ग्लोबल नेपाली
काठमाडौंकी उषाकिरण पोखरेल १८ वर्ष उमेरमा टेक्दै थिइन्। सन् २००६ को समय, नेपाली विद्यार्थीहरू अस्ट्रेलिया जाने लहर चलेको थियो। त्यसै वर्ष उनी पनि गइन्।
उनी अकाउन्टिङ पेसामा आफ्नो करिअर अघि बढाउन चाहिन्थन्। त्यसै अनुसार पढाइ सुरू गरिन्। लगत्तै अर्को वर्ष, सन् २००७ मा, अस्ट्रेलियामा कार्यालय रहेको 'कम्बाइन्ड इन्स्योरेन्स कम्पनी' मा पार्ट–टाइम काम पाइन्।
ब्याचलर अफ अकाउन्टिङ पढाइ पूरा गरेपछि त्यही कम्पनीमा पूर्णकालीन कामको अवसर पाइन्।
लगातार नौ वर्ष काम गरेपछि एस (एसिई) इन्स्योरेन्समा पुगिन्। त्यसपछि एनएनजेड (अस्ट्रेलियन एन्ड न्युजिल्यान्ड बैंकिङ ग्रुप) बैंक हुँदै अहिले ट्याल (टिएएल) इन्स्योरेन्समा छिन् जहाँ उनको मुख्य काम कम्पनीको अडिटिङ हो।
उषाकिरणले नेपालमा बिबिए (ब्याचलर इन बिजनेस एड्मिनिस्ट्रेसन) पढाइ सुरू गरेकी थिइन्। एक वर्ष पढेपछि अस्ट्रेलिया गएकी हुन्। त्यसयता उनले अस्ट्रेलियामा १८ वर्ष बिताइसकिन्।
उनलाई कानुनमा पनि चासो थियो तर अकाउन्टिङ नै रोजिन्।
'आमाबुबा मलाई नर्स बनाउन चाहनुहुन्थ्यो। मलाई एकाउन्टिङ र कानुनमा चासो थियो। त्यस बेला कानुन पढेर खासै अवसर नहुने देखेर मैले बिबिए रोजेँ,' उनले भनिन्, 'एक वर्ष बिबिए पढेर अस्ट्रेलिया आएँ। यता अकाउन्टिङमै रमाएकी छु।'
अहिले उनले कानुन पनि पढ्न सुरू गरेकी छन्।

उषाकिरणको सामाजिक जिन्दगीको पाटो पनि छ। उनी अहिले एनआरएनए (गैरआवासीय नेपाली संघ), अस्ट्रेलिया अन्तर्गत न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको संयोजक छिन्। गत जुलाइ २६ मा भएको निर्वाचनमा उनको टिम निर्वाचित भएको हो।
अस्ट्रेलियाको केन्द्र मानिने सिड्नी र नेपालीहरूको सबभन्दा धेरै बसोबास रहेको एनएसडब्लुको एनआरएनएमा उनको नेतृत्व दुई वर्ष रहने छ।
उनका श्रीमान हर्षद बारिया इलेक्ट्रिकल इन्जिनियर हुन्। भारतीय मूलका हर्षद सिड्नीको 'मेट्रो ट्रेन प्रोजेक्ट' मा कार्यरत छन्। श्रीमान भारतीय मूलका भएका कारण उषाकिरणले केही समय भारतीय समुदायसँग पनि काम गरिन्। फेरि नेपाली समुदायमै सक्रिय भइन्।
उनी एनआरएनए, अस्ट्रेलियाको कार्यसमिति सदस्य र सचिव भइन्। एनआरएनए आइसिसी (इन्टरनेसनल कोअर्डिनेसन काउन्सिल) को सदस्य पनि भइन्। एनआरएनए आइसिसीको सन् २०१५–२०१७ अवधिमा उनी सबैभन्दा कम उमेरकी सदस्य थिइन्।
'मलाई सामाजिक काममा लाग्न आमा हीरादेवी पोखरेलले प्रेरित गर्नुभएको हो। उहाँ हाल काठमाडौं महानगरपालिका वडा ३२ मा वडा सदस्य हुनुहुन्छ,' उनले भनिन्।
उषाकिरणका लागि एनआरएनएमा अहिलेको पद नयाँ भए पनि समुदायसँग गर्ने काम नयाँ होइन। उनले एनआरएनएमा आबद्ध भएर काम गरेको १४ वर्ष पूरा भएको छ।
अस्ट्रेलियाका अन्य राज्यको तुलनामा एनएसडब्लुमा नेपाली समुदाय ठूलो रहेकाले स्वाभाविक रूपमा समस्या पनि धेरै हुन्छन्।
