ठूल्दाजुलाई परदेशी भाइको चिठ्ठी


पुजनीय ठूल्दाजु

दण्डवत् प्रणाम!

आजको दिनमा प्रविधिको जति विकास भए पनि साधारण र आत्मीय तरिकाले चिठ्ठी लेख्दै गर्दा मनमा आनन्द लागेको छ। धेरै कुरा गर्न मन छ। कुरा कहाँबाट सुरू गरौँ भनेर विचार गर्दैछु।

हेर्दाहेर्दै म उत्तर अमेरिका आएको पनि २५ वर्ष नाघेछ। जीवनमा उतार चढाव र गर्नुपर्ने कर्तव्यहरू हामी सबैको जीवनमा पालैपालो आउने नै भयो। २५ वर्षअघिको त्यो परिस्थितिमा नेपालमा हजुरहरूलाई जस्तै अमेरिकामा मलाई पनि धेरै चुनौतीहरूको सामना गर्नुपर्याे।  त्यतिबेला हाम्रो परिवारको आर्थिक स्थितिको आफ्नै सीमा थियो। एक जनाले १० जनालाई हेर्नुपर्ने बाध्यता थियो। तर यस्तो विकराल स्थितिमा पनि मुख्यतया तपाइँबाट हामी सबैमा सहयोग, प्रेरणा, मेहनत र निरन्तरताको जाँगरले धेरै कुरा गर्न सकिन्छ भनेर जुन प्रेरणा प्राप्त भयो त्यसका लागि हामी सपरिवारले तपाइँलाई कोटीकोटी नमन गर्नै पर्छ।

आज पनि मलंगवाको त्यो दिन मनमा झलझल् याद आउँछ। एकदिन सुधीर र म खेल्दैखेल्दै कर अफिसको कार्यालय प्रमुख गएर बस्ने दाजुको कुर्सिमा गएर बसेछौँ। संजोग यस्तो पर्यो दाजु पनि खाना खाएर अफिस आउने हामी दुवैको चाँडो भनेर कुर्सीमा बस्ने। पुलुक्क हामी दुवैलाई हेरेर अलिक कडा मिजासमा तपाईं ले हामी दुबैजनालाई भनेको यो वाक्य अझै कान मा गुन्जिन्छ, ‘तिमीहरूले यो कुर्सीमा बस्न मिल्दैन बाबु हो, यो कुर्सीमा बस्न मिनिहेत, आचरण र एउटा स्तर चाहिन्छ।’ त्यो कुरालाई कति मनन गर्न सकियो सकिएन त्यो कुरा त्यो पलमा त्यति महत्त्वपूर्ण भएन तर अहिले देशको स्थिति हेर्दा पटकपटक त्यो विचार मनमा आउँछ– के नेपालका नेता, प्रशासक र प्रमुखहरूमा यो आचरण, मिहिनेत र इमान्दारिता छ?  छैन भने हामी नम्र तरिकाले किन विरोध गर्न सक्दैनौँ? सायद विरोध गर्ने र अरूले भनेको कुरामा असहमति देखाएर पनि सदाशयता देखाउने कुराको हामीले शिक्षा नै दिएनौँ। हामीलाई देश अरूले नै आएर बनाइदिए हुन्थ्यो भन्ने लागेको होला तर एक पटक विचार गरौँ त। म २५ वर्षअघि दिल्पा जस्तो ठाउँबाट यहाँ आएँ। अरू नेपालमा राम्रा स्कूल पढ्नेहरू अझ राम्रा ठाउँमा गए। डाक्टर, इन्जिनियर, पाइलट, वकिल, प्रशासक, प्राध्यापक र सबैजना विदेशतिरै ताक्ने र उतै बस्ने हो भने नेपालको लगानी के भयो?

