ग्लोबल नेपाली
स्याङ्जाका शिव न्यौपाने अस्ट्रेलिया गएको १८ वर्ष भयो। उनी मेलबर्नमा बस्छन्, आफ्नै घर छ।
उनी अस्ट्रेलियाको रेस्टुरेन्टमा भाँडा माझ्दामाझ्दै असिस्टेन्ट कुक र कुक हुँदै हेड–सेफ भए। अहिले उनी डिक्सनरी (शब्दकोश) लेखक भएका छन्।
उनले 'फलाङ फूड डिक्सनरी' लेखेका छन्। सन् २०१८ मा यसको पहिलो संस्करण ल्याएका थिए। दोस्रो संस्करण सन् २०२२ मा आयो। हाल तेस्रो संस्करणको काम हुँदैछ।
यस शब्दकोशमा नेपाली मौलिक परिकारसहित विश्वका विभिन्न देशका परिकारको नाम र तिनको विशेषता समेटिएको छ।
'मानव जीवनमा खानपानको ठूलो महत्त्व छ तर यसलाई व्यवस्थित तरिकाले समेट्ने शब्दकोशको अभाव देखेँ,' शिवले भने, 'यो शब्दकोशमा एक लाखभन्दा धेरै शब्द छन्। दस हजार परिकारको नाम र विशेषता समेटिएको छ।'
यो शब्दकोश नेपाली परिकार समेटिएको पहिलो रहेको उनको भनाइ छ। कतिपय नेपाली परिकारको नाम रोमनमा लेखिएको छ। तिनको व्याख्या अंग्रेजीमा गरिएको छ।
उनले 'कोदो' लाई 'मिलेट' लेखेका छैनन्। रोमनमा 'कोदो' नै लेखेका छन्। यसको व्याख्या अंग्रेजी भाषामा गरेका छन्। यस किसिमको प्रयोगले नेपाली मौलिक परिकारको पहिचान बचाउन मद्दत पुग्ने उनको विश्वास छ।
फलाङ फूड डिक्सनरीमा पाल्पाको चुकाउनी, चितवनको तास र अन्य केही परिकार 'विशेष परिकार' का रूपमा समेटिएका छन्।
भारत, चीन, अस्ट्रेलिया, अमेरिका, अफ्रिका र युरोपका विशेष परिकार बनाउने तरिका पढ्न पनि पाइन्छ।

'मैले फलाङमा नेपालका विभिन्न स्थानका विशेष परिकार समेटेको छु। अध्ययन–अनुसन्धान गरेर अन्य धेरै मुलुकका विशेष परिकार बनाउने तरिका लेखेको छु,' शिवले भने, 'यो डिक्सनरी खाना पारखीहरूलाई एकापसमा जोड्न उपयोगी छ। नेपाली परिकार विश्वमा चिनाउन सहयोग गर्छ।'
फलाङ फूड डिक्सनरी अस्ट्रेलियामा प्रख्यात भयो। बहुसांस्कृतिक परिकार प्रवर्द्धनमा योगदान पुर्याएको ठहर गरेर अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनले आफूलाई सम्मान गरेको शिवले बताए।
उनका अनुसार यो डिक्सनरी नेपाली र विदेशी सबैका लागि हो। यसबाट विभिन्न परिकारको जानकारी पाइन्छ। विदेश भ्रमणमा हुँदा आफूलाई मन लागेको स्थानीय परिकार खोजेर खान सजिलो पर्छ।
'नेपाली परिकार विश्वसामु चिनाउन र विश्वका परिकार नेपालीलाई चिनाउन यो डिक्सनरी महत्त्वपूर्ण छ,' उनले भने।
लामो समयदेखि होटल–रेस्टुरेन्टका भान्सामा काम गर्दागर्दै खानाका परिकारको शब्दभण्डारमा केन्द्रित भएको र अनुभव तथा अध्ययनका आधारमा डिक्सनरी तयार गरेको उनले बताए।
आफूले लेखेको शब्दकोशले नेपालको खाद्य साक्षरता बढाउन र आमउपभोक्तामा स्वस्थकर खाद्यवस्तु खाने बानी विकास गर्न मद्दत गर्ने उनको विश्वास छ। नीतिनिर्माताका लागि पनि उपयोगी हुनेछ।
'यो शब्दकोशले नीति निर्मातालाई खाद्यसम्बन्धी कानुन बनाएर लागू गर्न, उपभोग र वितरण व्यवस्थित गर्न मद्दत गर्छ,' उनी भन्छन्, 'होटल–रेस्टुरेन्टमा गुणस्तर कायम राख्न र जनस्वास्थ्य सुरक्षामा उपयोगी छ।'
शिव सन् २००७ मा पत्रकारिता विषय पढाइका लागि अस्ट्रेलिया गएका थिए। त्यहाँ उनी हस्पिटालिटी क्षेत्रमा लागे।
