अष्ट्रेलियाको शिक्षा ब्यापार कि, माछा बजार!

नाम सेवा, खाने मेवा, बनाउने पेवा 


गाउँघरमा लाग्ने हाट बजारमा अरूको मोलभन्दा पनि फरक ढंगमा मनलाग्दी उतारचढाब हुने सवालमा माछा बजार प्रशिद्ध छ। सामानको मुल्य बजारको मान्यता बिपरित जसरी मापन हुन्छ त्यसरीनै होहल्ला र भीडभाडमा सकिन्छन् बजारका माछा। त्यसैले पनि माछा बजार मोल तोलको मामिलामा प्रशिद्धी पनि छ हाम्रो समाजमा।

विषयको उठान गर्नुपर्दा यतिखेर अस्ट्रेलियामा उच्च अध्यनका क्रममा आउने विद्यार्थीमा देखिएको नैराश्यताले केही अप्रीय घटना घट्न थालेपछि यसको एउटा जिम्मेवार निकाय शैक्षिक परामर्श निकायहरु पनि हुन् भन्ने प्रश्न उठन थालेको छ।

हाम्रो जस्तो देशमा विदेश जाने र उच्च अध्यन गर्ने भनेको भएको एकमुष्ट पैसा खर्च गरेर सदाको लागि कमाइ खाने वाटो खोज्नु पनि हो। तर यतिखेर बिदेश जानेको भीडमा बास्तविकता र यर्थाथको अपुरो शन्देशले थुप्रै नेपाली विद्यार्थी अन्यौलमा परेको आभास हुन्छ।

यसका लागि प्रमुख जिम्मेबार अभिभावक र स्वयम् विद्यार्थी भए पनि बिशाल होडिङ बोर्ड र शानदार अफिस र चिल्ला मसिना गफले पनि विद्यार्थीमा फरक मनोवृती बढेको पाइन्छ।

विदेश जाने बित्तीकै राम्रो काम पाइने, कमाएको पैसाले विश्वविद्यालयको फी तिर्न पुग्ने र जीवन शैली फेरिने सपना सजाएर अमेरिका र अस्ट्रेलिया हिँडेका विद्यार्थी पुगेको एक सातापछि नै फरक रुप र रागमा भेटिन्छन्।

पुतलीसडकमा रहेको एक एजेन्सीमार्फत सिड्नी आइपुगेका एक विद्यार्थीको भनाइ सापट लिने हो भने उनीहरु सोह्रै आना झुटको खेति गरेर पैसा कमाउदाँ रहेछन् भन्दा फरक पर्दैन। गएको पाँच सात दिनमा काम पाइन्छ, घन्टाको २० देखि २५ डलर , दुई चार वर्ष राम्ररी पढे पिआर पक्का। फी तीर्न समस्या छैन।

झलक्क समुन्द्र तटका लोभलाग्दा फोटा अनि घन्टे कमाइको फुलबुट्टा भरेर आएका नेपाली विद्यार्थी पढाइ, एसाइन्मेन्ट, काम र अनिद्राको शिकार हुदै जाँदा मानशिक रुपमा गल्दो रहेछ।

घर परिवार, नाता कुटुम्ब भएकालाई भने केही सहज देखिन्छ। प्राय आफन्त नहुने र एक्लोपन अनि पढाइ र खर्चको जोहोमा कुद्ने विद्यार्थीहरू मानसिक तनाबमा देखिने गरेको पछिल्लो घटनाले पृष्टी गरेको छ।

ड्रग्स र जुवाले पनि कयैन नेपाली विद्यार्थी गुमनाम भेटिन्छन्। कमाए खाए र पीए अनि जुवामा सकाए। यस्ता कयैन दृष्टान्त छन् सिडनीमा।

तर विषय प्रवेश गर्दै जाँदा शिक्षाको ब्यापार गर्ने शैक्षिक परामर्शदाताहरुले पनि एक पटक यस बिषयमा गम्भीर हुनुपर्ने बेला आएको छ । घटना घटन थालेपछि जिम्मेवारीताबाट भाग्ने होइन त्यसको निराकरणका लागि प्रयासहरु जारी राख्नु पर्छ।

यतिखेर नेपालमा अस्ट्रेलिया पठाउने सयौं परामर्श केन्द्रहरु होलान्। तर यीनले कुन मापडन्डमा बसेर कसरी विद्यार्थीलाई सही सूचना उपलब्ध गराइरहेका छन्?। परामर्शदाताहरुको योग्यताको कसी के हो?, शैक्षिक पेशा सेवा पनि हो तर सेवा गर्दैगर्दा पाइने मेवाका लागि कतै तपाईँहरूले गलत सूचना त प्रवाह गर्नु भएको छैन। घटना घटेपछि त्यसको जिम्मेवारिता बहन गर्ने निकाय को।

अस्ट्रेलियामा विद्यार्थीका कयैन घटना घटदा कुनै पनि शैक्षिक केन्द्रले मेरो विद्यार्थी हो यसका लागि हामीले सहयोग गर्नुपर्छ भनेर अगाडि सरेको एउटै पनि दृष्टान्त छैन। तपाईँहरूको जिम्मेवारिता विद्यार्थी ल्याउने, उसले फी तिरून्जेल मोटो कमिशन खाने मात्र हो? मरेपछि लासका लागि दुई हजार डलर दिने एनआरएनले पनि लास होइन सास बचाउन त्यो पैसाको सदुपयोग गरोस भन्ने हाम्रो चाहना हो।

विदेश जाने विद्यार्थी देखेपछि तछाड मछाड गर्ने परामर्श केन्द्रको बजार भाउमा पनि आकाश पाताल फरक देखिन्छ। यार त्यसले त बल्कमा कमिशन खान्छ हामी एक दुई जना पठाउने त मारमा परिसकियो। रेट बिगारेर खत्तम छ। सिड्नीका बजारमा परामर्शदाताहरुको मुखबाट प्राय सुनिने कथन हो यो।

के यो शैक्षिक सेवा अब माछा बजार भइसक्यो। बग्रेल्ती खुलेका कलेजहरुमा पाइने मोटो कमिसन अनि पढाइ कम काम ज्यादा नारामा उभिएका डिप्लोमा कोर्सहरुको लालचले पनि नेपाली विलार्थीहरू गलत दिशातिर उन्मुख देखिन्छन्।

उच्च शिक्षा र उज्वल भबिष्य निमार्णमा हिँडेका नेपाली युवाहरुलाई दिशा निर्देश  गर्ने शैक्षिक परामर्श केन्द्रहरुले सेवा गरेपछि पाउने मेवालाई मात्र होइन, आफ्नो दायित्व र पेशालाई पनि मर्यादित बनाउन जरूरी छ। हुन त यसको मतलब सबै परामर्शदाता, केन्द्र खराब र बदमासी छन् भन्ने होइन, राम्रा भित्रका पनि केही नराम्राले यो पेशालाई नै धमिलो बनाउँदै छन् भने पक्कै हो।

विद्यार्थीलाई उच्च शिक्षाको अवसर मिलाउने काम सम्मानित होला तर यसबाट बाधिने आम्दानी पनि कम आकर्षक छैन। भिसा लाग्दा फेसबुकमा फोटो हाल्ने परामर्शकेन्द्रहरुले त्यही विद्यार्थी मर्कामा पर्दा कुनै भूमिकामा नदेखिनु दुःखको विषय हो।

त्यसैले अब शैक्षिक परामर्श केन्द्रहरुले आफ्नो दायित्व बोध  गरेर विद्यार्थीको हक हित र समस्यामा अघि सर्ने बेला आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.