मलाई यो कुराले पटकपटक पिरोल्छ। नेपाल फर्कौं सबैलाई जिउ–हजुर नगरी केही हुन्न। यता बसौँ तिमी साँच्ची कहाँबाट आएको हो? भनेर सोधेर हैरान गर्छन्।  म को हुँ ? क्यानाडियन हो भनौँ भने हामीलाई क्यानाडियन मान्न गोराहरू तयार छैनन्। नेपाली भनौँ भने यता बस्ने निर्णय गरियो।  भाषा संस्कृतिको त कुरै छोडौँ, नेपालमा त बोल्न नखोजिने भाषा यहाँ अंग्रेजी भएपछि अरू भाषा बोल्नु पर्ने बाध्यता भएन। त्यो भाषा र संस्कृति पनि बिस्तारै लोप हुँदैछ। आफ्नो रहरले समुदायमा केही गर्नुपर्छ भनेर यहाँको साप्ताहिक शनिबार बिहान आधा घण्टा प्रसारण हुने नेपाली रेडियोमा काम गर्छु। धेरै वर्षअघि रेडियो नेपालबाट प्रसारित हुने वासुदेव मुनाल दाइको बालकार्यक्रममा जाँदा लागेको रहर टोरोन्टोमा बसेर केही हदसम्म पोख्न पाएको छु। रमाइलो लाग्छ, रेडियोको कामबाट केही  विशेष सामाजिक अभियन्ता, कलाकारसँग पनि भेट हुन्छ त्यो पनि जिन्दगीको अर्को राम्रो पाटो हो। सकेसम्म रेडियोलाई निरन्तरता दिने नै छु, आफ्नो कर्तव्य सम्झेर। कर्तव्यबिनाको अधिकार र मिहिनेत बिनाको कमाइको त्यति दिगो महत्त्व नहुने रहेछ।

हजुरलाई स्मरण छ कि छैन? राजविराजमा एउटा दशैँताका हामी किनमेल गर्न सपरिवार गएको अवस्था थियो। घरमा धेरैलाई ठूलो दाजुले मात्रै किनमेल गरेको देखेपछि मेरो पालोमा मैले मलाई कट्टु र गन्जी मात्रै भए पुग्छ भन्दा राम्रै गालि पनि खाएँ। आफूलाई लाग्थ्यो विचरा! एकजनाको आम्दानीले यति धेरै मान्छेलाई कसरी धान्न सक्नु। पछि दाजुको पनि आर्थिक हैसियत राम्रो हुँदै गयो तर मैले आजसम्म बुझ्न नसकेको कुरा यो छ– संसारमा गरिब देश हाम्रो, खान लाउन नै नपाउँदा अलिकति राम्रो आर्थिक स्थितिको बारेमा विचार पनि गर्नपर्छ।  तर  दुई छाक खान पुगेपछि नैतिकता नै बिर्सेर अथाह सम्पति जोड्ने रहर हामीलाई कहाँबाट आउँछ? सायद हाम्रो सामाजिक सोच र आचरणले नै हामीलाई यस्तो गर्न प्रेरित गर्छ। अहिले पनि हिजोसम्म चप्पल लगाएर काठमाडौँ छिरेकाहरू रातारात धनी हुँदा हामी तिनैलाई ‘वाह! यसले त गज्जव गर्यो, प्रगति होस् त यस्तो’ भनेर आफ्ना परिवार र समाजमा भन्छौँ तर शिक्षामा भने व्यवहारिकता पक्कै अपनाउन खोज्दैनौँ। वास्तवमा हामीले संस्कार बिर्सिसकेका छौँ।