उनले पुगेको एक महिना बितेपछि 'डिस वासर' काम पाए, रेस्टुरेन्टमा भाँडा धुने।
उनले भने, 'अस्ट्रेलियामा जे विषय पढ्न आए पनि धेरैजसोले सुरूमा काम पाउने भनेको रेस्टुरेन्टमै हो। धेरैजसो पाउने काम पनि डिस वास नै हो। मैले छिट्टै काम पाएको थिएँ। कहिले त वर्षदिन पनि पर्खिनुपर्थ्यो।'
बसाइका लागि नेपालबाट पठाउने कन्सल्टेन्सीले एउटा होस्टल मिलाइदिएको थियो। शिव त्यहीँ बसे तर बसाइ निकै सकसको भयो। साँघुरो कोठामा सात जनासम्म राखिएका थिए।
कामले शरीर थकित भएको हुन्थ्यो। सुत्ने बेला कोठामा कोही बाहिर निस्कने र कोही भित्र पस्ने भएर खलबल हुन्थ्यो।

'दुई जना बस्न मिल्नेजस्तो कोठामा दुई-तीन वटा तीनतले खाट राखिएका हुन्थे। राम्ररी सुत्न पनि नपाइने, एकदमै असहज भयो। म त्यहाँ बस्न सकिनँ,' उनले भने।
चिनजानका एक जना विदेशी साथी थिए। उहीसँग बस्ने कुरा मिलाएर शिव होस्टलबाट निस्किए। निस्किहाले तर उनलाई शंका लाग्यो, त्यो विदेशीले ठग्यो भने!
शिव उसकोमा गएनन् बरू केही दिन नजिकैको एउटा पार्कमा सुते।
एक दिन एक जना नेपाली साथीले फोन गरेर भने, 'हामीले घर भेट्टाएका छौं, मिलेर बसौं।'
पाँच जना मिलेर बस्दा जनही मासिक दुई सय अस्ट्रेलियन डलर पर्ने भयो। त्यसैअनुसार मिलेर बसे। बल्ल शिवको मन ढुक्क भयो। उनले सन् २०१० सम्म भाँडा माझे, एउटा स्टिल फर्निचर उद्योगमा पनि काम गरे।
सन् २०१० मा उनी असिस्टेन्ट कुक भए। त्यसको पाँच वर्षमा कुक भए। लगत्तै सन् २०१६ मा हेड–सेफ भए। त्यसपछि सन् २०२० सम्म हेड–सेफ भएर काम गरे।
कामकै सिलसिलामा बेलायतका चर्चित सेफ गोर्डन रामसेसँग भेट भयो। शिवका निमित्त त्यही भेट फूड डिक्सनरी लेख्न कोशेढुंगो भयो।
कोभिड महामारीले अस्ट्रेलियाका होटल–रेस्टुरेन्ट व्यवसायमा असर पुर्यायो। कोभिडको असर गम्भीर बन्दै गएपछि शिव रेस्टुरेन्ट छाडेर अर्कै काममा लागे। हाल उनी एउटा कम्पनीमा रिसेप्सनिस्ट सेवामा छन्।
उनी अब फूड बैंकमै काम गर्न चाहन्छन्। अस्ट्रेलियाको फूड बैंकले खानाको समस्या परेका मन्छेलाई खाना उपलब्ध गराउँछ। त्यो खानाको गुणस्तरमा राम्रो ध्यान दिइएको हुन्छ।
'म अब अस्ट्रेलियाको फूड बैंकमा काम गर्न चाहन्छु। फूड बैंकिङ प्रणाली कसरी चलेको छ भनेर बुझ्ने चाहना छ,' उनले भने, 'यहाँ खानामा समस्या हुनेहरूका लागि फुड बैंक एकदमै राम्रो छ।'
अस्ट्रेलियाका होटल, रेस्टुरेन्ट र खाद्यवस्तु पसलहरूमा सरकारी निकायले निगरानी गर्छ। 'फुड इन्स्पेक्टर' ले तालिकाबद्ध भएर गुणस्तर जाँच गर्छन्। माछा, मासु, फलफूल लगायत खाद्यवस्तु निर्धारित मापदण्डबाहिर बेच्न पाइँदैन।
'यहाँ त मासु फ्रिजबाहिर तीन घण्टा राखिएको रहेछ भने बेच्न पाइँदैन। फूड इन्स्पेक्टरले फालिदिन्छ। फ्रिजभित्र पनि सबै खानेकुरा एकै ठाउँमा राख्न पाइँदैन,' शिवले भने, 'तापक्रम पनि ख्याल गर्नुपर्छ। तापक्रम मासुका लागि कति, फलफूलका लागि कति भन्ने निश्चित हुन्छ।'
नेपालमा पनि खाद्य बैंकहरू चलाउन सके खानाको समस्या कम हुने उनको विश्वास छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com