ग्लोबल नेपाली
बागलुङका राज रेग्मी स्नातक तह पढ्दै गर्दा सन् २००३ मा २४ वर्षको उमेरमा कामदार भिसामा कतार गए।
उनी नोकिया फोनको डिलरमा-सेल्सम्यान भए। सन् २००६ मा उनी सेल्स-मेनेजर बने।
द्रुत गतिमा अघि बढिरहेको कतारमा उनलाई आफ्नै व्यवसाय गर्न मन लाग्यो। त्यो समयमा एउटा कम्पनीबाट अर्को कम्पनीमा सर्न सजिलो थिएन। सेल्स-मेनेजर बनेकै वर्ष स्वदेश फर्के। रोकिएको पढाइ पूरा गरे।
तीन वर्षपछि सन् २००९ मा फेरि कतार गए। त्यही वर्ष फिदियास प्रोजेक्ट्स एन्ड कन्स्ट्रक्सन नामको कम्पनी दर्ता गरेर पूर्वाधारका क्षेत्रमा काम सुरू गरे।
उनको कम्पनीले पहिलो काम कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार आयोजनामा पायो। आयोजना करिब १२ अर्ब अमेरिकी डलरको थियो। राज मुख्य कन्ट्र्याक्टर (ठेकेदार) थिएनन्। उनले सब-कन्ट्र्याक्टरका रूपमा एउटा प्याकेज पाएका थिए।
विमानस्थलको कामले राजको कम्पनी चिनायो। त्यसपछि स-साना ठानिने काम सोझै पाउन थाले। सन् २०१३ मा सुरू भएको कतार रेल कन्स्ट्रक्सनमा पनि उनको कम्पनीले काम पायो।
उनले कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा पनि काम गरे। कतारमा सन् २०२२ मा बाइसौं विश्वकप भएको थियो।
आजसम्म आइपुग्दा साना र मध्यमस्तरका पूर्वाधार आयोजनामा उनको कम्पनी नै मुख्य कन्ट्र्याक्टर हुने गरेको छ। अलिक ठूला आयोजनामा सब-कन्ट्र्याक्टर भएर काम गर्ने गरेको छ।
'नेपालीहरूले काम गर्ने सिभिल कन्स्ट्रक्सनमै हो। मैले पनि त्यसमै काम गरेको हो। कतारका धेरै परियोजनामा मेरो कम्पनी जोडिएको छ,' उनले भने।
उनले कतारको ग्यास प्लान्ट लगायत ऊर्जा क्षेत्रमा सिभिल कन्स्ट्रक्सनको काम गरेका छन्। पूर्वाधारको क्षेत्रमा काम कम हुन थालेपछि उनले फ्यासिलिटी म्यानेजमेन्ट सर्भिस पनि सुरू गरेका छन्। यसअन्तर्गत इलेक्ट्रिक, प्लम्बिङ, हाउस किपिङ, क्लिनिङ लगायतको काम हुन्छ।
'सन् २०२२ को विश्वकप भन्दा अगाडि आफ्नो र आउट सोर्सिङ गरेर ६ हजार जनाभन्दा धेरैले काम गर्थे। विश्वकपपछि मसँग लगभग २५-२६ सय कामदार छन्,' उनी भन्छन्, '७५ प्रतिशत कामदार नेपाली छन्। नेपालीलाई रोजगारी दिँदा छुट्टै आत्मसन्तुष्टि हुन्छ।'
कतारले गरेको द्रूत विकासले उनलाई लोभ्याएको छ। उनले सन् २००३ को र अहिलेको कतारमा आकाश-पाताल परिवर्तन देखेका छन्।
बलियो इच्छाशक्तिका साथ काम गर्ने हो भने देश बन्न धेरै समय नलाग्ने उनको निष्कर्ष छ। कतार हेरेरै उनी यस्तो निष्कर्षमा पुगेका हुन्।
मध्यपूर्वका देशहरूमा नेपालीहरूले निकै राम्रो प्रगति गरेका छन्, रोजगारी सिर्जना गरेका छन्। यसको एउटा बलियो दृष्टान्त उनी आफै पनि हुन्। मध्यपूर्वलाई श्रम गन्तव्यका रूपमा मात्र नभई अवसरका रूपमा पनि हेर्नुपर्ने उनको धारणा छ।
