कोरियामा एकपछि अर्को मृत्युको शृंखला ,फेरि अर्का नेपाली मृत फेला


रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक मानिएको दक्षिण कोरियामा इपिएस मार्फत आउने नेपालीको संख्या बढेसँगै दुर्घटना, आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ। पछिल्लो  १० दिनको  अवधिमा कार्यस्थल दुर्घटना, आत्महत्या लगायतका कारणबाट ३ जना  नेपालीले ज्यान गुमाएका छन् ।

करिब १० दिन पहिला धादिङका मङ्ग तामांङको  बंगुर फार्ममा काम गर्दा गर्दै एक्कासी अनौठो रोगको कारणले मृत्यु भएको ७ दिनमै गुल्मीका बिष्णु  प्रसाद घिमिरेको कार्यस्थल दुर्घटनामा निधन भएको थियो।

उक्त घटनाको तेस्रो दिन अर्थात सोमबार बिहान पर्वतका केशब श्रेष्ठ कोरियाको  छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भर्‍याङमा झुन्डिएको अबस्थामा मृत फेला परे।

करिब पन्ध्र महिनाअघि रोजगारीका लागि कोरिया आएका अन्दाजी अठ्ठाइस वर्षिय श्रेष्ठको शव आज बिहान भर्‍याङमा झुन्डिएको अबस्थामा फेला परेको उनीसँगै कर्यरत नेपाली साथीहरूले बताएका छन्।

हिजो राम्रो सँग सुतेका साथी बिहान काममा जाने समयमा कोठामा  फेला नपरेपछि सँगैका साथीले बाथरुम लगायतका स्थानमा खोतलास समेत गरेका थिए।

खोज्दै जादाँ साथी भर्‍याङमा झुण्डिएको अवस्थामा फेला परेको बताए। कम्पनीको काम सजिलो र बसाई पनि सहज भएको अवस्थामा साथीले एक्कासी आत्महत्या गर्नुको कारण थाहा हुन नसकेको उनले बताए। यद्यपी उनले रुममा छाडेको सुसाइड नोटमा कम्पनीले घर विदामा जान्छु भन्दा ल्याङ ल्याङ गरेको उल्लेख गरेका छन्।

मृतकले निद्रा लाग्ने औषधि सेवन गर्दै आएको पनि उनले बताए। कम्पनी दिवा र रात्रिकालिन भए पनि उनले दिवा सिफ्टमा मात्र काम गर्दै आएको सहकर्मीले बताए। सहकर्मीका अनुसार हिजो मृतक साथीले कोरियामा किन नेपाली युवाले आत्महत्या गरेर ज्यान गुमाउँछन भनेर कुराकानी समेत गरेका थिए।

एक्कासी बिहान साथीले नै त्यस्तो गर्दा आफूहरु मर्माहत र विक्षिप्त भएको उनले बताए ।

आत्महत्याको बारेमा कोरियामै काम गर्ने उनका दाजुलाई खबर गरिएको सहकर्मीले बताए। यसैबीच सोलस्थित नेपाली राजदूतावासले पनि आत्महत्याको बारेमा कोरियन प्रहरीले खबर गरेको बताएको छ। मृतकको शव अहिले छुन्जुस्थित स्थानीय अस्पतालमा राखिएको छ। रेलको पाटपूर्जा निर्माण हुने सिबिसी नामक उक्त कम्पनीमा अन्य नौ जना नेपालीहरु कार्यरत छन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.