ग्लोबल नेपाली
कुनै समय उच्च शिक्षाका लागि नेपालीहरूको पहिलो रोजाइमा पर्ने मुलुक थियो अस्ट्रेलिया।
पछिल्लो तथ्यांकले पढाइका लागि अस्ट्रेलिया जान अनुमति लिने नेपाली विद्यार्थीको संख्या घटेको देखाउँछ।
आर्थिक वर्ष २०८०/८१ मा अस्ट्रेलिया जान १४ हजार विद्यार्थीले अनुमति लिएका थिए। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लिएको नयाँ नीतिले भिसामा कडाइ गरेपछि अनुमति लिनेको संख्या घटेको अनुमान गर्न सकिन्छ।
नेपालीको मात्र होइन, विश्वभरकै विद्यार्थीको रोजाइमा पर्ने अस्ट्रेलियामा पछिल्लो समय चुनौती थपिँदै गएको छ। त्यहाँ काम पाउन निकै कठिन हुन थालेको छ।
पढाइ पूरा गरेपछि पढेकै विषय अनुसारको काम पाउन त झनै कठिन छ।
अस्ट्रेलियामा आप्रवासी विद्यार्थीहरूलाई रोजगारीका लागि सहजीकरण गर्दै आएका निक श्रेष्ठ भन्छन्, 'कतिपय विषयमा मागभन्दा धेरै जनशक्ति छ। यस कारण आफ्नो रूचिको र आफ्नो पढाइ अनुसारको काम गर्छु भन्नेका लागि धेरै चुनौती छ।'
निक रोजगारीको खोजीमा रहेकाहरूलाई 'करिअर प्यानएसिया' नामको कम्पनीमार्फत सहजीकरणको काम गर्छन्। यो कम्पनी सुरू भएको पाँच वर्ष हुन लाग्यो। जम्मा सय डलर लगानीमा खोलेको कम्पनीले रोजगारी सहजीकरणमार्फत राम्रै आम्दानी गरिरहेको उनी बताउँछन्। यो कम्पनीमा सेवाको प्रकृति अनुसार शुल्क लाग्छ। न्यूनतम शुल्क १६५० अस्ट्रेलियन डलर छ।
खासगरी अकाउन्टिङ, आइटी, इन्जिनियरिङ, मार्केटिङ, ह्युमन रिसोर्सेस जस्ता विषय पढेको जनशक्तिले अफ्नो क्षेत्रमा काम पाउन कठिन हुँदै गएको छ।
'आफ्नो रूचि र क्षेत्र अनुसारको काम नपाए पनि बाँच्नु त पर्यो, संघर्ष गर्नुपर्यो,' निकले भने, 'यस कारण अधिकांश विद्यार्थीहरू आफ्नो पढाइ बाहेकका क्षेत्रमा काम गर्छन्।'
प्राविधिक विषय पढेका विद्यार्थीहरू पनि आफ्नो क्षेत्रको काम नपाएर किचन, ड्राइभिङ, क्लिनिङ जस्ता क्षेत्रमा काम गर्न बाध्य हुन्छन्। जुन देशको विद्यार्थी भए पनि निकै ठूलो अपेक्षा र महत्त्वाकांक्षा लिएर अस्ट्रेलिया पुगेको हुन्छ। पढाइका लागि ऋण लागेको हुन्छ। ऋण तिर्ने दायित्व हुन्छ, कमाइ पनि गर्नुपर्ने हुन्छ।
निक सन्तुष्टिको खोजीमा भौंतारिएका युवाहरूलाई सपनाको पेसासम्म पुग्न सहजीकरण गर्छन्। अस्ट्रेलियामा पढिरहेका ३६ वटाभन्दा धेरै देशका विद्यार्थीलाई उनीहरूले रोजेको पेसासँग सम्बन्धित काममा जोड्न सहयोग गरिरहेको उनको भनाइ छ।

निक काम खोजिरहेका युवाहरूलाई रोजगारदातासँग समन्वय गरेर सम्बन्धित ठाउँमा जोडिन सघाउँछन्। जागिरका लागि आवेदन दिन सहजीकरण गर्छन र उनीहरूलाई अगाडि बढ्न हौसला दिन्छन्। अभिमुखीकरण कोर्स पनि गराउँछन्।
'आफ्नो बाध्यता भएपछि जुन क्षेत्रको काम पाइन्छ त्यही गर्नुपर्यो। तर आफ्नो सपनाको क्षेत्रमा काम नपाउँदा सन्तुष्टि मिल्दैन,' उनले भने, 'आफूले रोजेको काम नपाएर अलमलमा परेकाहरूलाई हामी इन्टर्नसिप र जागिर लगाइदिने काम गर्छौं।'
उनका अनुसार आफ्नो पढाइ अनुसारको काम पाउन व्यक्तिमा क्षमता र तदनुकूल सीप हुनुपर्छ। नेटवर्किङ पनि महत्त्वपूर्ण हुन्छ। आत्मविश्वास हुन पनि उत्तिकै जरूरी छ। अस्ट्रेलियाका अग्रणी कम्पनीहरूका ठूला पदमा नगन्य मात्र नेपालीहरू पुगेका छन्।
त्यस्तै सुरूका दिनमा नेपालीहरूलाई भाषाको समस्या हुन्छ।
'नेपालमा अंग्रजी बोल्नु र यहाँ बोल्नु धेरै फरक हुन्छ। यहाँ अंग्रेजी बुझ्न र बोल्न एकदमै गाह्रो हुन्छ। संस्कृतिमा घुलमिल हुन पनि गाह्रो हुन्छ,' निकले भने, 'हामी नेपालमा आफ्नो सजिलोमा बसेका हुन्छौं। पढ्छु, मेहनत गर्छु भनेर अस्ट्रेलिया आएपछि त्यस्तो हुँदैन। धेरै किसिमका चुनौती सामना गर्नुपर्छ।'
करिअरमा केन्द्रित भएर मेहनत गर्ने हो भने राम्रो काम पाउने र उच्च पदमा पुग्ने सम्भावना पनि हुन्छ।
निक स्नातकोत्तर तह पढ्न सन् २०१३ मा अस्ट्रेलिया गएका थिए। उनले त्यहाँ एक बैंकमा कन्सल्ट्यान्ट भएर काम गरे। उनले अन्य संघसंस्थामा पनि काम गरे। यसरी विभिन्न ठाउँमा संलग्न हुँदै जाँदा आफ्नै कम्पनी बनाएर काम गर्नुपर्छ भन्ने सोचले अघि बढेको उनले बताए।
'मैले गरेको कामको कदर गर्दै अस्ट्रेलियन सरकारले केही पुस्कार र सम्मान पनि दिएको छ। ३६ वटा देशका विद्यार्थीलाई शिक्षा र रोजगारीमा योगदान पुर्याएकोमा सन् २०२४ मा गभर्नर्स मल्टिकल्चरल अवार्ड पाएँ। सन् २०२३ मा ४० वर्षमुनिका ४० जना व्यवसायीमध्ये पहिलो नेपाली व्यवसायीमा पनि छानिएको थिएँ,' उनले भने, 'अस्ट्रेलियामा सिकेको कुरा नेपाल फर्केर युवाहरूलाई सुनाउन र सकारात्मक परिवर्तनका लागि सहयोग गर्न इच्छुक छु।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com