ग्लोबल नेपाली
सक्षम बन, सफलता तिम्रो पछि लाग्नेछ — यो भनाइ झापाको बिर्तामोडका सुदर्शन रोकाको जीवनमा ठ्याक्कै मेल खायो।
सन् २०१२ जनवरी २२ मा उनी व्यावसायिक भिसा कतार उडेका थिए। कामदार भिसा बनाएर त्यहीँ काम गर्ने सोच उनको थियो।
'त्यस बेला कतारमा एउटा कम्पनी हुन्थ्यो। त्यो कम्पनीले कामदार भिसा बेच्ने रहेछ। तर काम चाहिँ त्यो कम्पनीले दिन्थेन। आफै खोजेर गर्नुपर्ने,' उनले भने।
व्यावसायिक भिसालाई कामदार भिसामा बदलेर सुदर्शन कामको खोजीमा लागि परे। तीन-चार महिना भौंतारिँदा पनि चित्तबुझ्दो मिलिरहेको थिएन। बल्लतल्ल चिनजानका एकजना दाइमार्फत एक ठाउँमा काम भेटे।
काम थियो फूल, बुके, सजावट तथा विभिन्न प्रकारका रूखबिरूवा बिक्री केन्द्रमा।
काम गर्ने ठाउँ चिस्यान केन्द्र थियो।
त्यहाँ पाँचदेखि १० डिग्री सेल्सियस तापक्रम हुन्थ्यो। करिब ३० लिटरका ठूलाठूला बाल्टिन हुन्थे। त्यसको २० देखि ३० प्रतिशत पानी बाल्टिनमा हाल्नुपर्थ्यो। बाहिरबाट ल्याइएका फूलको डाँठ काटेर, आलो बनाएर पानीमा डुबाउनुपर्थ्यो। अनि कुलिङमा राख्नुपर्थ्यो। बिरूवा मरेको छ कि छैन भन्ने जाँच गर्नुपर्थ्यो। बाल्टिनहरू माझ्ने, झाडुपोछा लगाउने काम पनि उनको जिम्मामा थियो।
'नेपाल छँदा शिक्षण पेसामा थिएँ। अंग्रेजी भाषामा एउटा पत्रिका पनि निकालेको थिएँ। झाडुपोछाको काम त मेरा लागि बिल्कुल नयाँ थियो,' सुदर्शनले भने, 'तर म जे काम भए पनि गर्छु भनेर तयार भएरै गएको थिएँ। त्यसैले कुनै हिनताबोध भएन।'
'यहाँ पनि काम गर्दै हुनुहुँदो रहेछ, विदेश जाने अवस्था कसरी आयो त?' हामीले सोध्यौं।
उनले विगत सम्झिँदै कतारबाटै हामीलाई छोटकरीमा आफ्नो बेथा सुनाए, 'आर्थिक संकटकै कारण आएको हो। नेपालको जागिर भनौं वा व्यवसाय, दिगो हुँदैन थियो। अझ त्यस बेला त म स्नातकोत्तर पढ्न झापाबाट काठमाडौं छिरेको थिएँ। बाहिरको मान्छेलाई काठमाडौंमा टिक्न गाह्रो हुन्थ्यो। विकल्प भनेकै विदेश भयो। थोरै लगानीमा सुरक्षित जीवन हुन्छ कि भन्ने सोचेँ। बाहिरी संसार कस्तो रहेछ, त्यो बुझ्नुपर्यो भनेर पनि म यता आइपुगेँ।'
कतारमा उनले खुब मेहनत गरेर काम गरे। त्यो बेला पनि लेख लेखेर नेपाली पत्रिकाहरूमा पठाउँथे। छापिन्थे पनि। पढ्न औधि रूचि भएकाले काम गर्ने ठाउँमा फूल पोको पारेका पत्रिका जम्मा गरेर राख्थे। खाली समय हुँदा एक कुनामा बसेर पढ्थे।
'गाली गर्ने हुन् कि भनेर म सकेसम्म साहुहरूले नदेख्ने गरी पढ्थेँ। काम गरेको लगभग चार महिना भएको थियो। एक दिन साहु आतेजाते गर्दा मलाई याद गरेछन्। यो किन कागजहरू लिएर बस्छ भनेर म्यानेजरलाई सोधेछन्। अनि मलाई बोलाएर मेराबारेमा सोधखोज गरे। मैले पनि यति पढेको छु, यस्तो यस्तो अनुभव छ भनेर सबै कुरा बताएँ,' सुदर्शनले भने।
उनले आफू नेपालमा हुँदा गरेका कामहरूको फेहरिस्त सुनाए। अनि, भोलिपल्टदेखि त उनले झाडुपोछा लगाउनुपरेन। व्यवस्थापनको जिम्मेवारी पाए। तलब पनि बढ्यो।
