ग्लोबल नेपाली
अठार वर्षअघि दुबईमा पहिलो रात भविन्द्र कटवालले बडो मुस्किलले कटाए।
जीवन सहज बनाउन परदेश उडेका उनले पहिलो दिन नै ठूलो धक्का महसुस गर्नुपर्यो।
एउटा सानो कोठामा २१ जना बसेका थिए। त्यहीँ भविन्द्र थपिए। एउटै कोठामा २२ जना सुत्दा सासले नै उकुसमुकुस हुन्थ्यो।
भविन्द्र भक्कानिए। नेपालको जीवन सम्झिए। धेरै सहज लाग्यो।
'दुई तलाको खाट मैले जीवनमै पहिलोपटक त्यही कोठामा देखेँ। मलाई माथिको खाटमा सुत्न भनियो। खाट चढ्दा नचढ्दै कति बेला आँसु खसेछ,' भविन्द्रले हामीसँग भिडिओ कुराकानीमा भने, 'कुन ठाउँमा आइपुगेँ भनेर तीन महिनासम्म राम्ररी निदाउन सकिनँ। मन भरिएर रून मात्र मन लाग्थ्यो।'
भविन्द्र घर सम्झिन्थे। तर परिवार र बाध्यता सम्झिएर फर्किहाल्न सक्थेनन्।
झन्डै दुई दशकअघि भविन्द्र आफ्नो गाउँ सुनसरी, रामधुनीबाट पढाइको सिलसिलामा काठमाडौं आएका थिए। काठमाडौंमा एमबिएस (व्यवस्थापन विषयमा स्नातकोत्तर) पूरा गरे। पढाइ सकेर कामको खोजीमा थिए, देशमा आन्दोलन चर्कियो।
घरगाउँ फर्केर स्कुलमा पढाउने सोच भए पनि स्थिति डरलाग्दो थियो। परिवारजन पनि भविन्द्र सहरतिरै बसून् भन्ने चाहन्थे। यता सहरमा उनले भनेजस्तो काम पाएका थिएनन्।
'एक ठाउँमा बल्लतल्ल पढाउने काम पाएको थिएँ तर तलब निकै कम थियो। एक्लै गुजारा गर्न पनि नपुग्ने। यस्तोमा पारिवारिक जिम्मेवारी कसरी निर्वाह गर्ने भनेर म आत्तिएको थिएँ,' उनले भने।
भविन्द्र परिवारका जेठा सन्तान थिए। उनका भाइ त्यति बेला इन्जिनियरिङ र बहिनी सिए (चार्टर्ड एकाउन्टेन्ट) पढ्दै थिए। परिवारलाई आर्थिक सहायता पुर्याउन उनले विदेश जाने सोच बनाए।
'नेपालमै सरकारी जागिर खान्छु भन्ने लाग्थ्यो। समयले उता पुर्याइदियो। विदेश जान मन नभई नभई जानुपर्दा खुब मन रोएको थियो,' उनले भने।
धेरै खर्च नलाग्ने देश खोज्दै जाँदा उनले दुबई रोजे। त्यहाँ अकाउन्टेन्टका लागि एउटा कम्पनीमा आवेदन खुलेको थियो। अन्तर्वार्ता दिए। छनोट पनि भए।
सन् २००६ अक्टोबरमा भविन्द्र दुबई उडे। तर उनले सोचेजस्तो भएन।
'तलब १६०० युएई दिराम (त्यो बेलाको करिब ३० हजार नेपाली रूपैयाँ) भएकाले गएको थिएँ। तर खाने र बस्ने आफै गर्नुपर्थ्यो। त्यहाँको दैनिकीसँग घुलमिल हुन पनि गाह्रो थियो,' उनले भने, '२२ जना एउटै कोठामा बस्न गाह्रो त थियो नै, खाना पकाउने ठाउँ कोठाभन्दा बाहिर थियो। चर्को घाममा पसिना चुहाउँदै पकाउनु पर्थ्यो।'
दुःख भए पनि बिस्तारै भविन्द्रले कम्पनीका मानिससँग राम्रो सम्बन्ध विस्तार गरे। कम्पनीले भनेको काम मेहनतपूर्वक गरे। उनको मेहनत र लगाव देखेर तीन महिनामै कम्पनीले एकैपटक चार सय दिराम तलब बढाइदियो।
यसले उनको हौसला बढाइदियो। उनले नयाँ प्रविधि र नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्दै कसरी काम गर्ने भनेर योजना बनाउन थाले। सोही अनुसार सिक्दै काम गरे। दुबई गएको दुई वर्षमै उनी मासिक चार हजार दिराम कमाउन थाले। दैनिकी राम्रो बन्दै गयो।
केही समयपछि उनले इमार नामको अर्को कम्पनीमा काम पाए। यसमा अझ धेरै तलब र सेवासुविधा थियो। दुबईमा ठुल्ठूला आवासीय र व्यापारिक मलहरू बनाउने सो कम्पनीमा उनले व्यवस्थापनको काम हेरे। त्यहाँ वर्षदिन काम गरेपछि बिदा लिएर नेपाल आए।
'फर्केका बेला घरजम गरेँ। केही समयपछि परिवारलाई पनि दुबई लिएर गएँ,' उनले सुनाए।