हाम्रा भूतपूर्व प्रधानमन्त्रीहरूलाई विदेशी अध्यागमनले हप्काउँदा पनि हामीलाई लाज लाग्दैन किनकि हामी जे पनि भनेर जे पनि गरेर पदमा पुग्न अभ्यस्त भै सकेका छौँ। विदेशी राजदूतले आफूतिर चप्पल पÞmर्काउँदा प्रधानमन्त्री र मन्त्रीहरू आफूले त प्रतिकार गर्न सक्दैनन् सक्दैनन् हामी पनि लैनचौरमा गएर विरोध गर्नु साटो आ–आफूमा कुरा काटेर बस्छौँ। हो हामी गरिब छौं तर आफ्नो स्वाभिमान त बचाउन सक्छौँ नि। मुख्य सचिवको समय पूरा नहुँदै एशियाली विकास बैंकको जागिरमा आवेदन गर्ने मुख्य सचिव र अनुमोदन गर्ने मन्त्रिपरिषद्ले के नेपालको इज्जत बढायो? नेपालका विभिन्न पूर्व उच्च पदस्त प्रशासक, न्यायकर्मी र शीर्ष नेताले समेत विदेशको नागरिकता लिएको र अथाह सम्पति जोडेका खबर पढ्दा हामीले देशभक्ति र नैतिकताको बारेमा के बुझ्ने?  यो देशद्रोह गर्नेहरूलाई हामीले पूजा गरेर बस्नु पर्ने तर २०० रुपियाँ चोर्नेले जेल जानु पर्ने?  कुरा संस्कारको हो, तर हामी यति हुँदा पनि प्रतिवाद गर्न सक्दैनौँ। टुलुटुलु हेरेर बस्छौँ। चाकडीबाज र जताततै मिलाउनु पर्ने हाम्रो समाजमा रंजन सिंह शाहले बनाएको नक्सा मिलेको छैन भनेर ऊ बेलामा पनि एक हजार रुपियाँ खाएकै हो घुस। त्यसमा प्रतिवाद गर्न नसक्ने मै थिएँ। त्यसैले आज मैले गाली खान्छु, मेरो ज्यान खतरामा पर्न सक्छ भन्ने थाहा हुँदाहुँदै अनियमितताको बारेमा कुरा गर्ने रवि लामिछाने जस्तालाइ हेर्दा गर्व लाग्छ। विवेकशील युवा पिढी हेर्दा केही आश जाग्छ।

बन्दुक बोकेर र प्लेन अपहरण गरेर राजनीतिमा आएकाहरूले भन्दा मेची देखि महाकालीसम्म पुगेर माटोको टिका लगाएर र छलफल र बहसबाट एक युवाले केहि पक्कै गर्छन् भन्ने मेरो बुझाई हो। नेतृत्व राम्रो हुन नेता बनाउने तरिका पनि सुध्रिनु पर्यो। काम उही गरेर फरक नतिजाको अपेक्षा गर्नु मुर्खता हो।

यो प्रसङ्गमा प्रमेश दाजुले अमेरिका हिँड्ने बेलामा मलाई कोरियाबाट लेखेको चिठ्ठीको एकलाईन उधृत गर्न प्रासङ्गिक सम्झन्छु– ‘बाबु, तिमी पनि विदेश जाँदै छौँ। छिट्टै तिमीले पनि गरिब हुनु र गरिब देशको धनी हुनुमा खासै अन्तर नभएको कुरा बुझ्ने छौँ।  मैंले यहाँका साधारणभन्दा साधारण जनता र हाम्रा ठूला भनिने राजदूत र मन्त्रीहरूको व्यवहारमा धेरै फरक पाएँ। हामीहरूमा नचाहिँदो घमण्ड, दम्भ र अहंकार छ। अरूले काम गरिदिएको हामीलाई धेरै ठुलो लाग्छ। यहाँका प्रायः सबैजनामा एउटा चिन्तन हुन्छ, ‘मैले यो गर्दा समाज र देशलाई के फरक पर्छ, गल्ती गर्दा मैंले किन स्वीकार गर्नु पर्छ र मैले थाहा नपाएको कुरा मलाई थाहा छैन भनेर इमान्दारितापूर्वक भन्दा अझ किन राम्रो हुन्छ। हाम्रो संस्कार हेर्छु, अरूलाई होचो देखाउने, अरूको खोट देखाउने र गाली गलौज गरेर आफूलाई योग्य देखाउने हामी धेरैमा रहेछ। यो त साझा सवालमा देशको प्रधानमन्त्री जस्तो उच्चपदस्थ व्यक्तिले प्रश्नकर्तालाई गाली गरेर र कार्यक्रम प्रस्तोतालाई धम्क्याएको बाट छर्लङ्ग हुन्छ। यसबाट हामीले देशको निकासको के आशा राख्ने? यति हुँदा पनि हामी यिनै फटाहालाई किन भोट दिन्छौँ? यो सबै हाम्रो मौनताको पराकाष्ठा हो। अन्याय भएको सहेर बस्नु पनि अपराध हो।

