उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको प्रमुख शैक्षिक गन्तव्य अस्ट्रेलियामा अब केही सहज हुने भएको छ।
पछिल्लो समय बाक्लिँदो आप्रवासीको संख्यासँगै अस्ट्रेलियाले आप्रवासनसम्बन्धी नीतिमा पनि परिवर्तन गर्दै अस्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा पनि कडाइ गरिरहेको बेला नेपाली विद्यार्थीका लागि केही सहज भएको छ।
अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले मार्च ३१ देखि नेपाललाई उच्च तहको भिसा जोखिम (लेभल ३) बाट मध्यम तहको भिसा जोखिम (लेभल २) मा झारेसँगै अस्ट्रेलिया अध्ययन गर्न आउने तथा अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीले भिसा आवेदन सहज भएको माइग्रेसन एजेन्ट सन्तोष कुँवरले सेतोपाटीलाई जानकारी दिए।
अस्ट्रेलियाले आफ्नो देशमा पढ्न आउने विदेशी विद्यार्थीलाई विभिन्न तहमा वर्गीकरण गरेर भर्ना लिँदै आएको छ।
वर्गीकरण गर्दा देशको आर्थिक उन्नति, राजनीतिक स्थिरता, भिसा सफलता दर र अस्ट्रेलियामा अध्ययन गरिरहेका विद्यार्थीहरूले भिसाका सर्त पालना गरे वा नगरेको विषयलाई प्रमुख आधार मान्दै हरेक ६ महिनामा वर्गीरकरण गर्दै आएको छ।
माइग्रेसन एजेन्ट कुँवरका अनुसार लेभल १ मा परेका मुलुकबाट आवेदन दिँदा भिसा लाग्ने सम्भावना उच्च हुन्छ।
त्यस्तै, भिसाका लागि अध्यागमनमा आवेदन दिँदा कागजपत्र समेत धेरै बुझाइ रहनुपर्दैन। त्यस्तै, लेभल २ को भिसा जोखिम मुलुकमा परेका देशहरूले लेभल १ मा परेका देशका विद्यार्थीहरूले भन्दा अलिक धेरै डकुमेन्ट (कागजपत्र) बुझाउनुपर्छ। तर उच्च जोखिम अर्थात् लेभल ३ मा परेका देशका विद्यार्थीले जति डकुमेन्ट बुझाइ रहनुपर्दैन।
नेपालको जोखिम कम भएसँगै अंग्रेजी भाषा तथा आर्थिक कागजपत्रहरूमा केही सहज हुने कुँवरले बताए।
'अब नेपालीले अस्ट्रेलियाको विद्यार्थी भिसा आवेदन गर्दा फाइनान्सियल र अंग्रेजी भाषा नहाली पनि मिल्छ, त्यसपछि आवश्यकता अनुसार डकुमेन्ट थप्न सकिन्छ,' उनले भने,'कुनै नेपाली विद्यार्थी लेभल टु वा वान भएको युनिभर्सिटी र कलेजमा पढ्न गएमा उनीहरूले भिसा आवेदन दिएको समयमा अंग्रेजी रिक्वारमेन्ट र फाइनान्सियलन रिक्वारमेन्ट भिसा एप्लिकेसनमा देखाउनु अनिवार्य हुन्न।'
सुरूमा आवेदन गर्दा यी डकुमेन्ट नचाहिए पनि भिसा डिसिजन आउनुभन्दा अगाडि केहीले माग्न सक्ने कुँवरले बताए।
लेभल २ मा पुगेसँगै नेपाल वा अस्ट्रेलिया जता बसेर पनि भिसा आवेदन दिँदा विद्यार्थीहरूले छोटो समयमा सरल रूपमा भिसा पाउन सक्छन्। तर कलेज तथा विश्वविद्यालय चयन गर्दा भने विद्यार्थीले ध्यान पुर्याउनैपर्ने कुँवरले बताए।
पछिल्लो ६ महिनामा नेपालबाट अस्ट्रेलिया पढ्नका लागि भिसा आवेदन गर्दा रिफ्युजदर एकदमै कम भएको थियो। अध्यागमनको तथ्यांक अनुसार यहाँ आएका नेपाली विद्यार्थीहरूले पनि विद्यार्थी भिसाका नियमहरू पालना गरेको पाइएको छ।
पछिल्लो डाटा हेर्ने हो भने नेपालबाट हालिएको भिसाको ग्रान्ट दर पछिल्लो १० वर्षमै उच्च रहेको कुँवरले बताए। भिसा लाग्ने दर बढे पनि संख्याको हिसाबले केही कम देखिएको छ।
पछिल्लो समय सरकारले इमानदार विद्यार्थीलाई ल्याउन डकुमेन्टेसनमा कडाइ गरिरहेको थियो।
सरकारले समय समयमा परिवर्तन गरिरहने अद्यागमन नीति र विद्यार्थी भिसाका लागि यहाँका शैक्षिक प्रदायक संस्थालाई दिइएको थप अधिकारले समेत सामान्य विद्यार्थीलाई अस्ट्रेलियाको भिसा पाउनु असम्भव जस्तै बनिरहेको थियो। जसका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको अन्त्यसम्ममा नेपालबाट भिसा आवदेन दिने विद्यार्थीको संख्यामा समेत व्यापक कमी आएको सरकारी तथ्यांक छ।
अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वकै उत्कृष्टमध्येको देश मानिन्छ। उच्च शिक्षाका लागि विदेशका विद्यार्थी संख्यामध्ये विश्वमै तेस्रो ठूलो संख्या अस्ट्रेलियामा छ भने यहाँका दर्जन बढी विश्वविद्यालयलाई विश्वकै उत्कृष्ट मानिन्छ।
चीन र भारतपछि अस्ट्रेलियामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीमा नेपाली पर्छन्। सिड्नीमा मात्र ४० हजार ६ सय ६५ नेपाली विद्यार्थी रहेको तथ्यांक छ।
सन् २०२४ सम्म अस्ट्रेलियामा अध्यननरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थी तेस्रो ठूलो संख्यामा छन्। कुल ८ लाख ५३ हजार ४५ विद्यार्थीमध्ये सबैभन्दा बढी चीनका १ लाख ८९ हजार २ सय ८२, भारतका १ लाख ३९ हजार ३८ र नेपालबाट ६५ हजार ८ सय १५ जना अध्ययनरत छन्।