ग्लोबल नेपाली
सन् २००२ फेब्रुअरीमा अस्ट्रेलियाको मेलवर्न जाँदै गर्दा सुकीर्ति राज्यलक्ष्मी भट्टले १२ कक्षाको पढाइ पूरा गरेकी थिइन्।
'अन्तर्राष्ट्रिय सम्बन्ध' मा स्नातक तह पढ्न मेलवर्न गएकी सुकीर्ति सन् २००५ मा सिड्नी पुगिन्।
सिड्नीमा धनगढीका देवेन्द्र भट्टसँग उनको बिहे भयो। बिहेपछि पनि मेलवर्न फर्किन चाहेकी थिइन् तर सम्भव भएन। सिड्नीमै स्थायी बसाइ भयो। दिन बित्दै जाँदा सिड्नी आफ्नै घरजस्तो लाग्न थाल्यो।
यिनै सुकीर्ति गत अक्टोबरमा अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यको बरवुड काउन्सिलमा 'काउन्सिलर' पदमा निर्वाचित भएकी छन्।
खासमा उनी दुई वर्षमा स्वदेश (नेपाल) फर्किने लक्ष्यका साथ अस्ट्रेलिया गएकी थिइन् तर परिस्थिति फरक ढंगले विकास भयो, उताको बसाइ लम्बियो। पढाइ पूरा भएपछि सुकीर्तिले 'कमनवेल्थ बैंक' मा काम सुरू गरिन्। त्यही समय आफ्ना बच्चाको हेरचाहमा पनि लाग्नुपर्यो।
सन् २००९ मा 'अस्ट्रेलियन हेल्थ प्राक्टिस्नर रेगुलेसन एजेन्सी (आप्रा)' मा पुगिन्। अहिले पनि आप्राकै शिक्षा नियमन क्षेत्रमा काम गर्छिन्। अक्टोबरयता काउन्सिलको जनप्रतिनिधिका रूपमा पनि सक्रिय छिन्।
पन्ध्र वर्षअघिदेखि शिक्षा र स्वास्थ्य क्षेत्रको नियमन गर्ने संस्था काम गरेकी सुकीर्ति सामाजिक काममा सक्रिय रहिन्। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आबद्ध भइन्।
एनआरएनएमा आबद्ध भएर काम गरेको अनुभवले उनलाई अस्ट्रेलियन काउन्सिलको जनप्रतिनिधि बन्न सहज भयो। एनआरएनए मार्फत नेपाली समुदायमा सक्रिय रहँदै उनी अस्ट्रेलियन लेबर पार्टीमा आबद्ध भएर स्थानीय राजनीतिमा अघि बढिन्।
उनको घर रहेको बरवुड काउन्सिल क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोवास छ।
'राजनीतिमै जाने सोच त थिएन तर अवसर आएपछि अघि बढेकी हुँ। राजनीतिमा सुरूआत त भयो तर कहाँसम्म पुगिन्छ भन्ने थाहा छैन,' उनले भनिन्, 'काम गर्ने मौका पाएकी अस्ट्रेलियामा चुनाव लड्न खासै गाह्रो छैन तर मनोबल बलियो हुनुपर्छ। लेबर पार्टीमा आबद्ध भएकाले मलाई खासै अप्ठ्यारो भएन।'

उनले एनआरएनएको निर्वाचन भन्दा काउन्सिलको निर्वाचन लड्न सजिलो अनुभव गरिन्।
'काउन्सिलर जित्न टिम चाहिन्छ। टिम बनाउन पार्टी र समुदायबाट साथ सहयोग मिल्यो। विगतदेखि नै लेबर पार्टीले जित्दै आएकाले पनि मलाई केही सजिलो भयो,' उनले भनिन्।
उम्मेदवार भइसकेपछि नेपाली समुदायको पहिचान बलियो बनाउन पनि आफू विजयी हुनैपर्छ भन्ने उनलाई लागेको थियो।