भोजपुर दिल्पा हुँदा हाम्रो घरमा सबैथोक फल्थ्यो। घर सानो थियो तर बारी ठूलो थियो। इटहरी बसाइ गरेपछि त्यो बारीको आकार खुम्चिँदै गयो। अहिले हाम्रा काठमाडौँ र अरू सहरमा भएका घरमा टेलिभिजन, गाडी, इलेक्ट्रोनिकका धेरै सामान, ठूलो पानी ट्यांकी र इनारमा धेरै पानी तान्ने पम्प पनि छ। घरभरि सामान छन् तर के गर्नु पानी र बिजुली एक अर्काको मुख हेर्न चाहन्नन्। हाम्रो व्यक्तिगत र पारिवारिक आम्दानी ह्वात्तै बढेको छ तर देशको उत्पादन चौपट छ। गाडीले खाने र हामीले खाने तेल, हामीले लाउने टिका, लुगा, फूलमाला र हाम्रा मनोरञ्जनका सामान सबै आयातित छन्। खाडीमा छोरोले ५० डिग्रीको घाममा उम्लेर १०÷१५ हजार महिनाको पठाउने बित्तिक्कै हामीलाई सबैभन्दा पहिला आइफोन र ल्यापटप चाहिन्छ किनकि उपल्लो घरमा उसका ठूलोबाले नि त्यसै गरेका छन्। यो देखासिकी र घर किन्ने होड हामीले विदेशमा पनि जुरुक्क उचालेर लिएर आएका छौँ। सोच र सीपको दायरा ठुलो बनाउनु सट्टा हामी कसको घर ठूलो, कसको गाडी आधुनिक र कसको जागिरको आम्दानी कम–बढी भन्नेमा बढी ध्यान दिन्छौँ। अनि यस्तो सोचबाट आउने समाजमा हामीलाई कुनै स्थानमा पुग्न किन मेहनत गर्नु पर्यो र संस्कार बसाउनु पर्यो भन्ने कुराले छुने कुरै भएन।

नेपाललाई विदेशमा र संसारभरि चिनाउनु पर्छ तर कुनै विदेशीले बुद्ध जन्मेको देशमा यति धेरै हिंसा र अशान्ति किन भनेर सोध्यो हामीले के जवाफ दिने? हिमाल चढ्न र ट्रेकिङ गर्न जाऊँ भनेर उनीहरूलाई अनुरोध गर्दा ५० हजार डलर तिरेर म तिम्रो देश घुम्न र हिमाल चढ्न जान्छु तर मलाई केहि भयो भने तिम्रो सरकारले उद्दारको लागि के गर्छ भन्दा हामीले के भन्नु? जलस्रोतको धनी र प्राकृतिक स्रोतले हराभरा भएको देश कसरी यस्तो गरिब भयो? कसैले सोधे हामी विदेशमा बस्नेले के जवाफ दिनु?