सुरूमा ९० हजार रूपैयाँ (अहिलेको विनिमयदर अनुसार) तलब पाइरहेका उनले त्यसपछि एक लाख रूपैयाँभन्दा बढी पाए। कम्पनीले गाडी दियो, स्वास्थ्य बीमाको व्यवस्था भयो। बस्ने व्यवस्था पनि कम्पनीले नै गरेको थियो। घुमफिर गर्ने, किनमेलबाहेक सबै खर्च कम्पनीले बेहोरिदिन्थ्यो।
'मैले एकदमै राम्रो काम र कमाइ गरेँ। पदोन्नति भएको एक वर्षसम्म काम गरेँ। अनि सन् २०१३ अन्तिममा बिदामा घर गएर बिहे गरेँ,' उनले सुनाए।
बिहेपछि उनी सोही कम्पनीमा फर्किए। केही समयपछि कम्पनीले उनलाई गोदाम (वेयर हाउस) भण्डारण विभाग हेर्ने जिम्मेवारी दियो।
ठूलो गोदाममा आधुनिक तरिकाले सामान स्टोर गर्ने र त्यसको प्राविधिक पक्षमा काम गर्नुपर्थ्यो। सुदर्शन त्यसका लागि नयाँ थिए। तर पनि गर्छु भनेर लागे।
'हाकिमले यसबारे जानेका सिनियरलाई मलाई ६ महिनासम्म काम सिकाउन भनेका थिए। मैले तीन महिनामा सिकेँ,' सुदर्शनले सुनाए।
तोकेभन्दा अगाडि नै काम सकेपछि सुदर्शनको हिम्मत अझै बढ्यो। उनले मुख्यालयमा इमेल गरे — अब मलाई गाइड गर्ने मान्छे चाहिँदैन। आफै सम्हाल्न सक्छु। बरू सहयोगी कामदार दिनुहोला।
हाकिमले पनि उनको आत्मविश्वास देखेर विश्वास गरे। अनि सन् २०१४ को एक दिन उनले गोदाम सम्हाल्ने जिम्मेवारी पाए। त्यो बेला संयोग कस्तो भयो भने, त्यही दिन श्रीमती उनी भएको ठाउँ दोहा पुगिन्। उनको जीवनमा एकै दिन दोब्बर खुसी छायो।
अहिलेसम्म सुदर्शन सोही कम्पनीको वेयर हाउस सम्हालिरहेका छन्। उनी काम गर्ने कम्पनीले इटाली, दक्षिण अफ्रिका लगायत विश्वका २० भन्दा धेरै देशबाट फूलबिरूवा आयात गरेर कतारमा बेच्छ। बेकरी परिकार पनि बिक्री गर्छ। त्यस्तै ठूलाठूला सपिङ कम्प्लेक्स, मलहरूमा फूल तथा बिरूवालाई बगैंचा जसरी सजाउने काम पनि उनीहरू गर्छन्।
बिहे वा कुनै समारोहमा बजेट अनुसार कस्तो डिजाइनको फूलबिरूवा चाहिन्छ, त्यो पनि उनीहरूको कम्पनीले उपलब्ध गराउँछ। त्यस्तै वृक्षरोपण गर्नेदेखि स्थानीयका घरमा बगैंचा बनाउने काम गर्छ।
उनका अनुसार कतारमा फूलबिरूवा विलासी वस्तु जस्तै हुन्छन्। घरभित्र सजाउने बिरूवाहरू पाँच सयदेखि ४० हजार रूपैयाँसम्म पर्छन्। घरबाहिर रोप्ने भने एउटालाई डेढ करोडसम्म पर्छन्।
कतारमा बिरूवा सम्बन्धी चिकित्सकहरू पनि हुन्छन्। उनीहरूले बिरूवा एकदमै मेहनत गरेर हुर्काउने उनले बताए।
'यहाँ हरेक रूखका प्रोफेसनल डाक्टर छन्। उनीहरूले त्यो रूखको पात पनि स्वाभाविक रङभन्दा तल झर्न दिँदैनन्। एकदमै स्याहार गरेर राखिएको हुन्छ। अचम्मको व्यवसया छ,' उनले हाँस्दै सुनाए।
कम्पनीको कामको कुरा बिट मार्दै उनी आफ्नै कथामा फर्किए।
काम गर्दै जाँदा उनको तलब बढेर अहिले सबै खर्च कटाएर दुई लाख रूपैयाँ बचत हुने उनले बताए। कम्पनीले बस्न अपार्टमेन्ट दिएको छ। व्यक्तिगत कार दिएको छ, इन्धन र मर्मतसम्भार खर्च पनि दिन्छ।
