११ वर्षपछि दुई कोरियाली प्रमुखबीच वार्ता हुँदै


उत्तर कोरिया र दक्षिण कोरियाका दुई प्रमुख नेता किम जोङ उन र  मुन जे इनबीच ११ वर्षपछि पहिलो ऐतिहासिक वार्ता आगामी अप्रिल २७ मा हुने भएको छ।

दुई कोरियाली सीमा क्षेत्रमा रहेको पान्मुन्जोम गाउँमा हुने उक्त राष्ट्र प्रमुखस्तरीय वार्तामा कोरियाली प्रायद्विपमा स्थायी शान्ति स्थापना गरि लामो समयदेखि चिसिएको दुई कोरियाबीचको सम्बन्ध सुधारलाई मुख्य जोड दिइने छ।

वार्तामा दक्षिण कोरियाकोतर्फबाट राष्ट्रपति मुन जे इन, एकता मन्त्री जो म्युंङ्ग ग्योन, शान्ति तथा एकता विभागका प्रमुख समेतको सहभागिता रहने दक्षिण कोरियाली सञ्चार माध्यमले बताएका छन्।

दुई कोरियाली प्रमुख नेतास्तरीय वार्ता हुन लागेको यो तेस्रो पटक हो। यसभन्दा अघि सन् २०००मा तत्कालिन दक्षिण कोरियाली नेता किम दे जुङ्ग र उत्तर कोरियाली नेता किम जोंङ् इल बीच प्योङयाङमा भएको थियो भने सन् २००७ मा तात्कालिन राष्ट्रपति रोह मू ह्युन तथा किम जोङ उनका बाबु किम जोङ इलबीच दोस्रो बार्ता पनि प्योङयाङमै  भएको थियो।

त्यसो त उत्तर कोरियाली नेता किमले पनि चिनियाँ भ्रमणमा रहँदा स्थायी शान्तिको लागि चीनले मध्यस्तकर्ताको भूमिका खेल्नुपर्नेमा जोड दिएको बताइन्छ।

फेब्रुअरीमा दक्षिण कोरियामा आयोजित प्योंग्चाङ्ग सितकालिन ओलम्पिक २०१८ देखि केही सुधारउन्मुख देखिएको दुई कोरियाबीचको सम्बन्ध ११ वर्ष पछि हुन लागेको उच्चस्तरीय बार्तालाइ निकै महत्वका साथ हेरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.