धेरै लामो कुरा लेखेर हजुरहरूको समय खेर फाल्न चाहन्नँ। अस्ति केही दिनअघि अर्का दाजुसँग कुरा हुँदा हेर बाबु हाम्रो बुवाआमाले दिल्पामा २ छाक खानु भएको थियो आज हामी काठमाडौँमा २ छाक खाँदैछौं, के ठुलो गरियो र भनेको वाक्यले मन छोयो। आज म जसरी अमेरिका हुँदै क्यानाडा आइपुगेँ भोलि दाजुकै नाती वा नातिनी सारांश, मोनु, अमिना वा शाइस्ता कुनै देशमा गएर फेरी पलायन भए हाम्रो परिवारमा के राम्रो भयो? २५ वर्ष अगाडि सुरू भएको प्रक्रियाले गर्दा अहिले अरू दाजुका छोराछोरी पनि विदेश आएका छन्। सुरूसुरूमा क्या! राम्रो गरियो भन्ने लागे पनि आजकाल कतै मैले परिवार टुक्राउने र देशलाई अझै गरिब बनाउने काम त गरिनँ भनेर नरमाइलो लाग्छ। हामी सबैले २५÷३० वर्ष लाएर नेपाल आमाको  लगानी लिनु अनि सबै विदेश पलाएन हुनु को अर्थ के? मेरो नेपाल आम प्रतिको कर्तव्य मैंले कसरी पुरा गर्ने? यहाँ बसेर छोराछोरीलाई अंग्रेजी र यहाँको संस्कृति मात्र सिकाएर? जे होस् नेपाल र नेपाली नेतालाई गालि गर्न छोडेर मैंले आफूले देखेको राम्रो कुराको प्रवद्र्धन गर्न खोज्दैछु।

पहिले राजतन्त्र हुँदा मेरो पनि ज्यान जना सक्छ भन्ने थाहा हुँदाहुँदै पनि ज्यान दाउमा लगाएर व्यवस्था परिवर्तन गर्ने नेतालाई मेरो हार्दिक सलाम छ। तर अबको आर्थिक समृद्धि यिनीहरूबाट सम्भव छैन। आजको राजनीतिमा केही अध्ययन, चिन्तन, बहस र कुटनैतिक चातुर्य भएका २०÷३० राम्रा मान्छे आउँदै जाने हो भने २० वर्षमा यो देशको मोड सही दिशामा जानेछ। भद्रगोल पनि १÷२ वर्षमा भएको हैन यसलाई चिर्न केही वर्ष अवश्य लाग्ने छ। र सारांश मा भन्नु पर्दा हामीले सबैले हाम्रो नैतिकता, सामाजिक एकता र देशको प्रगतिको स्खलन गरेकै हो। यसमा हामी पढेलेखेका तर चुप लागेर सहेकाहरूले अझै बिगारेका हौँ। तर संसारमा यस्तो कुनै देश छैन जो आफ्नै नागरिकको मेहनत र पसिनाले विकास नभएको होस्। मैले संसारका धेरै देश हेर्न र घुम्न बाँकी छ तर पुगे सम्मका देशहरू हेर्दा लाग्छ नेपाल जतिको प्रकृतिले सबै थोक दिएको संसारमा कमै हुन्छन् तर नेतृत्वमा बस्नेहरूले स्वार्थ पूर्तिको राजनीति गरेर र व्यक्तिगत स्वार्थमा देशलाई बन्धक बनाएर हामी सबै विदेश पलायन हुनेपर्ने स्थिति आएको हो। नेता त उपचार गर्न विदेश जान सक्छन्। भोलि हामी र गरिबले कहाँ जाने? अब पनि खाली भाषणको भरमा भोट दिने? कसरी, कति  वर्षमा, कुन तरिकाले विकास हुन्छ भनेर न हामीले उम्मेद्वार नै ख्याकख्याक पर्ने जमर्को गरेका छौँ न उनीहरूले हामीलाई वास्ता गरेका छन्।