'मध्यपूर्वमा नेपालीहरू स-सानादेखि निकै ठूला व्यवसायमा संलग्न छन्,' उनी भन्छन्, 'कपितय साथीहरूले नेपालको मिनरल वाटर र हरियो तरकारी पुर्याएका छन्। क श्रेणीका कन्स्ट्रक्सन कम्पनीमा निर्णायक तहमा नेपाली इन्जियनियरहरू छन्।'
उनका अनुसार कतारमा मात्रै दुई हजार हाराहारीमा नेपाली इन्जिनियर छन्। नेपाली इन्जिनियरहरू एसोसिएसन समेत बनेको छ। कन्स्ट्रक्सन कम्पनी चलाउनेहरूको संगठनमा ८५ जना नेपाली इन्जिनियर आबद्ध छन्।
काम र व्यवसायका लागि मध्यपूर्वसहित एसियाली देशहरूमा जाने नेपालीहरूप्रति नेपालभित्र विभेदकारी दृष्टिकोण रहेको उनको भनाइ छ। खासगरी उनले नेपालको विमानस्थलमा ठूलो विभेद देखेका छन्।
'मध्यपूर्वमा काम गर्ने मजदुर र व्यवसायीले पठाएको रेमिटेन्सले देश धानेको छ तर नेपालभित्र विभेदकारी दृष्टिकोण छ,' उनी भन्छन्, 'यस्तो विभेद अन्त्य हुन जरूरी छ।'
राज गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष समेत हुन्। नेपालमा निकै ठूलो सम्भावना भएर पनि विदेशमा रहेका नेपालीले चाहेजस्तो काम गर्न नसकेको उनको ठहर छ। उनी डायस्पोरामा रहेका नेपालीलाई एकत्रित गरेर कुनै ठोस काम गर्ने सोचाइमा छन्।
'विदेश गएपछि देशको माया धेरै हुने रहेछ। यहाँ (स्वदेशमा) हुँदा आफ्नै त हो नि जस्तो लाग्छ,' उनी भन्छन्, 'विदेशमा हुँदा त देश राम्रो भइदियो भने कुनै दिन आफ्नै देशमा गएर काम गर्न सकिन्थ्यो भन्ने लाग्ने रहेछ।'
आफूले नेपालमा क्लिनिङ र हस्पिटालिटी क्षेत्रमा संयुक्त लगानीमा काम सुरू गरेको उनले बताए। नेपालमा लगानी गरे पनि प्रतिफल अनिश्चित रहेको उनको अनुभव छ।
उनका अनुसार नेपालमा भन्दा कतारमा लगानी गर्न धेरै सजिलो छ।
'कतारमा आज कम्पनी दर्ता गरेर भोलि नै काम सुरू गर्न सकिन्छ। व्यवसायीले चाहने पनि यही हो। नेपालमा कम्पनी खोल्न नै झन्झटिलो प्रक्रिया छ,' उनी भन्छन्, 'यहाँ (नेपालमा) लाइसेन्स लिन मात्रै दुई-तीन महिना धाउनुपर्छ। भनसुन चाहिन्छ। यस्तो प्रक्रिया सुधार्न जरूरी छ।'
एनआरएनएमा केही विवाद रहे पनि अन्तरविरोध समाधान गर्दै साझा अभियानमा सबै लाग्नुपर्ने उनको धारणा छ। एनआरएनए ८४ वटाभन्दा धेरै देशमा पुगिसकेको छ तर केही मतभेदले अलमल गराएको छ।
'केही साथीहरूको अहमले पनि संस्थामा अन्तर्विरोध भएको हो। एनआरएनए अभियानमा साथ दिने हो भने हामी नमिलीकन उपाय छैन,' राज भन्छन्, 'अहिले पनि फरकफरक टिमका साथीहरू कार्यसमितिमा छौं। अधिवेशन गरेर सबै एक ठाउँमा हुनुपर्छ। विधान संशोधन गरेर कमजोरीहरू सुधार्न सकिन्छ।'
अब सबै एकजुट भएर बाह्रौं अधिवशेनलाई एकताको अधिवेशन बनाउन उनको आह्वान छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com