कोरियामा ६८ प्रतिशत भन्दा धेरै बिदेशी कामदारले दुर्घटना बिमा पाउँदैनन्


कोरियाको विशेष गरि निर्माण क्षेत्रका कम्पनीमा कार्यरत बिदेशी कामदारले कार्यस्थल दुर्घटना बिमा नपाउने गरेको खुलासा भएको छ। यहाँको राष्ट्रिय मानव अधिकार आयोगले एक अध्ययन पछि सार्बजनिक प्रतिवेदनमा निर्माण क्षेत्रका ६८ प्रतिशत भन्दा धेरै विदेशी कामदारले कार्यस्थलमा दुर्घटना भइ अंगभंग भएको अवस्थामासमेत उपचार खर्च बाहेक कुनैपनि क्षति पूर्ति नपाउने गरेको उल्लेख छ।

सरकारलाई अध्ययन प्रतिवेदन बुझाउँदै आयोगका उच्च अधिकारी लिम सुन योंगले भने, ‘कम्पनीले कामदारलाई दुर्घटना बिमाको कुनै पनि प्रक्रिया नमिलाइदिएको कारण उनीहरू क्षतिपूर्ति पाउनबाट बन्चित छन्।’

कम्पनीले यदि कामदार दुर्घटनामा पर्‍यो भने सामान्य स्वास्थ्य बिमा मार्फत  उपचार गराउने  तर, बिमा कम्पनीमा दुर्घटना भएको बारेमा कुनै पनि जानकारी नगराउने गरेको समेत प्रतिबेदनमा उल्लेख छ।

यदि कार्यस्थल दुर्घटना बढ्यो भने कम्पनीको इन्सोरेन्स प्रिमिय बढ्नुका साथै कालो सूचीमा पर्ने समेत खतरा हुने हुनाले सकेसम्म कुनै पनि दुर्घटनाको केस लुकाउने गरेको समेत बताएको छ।

कोरियामा औधोगिक सुरक्षा तथा स्वास्थ्य ऐनको धारा १० र ४ अनुसार कुनै पनि कामदार कार्यस्थल दुर्घटना परि अंगभंग वा  मृत्यु भएमा कम्पनीले १ महिना भित्र श्रम तथा रोजगार मन्त्रालयमा जानकारी गराउनुपर्ने नियम छ।

त्यस्तै क्षतिपूर्ति ऐन अनुसार यदि कामदार घाइते भै अंगभंग भएमा कम्पनीले इन्सोरेन्स मार्फत दुर्घटनाको प्रकृति हेरिकन सम्पूर्ण उपचार खर्च, तलब, आराम गर्ने समय तथा क्षतिपूर्ति समेत दिनुपर्ने हुन्छ। यसको लागि दुर्घटनामा परेको कामदार स्वमले नै इन्सोरेन्स दाबी गर्न पाइने ब्यावस्था पनि छ।

कोरियामा २०१६ सम्म २६ हजार ५ सय ७० जना विदेशी कामदार कार्यस्थल  दुर्घटना परेकोमा १७ सय ७७ जनाको मृत्यु भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ। विशेष गरी निर्माण क्षेत्रका कम्पनीले कुनै पनि सम्झौता बिना नै बिदेशी  कामदार राख्ने गरेको कारणले दुर्घटना पर्दा राम्रो उपचार समेत नपाउने समस्या बढेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.