एक वर्षपछि त्यो कम्पनीमा पनि भविन्द्रको बढुवा भयो। सबै राम्रै चलिरहेको थियो। उनकी श्रीमतीलाई भने दुबई बस्न मन लागेन र नेपाल फर्किइन्। भविन्द्र पनि सन् २०१० मा दुबईबाट फर्के। त्यसपछि कतार गए।
कतार पुगे पनि उनको मुख्यालय दुबईमै थियो। उनी कतार-दुबई बसेर काम गरिरहे।
तर सो कम्पनीमा पनि उनी लामो समय बसेनन्। ६ महिनापछि आबुधावीमा पार्किङ व्यवस्थापन गर्ने कम्पनीमा काम पाए। उनको मासिक तलब १५ हजार दिराम नाघिसकेको थियो।
त्यहाँ अढाइ वर्ष काम गरेपछि, सन् २०१४ मा उनी आबुधाबीकै अल्दार प्रपर्टिज नामक कम्पनीमा जोडिए। त्यो कम्पनी आबुधाबीकै ठूलोमध्येको डेभलपर कम्पनी हो। सन् २०२१ सम्म उनले त्यहीँ काम गरे।
यसपछि अझ राम्रो अवसर आएपछि उनी बहराइन गए।
'कहिले दुबई, कहिले कतार गर्दै अहिले बहराइन आएको छु। यो मैले काम गरिरहेको छैटौं कम्पनी हो,' उनले भने।
अहिले भविन्द्र एक प्रपर्टी डेभलपर कम्पनीको वित्तीय व्यवस्थापक भएर काम गरिरहेका छन्। उनले काम गर्ने कम्पनीले होटल, रेसिडेन्सियल अपार्टमेन्ट र सपिङ मलहरू बनाउँछ। भविन्द्र मलहरूको व्यवस्थापन हेर्छन्। उनका अनुसार बहराइनको ठूलोमध्येको यो कम्पनीले ठुल्ठूला आयोजना चलाउँछ। बहराइनका धेरैजसो अग्ला भवन यसैले बनाएको हो।
यसरी १८ वर्षदेखि विभिन्न खाडी मुलुकमा काम गरिरहेका भविन्द्र अहिले वार्षिक डेढ करोड रूपैयाँभन्दा बढी कमाइ गर्छन्। उनको परिवार; श्रीमती, एक छोरा र एक छोरी बहराइनमै छन्। श्रीमतीको साथ र सहयोगले बहराइनमा समय व्यवस्थापन गर्न धेरै सहज भएको उनी बताउँछन्। बिदाको मेसो मिलाएर परिवारै घुमफिरमा निस्किन्छन्।
'मैले जति प्रगति गरे, म जहाँ छु, यहाँ पुग्छु भन्ने कहिल्यै लाग्थेन। दुबईका सुरूआती दिन सम्झिँदा अझै झसंग हुन्छु। तर आजका दिनले सबै बिर्साउँदैछ,' उनले भने।
भविन्द्रका अनुसार आफूसँग सीप र क्षमता छ भने विदेश बसाइ सहज नै हुन्छ। नभए धेरै खट्नु र अनावश्यक परिश्रम गर्नुपर्ने हुन्छ।
वैदेशिक रोजगारीमा जाने धेरैलाई कम्पनी परिवर्तन गर्न पाइन्छ भन्ने जानकारी नहुँदा पनि दुःख भइरहन्छ। आफूलाई चित्तबुझ्दो पारिश्रमिक र सेवासुविधा भएका ठाउँ हेरेर परिवर्तन गर्न सकिन्छ। यो कुरा थाहा पाउन भविन्द्रलाई पनि एक वर्ष लागेको थियो। विदेशस्थित नेपाली राजदूतावास र संघ-संस्थासँग मार्गदर्शन लिने हो भने पनि नेपालीहरूले कष्टपूर्ण जीवन बिताउन नपर्ने उनी बताउँछन्।
'नेपाली श्रमिकहरू सेक्युरिटी गार्ड, चालक र घरेलु कामदार मात्र हुन्छन् भन्ने परिभाषा बिस्तारै परिवर्तन हुँदैछ,' उनले भने, 'मैले १८ वर्षमा जति प्रगति गरेँ, अन्य मुलुकका श्रमिकले ८/९ वर्षमै गर्दा रहेछन्। अब नेपालीहरूले यति पर्खिनु नपरोस् भन्ने लाग्छ।'
रूचिको क्षेत्र पहिल्याएर, मेहनत र क्षमता अभिवृद्धि गरे प्रगति हुँदै जाने उनको भनाइ छ।
भविन्द्र नेपाल आउने-जाने गरिरहन्छन्। सुनसरी मूलघर भएका उनले काठमाडौंमा पनि घर र जमिन किनेका छन्। तर अहिल्यै नेपाल फर्किहाल्ने सोच छैन।
नेपाल आएका बेला उनले यहाँ काम खोजेका थिए। तर न आफ्नो सीप र अनुभव अनुसार भनेजस्तो काम मिल्यो, न विदेशको जस्तो कमाइ हुने देखियो। केही व्यवसाय गरिहाल्न पनि हिम्मत आएन।
त्यसैले उनी भन्छन्, 'छोराछोरीको पढाइ हुन्जेल बहराइन वा मध्यपूर्वी देशमै काम गर्ने हो। सानो बच्चाको ग्र्याजुएसन भएपछि फर्किने सोच छ।'
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)