकारलाई अन्य क्षेत्रमा पनि पठाउने गरी सम्झौता गर्न झक्झक्याइरहेका छौं तर सरकारले धेरै चासो दिएको छैन।
नेपालले केयरगिभर जस्तै कृषि र अन्य क्षेत्रमा कामदार पठाउन सम्झौता गर्न सक्छ।
एउटा खास समयमा पर्यटक भिसामा इसराइल आएका नेपालीले कृषिमा काम गर्ने अवसर पाए तर अहिले त्यस्तो अवसर छैन। यसमा इसराइल सरकारले रोक लगाइसकेको छ। सरकारले सम्झौता गरेर कामदार भिसामै पठाउँदा नेपालीलाई फाइदा हुन्छ।
इसराइलमा युद्ध चर्केको समयमा पनि सुरक्षामा धेरै डराउनुपर्ने अवस्था थिएन। यहाँ नेपाली वा अन्य जुनसुकै मुलुकका कामदारका लागि पनि जोखिम थिएन। इसराइली नागरिकले पाउने बराबरको सुरक्षा आप्रवासीले पनि पाउँछन्।
यही कारणले युद्धकै समयमा पनि नेपालीहरू आए। कामदारको संकट परेका कारण पर्यटक भिसामा आएकाले पनि रोजगारीको अवसर पाए।
पर्यटक भिसामा आएर वैधानिक हैसियतमा रहेर काम गरेको भए पनि नेपाल फर्किन झन्झटिलो प्रावधान झेल्नुपर्छ। यसमा सहजीकरणका लागि नेपाल सरकारले छिटोभन्दा छिटो अनलाइन श्रम स्वीकृतिको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।
(प्रवासी नेपाली मञ्च, इसराइलका उपाध्यक्ष रहेका खड्का सन् २०१८ मा इसराइल गएका हुन्। पाइलट प्रोजेक्टका रूपमा केयरगिभर काममा गएका उनी निरन्तर त्यसमै छन्।)
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com