हिमालयन हार्मोनी इभेन्ट्सको आयोजनामा यही आउँदो मार्च सात तारिखका दिन सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रको ग्रानभिल पार्कमा होली मेला २०२६ को आयोजना हुने भएको छ।
नेपाली कला संस्कृति र पर्वहरूलाई विदेशमा पनि भव्य रूपमा मनाउने क्रममा हिमालयन हार्मोनीले यस पटक दिपक बज्राचार्यको टिम र एलिना चौहान लगायतका चर्चित कलाकारहरूको साथ होली मेला आयोजना गर्न लागेको आयोजक हिमालयन हार्मोनीका विकास मरठ्ठाले बताए।
यस पटक होली मेलामा होलीको रंग, संगीतको रमझम र विशेष लाखे नाचको समेत व्यवस्था गरिएको आयोजकले बताएका छन्।
सिड्नी र मेरिल्यान्डको बीचमा पर्ने ग्रानभिल पार्कका लागि होली मेलाका लागि स्थानीय काउन्सिलबाट स्वीकृति पाइसकेको हिमालयन हार्मोनीले जनाएको छ।
‘हामी तयारीमा लागेका छौं, यसलाई भव्य र सभ्य बनाउने र हाम्रो पर्वलाई उल्लासका रूपमा नेपाली दाजुभाइ तथा दिदी-बहिनी अनि आमाबुवासँग मनाउन सबैलाई अनुरोध पनि गर्न चाहन्छौ,’ आयोजक मरठ्ठाले भने।
कार्यक्रमका लागि नेपाली समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताउँदै टिकट दर पनि तीस डलर राखिएको र दश वर्ष मुनिका बच्चाहरूलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।