तर यसको बाबाजुद पनि अहिले विवेकशील साझा पार्टीजस्तो अलिकति पढेलेखेका र राम्रो संस्कार बोकेका इमान्दार मान्छेहरू राजनीतिमा भएको फोहोर सफा गर्नुपर्छ भनेर लागी परेका छन्। म व्यक्तिगत रूपमा उनीहरू  कसैलाई पनि चिन्दिनँ तर नेपालमा बन्द र भ्रष्टाचारको विरुद्धमा जुन शान्तिपूर्ण तरिकाले विरोध गर्ने र व्यक्ति हैन प्रवृत्ति र सिस्टमको कमजोरी देखाउने तरिका उनीहरूले उजागर गरेका छन्। त्यो हामीले प्रवद्र्धन गर्नैपर्छ। विवेकशीलका उज्वल थापालाई फोन अन्तर्वार्ताको लागि नेपालबाटै प्रत्यक्ष पनि नमस्ते रेडियोमा प्रस्तुत पनि गरेँ। आजसम्म नेपाललाई खासै केही योगदान गर्न नसके पनि मेरो देश र नेतालाई गालि गर्ने बानि पनि छैन र नैतिक धरातल पनि छैन। अरूलाई गालि गरेर हैन काम गरे नगरेको कडा निगरानी राखेर मात्रै देशको मुहार फेर्न सकिन्छ भन्ने मेरो सोच हो। आगोको धर्म जलाउने हो पानीको धर्म पखाल्ने हो। हामी सबैले आ–आफ्नो धर्म सकेसम्म राम्ररी निभाउने हो भने कसैले खासै ठूलाठूला कुरा पनि गर्नु पर्दैन।

तपाईँसहित अर्का दाजु केही निर्णायक ठाउँमा बसेर धेरै वर्ष काम गर्नु भयो। खुला सीमाना, देशभित्र आउने जानेको निगरानीको व्यवस्था नभएको अवस्थामा र शक्ति प्रदायक हाम्रो समाजमा नियम कानुन कसरी उल्लङ्घन हुन्छन मैंले त्यो यहाँ भनिरहनु पर्दैन। तर आज राष्ट्रसेवाको कर्तव्य निर्वाह गरिसकेको अवस्थामा अब मेरा दाजुहरूको समाजको रूपान्तरणमा के भूमिका रहन्छ त्यो गहन कुरा हो। हामीले पहिले तपाईंहरूप्रति जति गर्व गर्ने मौका मिलेको थियो आउने दिनहरूमा पनि त्यो निरन्तरता कायम होस्।

केहि दिनपछि हजुरकी बुहारी स्वेता पनि आउँदैछे। लक्ष्मी प्रतिष्ठानमा केही हेर्न र साथै हाम्रो देश र समाजलाई पनि आफूले सकेको सहयोग गर्न यो सुनौलो मौका र कर्तव्य पनि हो भन्ने बोध गरेर मैंले नै उसलाई नेपाल जान प्रेरित गरेको हुँ। संयोग कस्तो परेछ भने हाम्रो विवाहको सत्र वर्ष अर्थात् मंसिर २१ गते दोस्रो स्तरको चुनाव हुने रहेछ। हुन सक्छ यो हामी दुवैको केही योगदान गर्ने समय हुन सकोस्। मेरो भनाइ यति मात्रै हो, हामी यहाँबाट सकेको गर्छौँ, हजुरहरूले त्यहाँबाट गर्ने हो।

नेपाल र सारा नेपालीको भलो र दिगो समृद्धि चाहने मबाट माथि उद्धृत भनाइहरू वा केही शब्दबाट बढी घोचपेच वा अप्ठ्यारो महसुश पर्ने सन्देश प्रवाह हुन गएमा क्षमाप्रार्थी छु। आखिर भन्ने र दुःखेसो पोख्ने आफ्नैलाई हो।

कान्छो भाइ

प्रधुम्न

टोरोन्टो, क्यानाडा

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.