सिड्नीमा नेपाली हस्तकलाको प्रदर्शनी भइरहेको छ।
जुन १७ देखि ३ दिनसम्म सिड्नीको डार्लिङ हार्बरस्थित आइसिसी थिएटरमा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला 'ग्लोबल सोर्सिङ एक्स्पो सिड्नी-२०२५' मा नेपालले आफ्नो मौलिक संस्कृति झल्काउने हस्तकला, कपडा तथा सजावट सामग्रीको प्रदर्शनी राखेको हो।
प्रदर्शनीमा नेपालबाट आएका विभिन्न हस्तकला उत्पादक तथा व्यवसायीहरूले सहभागिता जनाएका छन्।
जुन १७ तारिखदेखि सुरू भएको मेलामा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव तथा न्यू साउथ वेल्स राज्यका लागि नेपाली मानार्थ वाणिज्यदूत संजीव शर्माले नेपाली स्टलको भ्रमण गरेका थिए।
राजदूत यादवले नेपाली हस्तकलाले अस्ट्रेलियाली बजारमा राम्रो सम्भावना राखेको भन्दै हाम्रो संस्कृति र सिर्जनशीलता संसारमा चिनाउने यो एक राम्रो माध्यम भएकाले यस्तो अवसरलाई व्यावसायिक रूपान्तरणमा बदल्न हामी सबै जुट्नुपर्ने धारणा राखिन्।
यस्तै, वाणिज्यदूत शर्माले नेपाली स्टलको भ्रमण गर्दै नेपाली व्यवसायीहरू, उद्योग प्रतिनिधिहरूसँग भेटवार्ता गरेका थिए।
उनले अस्ट्रेलियामा नेपाली उत्पादनहरूको माग बढ्दो रहेको र यस्तो प्रदर्शनीमार्फत नयाँ बजार फेला पार्ने सम्भावना बलियो भएकाले व्यसायीलाई हौसला दिएका थिए।
यस्तै नेपाल सरकार उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले प्रदर्शनीको अवलोकन गर्दै यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीले हाम्रो निर्यात बजार विस्तार गर्न र ब्रान्ड नेपाललाई विश्वमा स्थापित गर्न महत्त्वपूर्ण अवसर हुने बताए।
राजदूत यादव नेपाल सरकार उद्योग विभागका महानिर्देशक ज्ञवाली तथा वाणिज्यदूत शर्माको उपस्थितिले नेपाली प्रतिनिधिमण्डललाई थप ऊर्जा दिएको गार्मेन्ट संघका अध्यक्ष पशुपति देव पाण्डेले बताए।
प्रदर्शनीमा नेपालका स्टलहरूमा हातले बुनेका धागोका कपडा, ढाका, पश्मिना, सजावट सामग्रीहरू प्रमुख आकर्षण बनेका छन्। अस्ट्रेलियाली उपभोक्ताहरू र थोक खरिदकर्ताहरूले नेपाली सामग्रिहरूमा चासो देखाएका छन् ।
मुख्यत: फेसन, उपभोग्य सामग्री तथा घरेलु सजावटका सामग्रीको व्यापारिक सञ्जाल निर्माण गर्ने लक्ष्यसहित आयोजना गरिएको यो मेला अन्तर्राष्ट्रिय खरिदकर्ताहरू र आपूर्तिकर्ताहरूको प्रमुख गन्तव्य बनेको छ।
जुन १७ देखि १९ तारिखसम्म आयोजना भइरहेको यो अन्तर्राष्ट्रिय व्यापार मेला विश्वभरका आयातकर्ता, थोक विक्रेता र व्यवसायीहरूका लागि ठूलो व्यापारिक मञ्चको रूपमा परिचित छ।