'दोहाको बसाइ साह्रै राम्रो भएको छ,' उनले भने, 'कमाउन त मान्छेलाई जति भए पनि पुग्दैन। तर सन्तुष्ट छु। म विदेश जाँदा जस्ताको तीनकोठे सानो घर थियो। अहिले १२ कोठाको अढाइ तले कम्पाउन्डसहितको पक्की घर बनाएको छु। जमिन जोडेँ। केही सेयरमा लगानी छ। बचत पनि राम्रै छ।'
सुदर्शन त्यहाँबाट घुम्न भनेर फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्जिया लगायत थुप्रै मुलुक पुगिसके।
केही समयअघि मात्रै उनलाई आफै गाडी चलाएर साउदी अरब र बहराइन जान मन थियो। साथीसँग १२ घन्टा ड्राइभमा साउदी पुगे। अनि बहराइन पनि गए।
उनका अनुसार कतारमा काम गर्ने आप्रवासीलाई घुमफिरमा रोकतोक छैन।
'नियम, कानुन उल्लंघन गर्न, कसैको विश्वासमा घात गर्न भएन, अरू कुरामा एकदमै राम्रो छ,' उनले भने।
सुदर्शनलाई नेपाल आउन बेलाबेला बिदा मिलिरहन्छ। परिवारका सदस्यको पनि कतार आउने जाने चलिरहन्छ। उनले आमा, बुबा, श्रीमती र बहिनीलाई कतार घुमाइसकेका छन्।
'मलाई जिन्दगीमा सबैभन्दा खुसी मिलेको भनेको बहिनीलाई घुमाउन पाउँदा हो। सडक दुर्घटनामा परेर बहिनीको एउटा खुट्टा चल्दैन। घाउ भइरहेको हुन्छ। विदेश भ्रमण गर्नु उनका लागि गाह्रो थियो नि। मैले घुमाइदिएँ। त्यो चाहिँ जिन्दगीको सबभन्दा खुसी र पूण्य काम गरेजस्तो लाग्छ,' सुदर्शनले सुनाए।
उनले थपे, 'बोस (हाकिम) ले पनि मेरो परिवारका सदस्यलाई घुमाइदिए। बोसप्रति म निकै आभारी छु। यो धर्तीमा त्यस्तो राम्रो दिल भएका पनि मान्छे हुँदा रहेछन्। हाम्रो मुख्य बोस नेदरल्यान्ड्सका हुन्। ७६ वर्षका भए पनि एकदमै सक्रिय छन्।'
कामको सिलसिलामा विभिन्न देश पुगिसकेका र थुप्रै अनुभव लिएका सुदर्शनलाई सबभन्दा खुसी लागेको चाहिँ कतारमा सन् २०२२ मा भएको विश्वकपमा स्वयंसेवकका रूपमा खट्न पाउँदा हो।
उनका अनुसार स्वयंसेवकका लागि विश्वभरबाट लाखौंले आवेदन दिएका थिए। ३० हजारले मौका पाए। त्यसमा उनी पनि परे।
'मैले १३ वटा म्याचमा स्वयंसेवा गर्ने मौका पाएँ। विश्वभरका मान्छेसँग कुरा गर्न पाएँ। बच्चा बेलादेखि स्क्रिनमा देखेका खेलाडीसँग हातले छोएर अँगालो मारेर फोटो खिच्ने अवसर पाएँ। फिफाका अधिकारी र कतारी राजाले हस्ताक्षर गरेको कदरपत्र पाएँ। मैले जिन्दगीमा यहाँभन्दा ठूलो उपलब्धि पाउँदिनँ होला सायद,' उनले भने।
त्यहाँ तालिम लिन, खट्न निकै समय दिनुपरे पनि उनले काम गर्ने कम्पनीले रोकेन। पाँच बजे साँझ अफिस सेकर उनी उता जान्थे। कहिलेकाहीँ तीन बजेतिर पनि निस्किए। तैपनि अफिसले रोकतोक नगरेको उनले बताए।
सन् २०२२ को विश्वकप सकिएलगत्तै उनले नेपाल फर्किने योजना बनाएका थिए। तर राम्रो चलिरहेका बेला, चटक्क छाडेर आउने अवस्था बनिनसकेको उनले बताए।
'मन त नेपालै बसेर केही गरूँ भन्ने छ नि। तर केही गर्न अभ्यस्त भएको छुइनँ। बाटोदेखि सरकारी कार्यालयसम्म सास्ती छ,' उनले भने, 'तर परिवारसँगै बस्न मन भइहाल्छ।'
उनको परिवारमा आमा, बुबा, श्रीमती, दुई दिदीबहिनी, एक छोरी र एक छोरा छन्। दिदीबहिनी र श्रीमती आत्मनिर्भर छन्। गाउँकै विद्यालयमा पढाउँछन्। सुदर्शन पनि फर्केर आफै केही गर्न चाहन्छन्।