'हाम्रो बसोबास रहेको ठाउँमा नेपालीको संख्या बढ्दै गएको छ। यस कारणले पनि मेरो जितको महत्त्व हुन्छ भन्ने मलाई लागेको थियो,' सुकीर्तिले भनिन्।
उनका अनुसार काउन्सिलरको काम स्थानीय जनताको जीवन सहज बनाउन मद्दत गर्नु र र बहुसंस्कृति प्रवर्द्धन गर्नु हो। उनले आफ्नो विजयलाई सिकाइको ठूलो अवसरका रूपमा लिएकी छन्। उनले आफ्नो जिम्मेवारीबारे पनि जानकारी दिइन्।
महिनाको एकपटक काउन्सिलको बैठक हुन्छ। काउन्सिलमा विभिन्न कमिटीहरू हुन्छन्। काउन्सिलरले ती कमिटीहरूको नेतृत्व गर्नुपर्छ। काउन्सिलर भएपछि जिम्मेवारी र कामबारे बुझ्न नै ६ महिना लाग्ने उनी बताउँछिन्।
'त्यसपछि मात्रै आफ्नो अनुभव अरूलाई भन्न सक्छु,' उनले भनिन्।
बरवुड काउन्सिलमा सात जना काउन्सिलर रहने व्यवस्था रहेको उनले बताइन्। यस काउन्सिलमा लेबर पार्टीबाट मेयरसहित पाँच जना छन्। आफूले निर्वाचन जित्नमा परिवारजनको ठूलो सहयोग रहेको उनले बताइन्।
'मेरा श्रीमान र बच्चाहरूले साथ दिएकै कारण म यहाँसम्म (जनप्रतिनिधि हुने) आइपुगेकी हुँ,' उनले भनिन्, 'घरपरिवार र काउन्सिल सबैतिर टिम आवश्यक पर्छ। एक्लै हिँड्छु भन्ने हो भने कतै पनि पुगिँदैन।'

उनले अस्ट्रेलियाको काउन्सिलसँग नेपालको स्थानीय तह तुलना गरिन्। अस्ट्रेलियामा काउन्सिलको काउन्सिलर भन्नु र नेपालमा स्थानीय तहको वडा अध्यक्ष भन्नु उस्तै हो।
नेपालमा वडा अध्यक्ष पदको निर्वाचनमा प्रतिस्पर्धा गर्दा लाखौं रूपैयाँ खर्च हुन्छ भन्ने सुनेकी छन्। अस्ट्रेलियाको काउन्सिलर पदको उम्मेदवार हुँदा रजिस्ट्रेसन शुल्क बाहेक कतै पनि पैसा खर्च गर्नु नपरेको उनले बताइन्।
'अस्ट्रेलियामा उम्मेदवारलाई पार्टीले सहयोग गर्छ। क्याम्पेनरहरूले सहयोग मागेका हुन्छन्, त्यसकै आधारमा चुनाव लड्ने हो,' सुकीर्तिले भनिन्।
उनका अनुसार अस्ट्रेलियाको ठूलो र सुविधासम्पन्न सहर सिड्नीमा उनी काउन्सिलर बन्नु नेपाली समुदायका लागि उपलब्धि हो। आफ्नो ध्यान आगामी राजनीतिक यात्रा कस्तो होला भन्नेमा होइन, अहिलेकै कार्यकाल सफल बनाउनमा रहेको उनले बताइन्।
'मैले राजनीतिमा अगाडिको बाटोबारे धेरै सोचेको छैन। अहिले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नमा मेरो ध्यान छ,' सुकीर्ति भन्छिन्, 'त्यसपछि मात्र अगाडिको बाटो हेर्ने हो। हिँड्दै जाँदा बाटो पनि तय हुन्छ भन्ने लाग्छ। भोलिको कुरा धेरै सोच्दा आजको काममा अलमल हुन सक्छ।'
सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com