'हामी (एनआरएनए) अझै पनि नयाँ विद्यार्थीहरूसँग जोडिन सकेका छैनौं। उहाँहरूको चाहना एउटा छ, यहाँ स्थायी रूपमा बसोबास गरेकाहरूको चाहना र अपेक्षा अर्को छ,' उनले भनिन्, 'पिआर (स्थायी आवास अनुमति) र नागरिकता लिएकाहरूलाई जीवन कसरी समृद्ध बनाउने भन्ने चिन्ता छ। विद्यार्थीहरूलाई सहज तरिकाले काम र पिआरको सजिलो बाटो चाहिएको छ।'
एनआरएनए सामाजिक संस्था भएकाले यसका सीमा छन्। एकातिर एनआरएनएसँग विद्यार्थीको धेरै अपेक्षा हुने र अर्कोतिर कतिपय एनआरएनए अभियानीहरू आफ्नो स्वार्थ पूरा गर्न लाग्ने भइदिँदा अपेक्षा पूरा गर्न कठिन भएको छ।

'व्यवसाय वा भरपर्दो जागिर भएकाहरूले समाजमा धेरथोर योगदान गर्न सक्छन्। आवश्यक परेका बेला खर्च गर्ने क्षमता पनि हुन्छ,' उनले भनिन्, 'तर समाजका लागि गर्ने काम आफ्नो व्यवसायसँग जोड्नु हुँदैन। हामीमा इमान र अनुशासन चाहिन्छ।'
आफ्नो घरपरिवार र कामबाट बचेको समय समाजसेवामा दिने भएकाले एनआरएनए अभियानमा लागेकाहरूलाई पनि सजिलो छैन। एनआरएनएले गर्न सक्ने काम र विद्यार्थीको अपेक्षाका सन्दर्भमा सीमारेखा तोक्न जरूरी रहेको उनको तर्क छ।
संस्थाका सीमाको दायराबाट सहयोगका लागि आफूले अधिकतम प्रयास गर्ने गरेको उनले बताइन्।
नेपाली विद्यार्थी र नेपाली समुदायका समस्या समाधान गर्ने अवसर पनि रहेको उषाकिरणको भनाइ छ। विद्यार्थीको पढाइ, काम र आप्रवासनका विषयमा कुनै समस्या नहोस् भनेर कन्सल्टेन्सी र कलेजहरूसँग छलफल गर्न सकिन्छ। मानसिक समस्या पर्दा नेपाली मूलकै मनोचिकित्सकबाट परामर्श र उपचार गराउन सकिन्छ। कानुनी समस्यामा कानुन व्यवसायीसँग समन्वय गर्न सकिन्छ।
'अस्ट्रेलियामा नेपाली समुदाय ठूलो भएको छ। दोस्रो पुस्ताका भाइबहिनीहरू अधिवक्ता भइसकेका छन्। धेरै नेपालीहरू माइग्रेसन एजेन्ट छन्। नेपाली चिकित्सक छन्। अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न सक्ने ठाउँ धेरै छ,' उनले भनिन्।
एनआरएनएले महिला र नयाँ विद्यार्थीका समस्या समाधानमा प्राथमिकता दिनपर्ने उनको धारणा छ। यसै अनुसार आफूहरू एनएसडब्लुको कुनाकुनामा पुग्ने उनको प्रतिबद्धता छ।
उनका अनुसार युवाको कुरा गरे पनि एनआरएनएले युवाकेन्द्रित भएर कुनै कार्यक्रम ल्याएको छैन। व्यावसायिक महिलाहरूका अनुभव उजागर गर्न पनि आवश्यक छ। केही समस्या पर्दा हेल्पलाइन नम्बरमा फोन गर्ने जस्तो सानो तर महत्त्वपूर्ण काम गर्न जरूरी छ।
'एक हप्तामा २० घण्टाभन्दा बढी काम गर्न नपाउने भएकाले कतिपय अवस्थामा विद्यार्थीर शोषणमा परेका हुन्छन्। उनीहरूलाई सस्तोमा काम लगाइएको हुन्छ। उनीहरू भिसामा समस्या पर्ने भयले बोल्न डराउँछन्,' उनले भनिन्, 'यस्तो अवस्थामा एनआरएनएले सहयोग गर्न सक्छ।'
घरेलु हिंसाका घटनामा गम्भीर हुन र हिंसामा परेका महिलाको मनोबल बढाउन आवश्यक ठानेकी छन्।
आगामी दिनमा अस्ट्रेलियाको राजनीतिमा अघि बढ्ने उषाकिरणको योजना छ। कानुन पढ्न सुरू गर्नुको एउटा उद्देश्य यो पनि रहेको उनले खुलाइन्।
'वकालत गर्न नभई अस्ट्रेलियाको राजनीति र कानुनी व्यवस्था बुझ्न कानुन पढ्न थालेकी हुँ,' उषाकिरणले भनिन्, 'अब काउन्सिलबाट अस्ट्रेलियाको राजनीतिमा होमिने महत्त्वाकांक्षा छ। हेरूँ कता पुगिन्छ!'