रोबिन शेरचन ३८ वर्षअघि जापान गए। त्यो बेला उनी २१ वर्षका थिए।
शंकरदेव क्याम्पसमा स्नातक तह पढ्दा पढ्दै जापानमा पुगेका उनले सुरूमा त्यहाँ जापानी भाषा पढे। रेस्टुरेन्ट लगायत विभिन्न ठाउँमा काम पनि गरे।
सन् १९९५ मा उनले एक जापानी युवतीसँग मिलेर 'कल्चर स्कुल' सञ्चालनमा ल्याए।
ती युवती बेलायत बसेर फर्किएकी थिइन्।
'हामीले विभिन्न सीपमूलक तालिम सहितको स्कुल सुरू गर्यौं। त्यति खेर जापानीहरू भर्खर भर्खर विदेश जान थालेका थिए। विदेशीहरू पनि जापान आउने क्रम सुरू भएको थियो,' रोबिनले भने, 'हामीले स्कुल राम्रोसँग चलायौं।'
उनीहरूले साप्ताहिक बुलेटिन पनि निकाल्थे। अंग्रेजी भाषामा निस्किने सो १०/१२ पानाको बुलेटिनमा जापानबारे जानकारी अनि पर्यटनका लागि जरूरी सूचनाहरू हुन्थे।
स्कुल र बुलेटिन दुवैको कामले उनलाई पर्यटन क्षेत्रबारे जानकारी हुन थाल्यो।
यही बीचमा रोबिन र उनकी व्यावसायिक साझेदार जापानी युवतीको बिहे भयो।
पछि उनीहरूले रेस्टुरेन्ट खोले।
'त्यो बेला जापानमा विदेशी खाना अलि नौलो हुन्थ्यो,' उनले भने, 'मैले विदेशी बियर ल्याउन थालेँ। १०८ देशका बियर पाउने बार र स्न्याक्स पाउने रेस्टुरेन्ट खोल्यौं।'

व्यवसाय ठिकठाक चलिरहेको थियो।
सन् २००७ मा उनकी श्रीमतीको क्यान्सर लागेर मृत्यु भयो।
'बुलेटिनको काम अलि पहिल्यै छाडेको थिएँ। श्रीमतीको निधनपछि कल्चर स्कुल बेचेँ,' उनले भने।
उनको पहिलो रेस्टुरेन्ट टोकियोको आकासाकामा थियो। दोस्रो रेस्टुरेन्ट सिन्जुकुमा खोले।
सिन्जुकुमाको रेस्टुरेन्ट फुडकोर्ट जस्तै थियो — थाई, सिंगापोरियन, टर्किस, मलेसियन, जापानिज, नेपाली लगायत देशका खानेकुरा पाइन्थ्यो।
'त्यो रेस्टुरेन्ट राम्रोसँग चलेपछि थप ऊर्जा आयो। इटालियन रेस्टुरेन्ट पनि खोलेँ,' रोबिनले भने।
त्यसपछि उनले थप एउटा बार र जापानी भट्टी 'इजाकाया' खोले।
उनको यो क्रम रोकिएन। एकल वा साझेदारी लगानीमा उनले एकपछि अर्को रेस्टुरेन्ट खोल्न थाले। सन् २००५ मा पहिलो रेस्टुरेन्ट खोलेका रोबिनको हालसम्म २७ वटा रेस्टुरेन्ट तथा बारमा लगानी छ।
उनले होटल र अपार्टमेन्टमा पनि लगानी गरेका छन्।
'म कलिलो उमेरमै जापान गएँ, उतै व्यवसाय गरेँ। समाज सेवामा पनि उतै सक्रिय भएँ,' उनले भने, 'नेपालमा मैले नदेखिने गरी रेस्टुरेन्ट, हाइड्रो र रियल–इस्टेटमा लगानी गरेको छु।'
रोबिन मुस्ताङमा जन्मिएका हुन्। उनले पोखराको गण्डकी बोर्डिङबाट २०४० सालमा एसएलसी पास गरे। त्यो बेला विदेश जाने खासै चलन थिएन। उनका केही साथीहरू भने पाइलट पढ्न गएका थिए। त्यही मेसोमा उनलाई पनि जापान जान मन लागेको हो।
रोबिन जापान जाने बेला उनका आमाबुबाको ठमेलमा होटल थियो। त्यसअघि भैरहवामा होटल र फेन्सी पसल चलाएका थिए।
'काठमाडौं आएर बुबाले होटलसँगै हङकङमा व्यवसाय गर्नुभयो,' रोबिनले भने, 'चार वर्षअघि बुबाको मृत्यु भयो। ठमेलको होटल अहिले भाडामा छ।'
रोबिन घरका जेठा छोरा हुन्। उनका माइला भाइ जापानमै छन्। कान्छा भाइको मुस्ताङमा रिसोर्ट छ।

रोबिनसँग उनका एक छोरा छन्। आमा काठमाडौंमा छिन्। त्यसैले उनलाई अब नेपाल नै फर्किऊँ कि भन्ने लागिरहेको छ।
'अब नेपाल आउन मन लागिरहेको छ। नेपालमा के गर्ने भनेर अनुसन्धान गरिरहेको छु,' उनले भने।
उनका अनुसार जापानमा अहिले नेपालीहरूको संख्या बढ्दो छ। योसँगै नेपाली समुदायमा उनको सक्रियता पनि बढेको छ।
रोबिन गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हुन्।
'म सामाजिक काममा सक्रिय भएको १५ वर्षभन्दा धेरै भयो। व्यवसाय पनि गर्ने भएकाले विभिन्न कार्यक्रममा मलाई स्पोन्सर गर्न लगाउँछन्।सकेसम्म सहयोग गर्छु,' उनले भने, 'च्यारिटीमा दिँदा सरकारलाई तिर्ने करमा पनि केही छुट हुन्छ। त्यसैले सदुपयोग पनि भएको छ।'
आप्रवासीको संख्या बढेसँगै जापानी नियममा कडाइ हुन थालेको छ। त्यसैले जापान जानेले भाषा र सीपमा जोड दिनुपर्ने उनको सुझाव छ।
'धेरै नेपालीहरू नबुझी हाम फाल्छन्। जापान आउनले भाषा, सीप र यहाँको अनुशासन बुझ्न जरूरी छ,' रोबिनले भने, 'जापानीहरू चर्को स्वरमा, रूखो र अभद्र बोलेको मन पराउँदैनन्।'
जापानमा कति नेपालीले करमा लापरबाही गरेको पनि उनले पाएका छन्। विगतमा यसलाई सरकारले धेरै वास्ता नगरे पनि अहिले कडाइ गर्न थालेको उनले बताए।
त्यस्तै व्यवसाय गर्न पनि कडा नियम बनाउँदै गएको छ। पहिले ५० लाख रूपैयाँमा व्यवसाय गर्न सकिने व्यवसायका लागि अहिले ३ करोड रूपैयाँ लाग्न थालेको उनले बताए।
अनि कम्पनीका कामदारले जापानी भाषा बोल्न, पढ्न, लेख्न जान्ने हुनुपर्छ।
'१२ पास गरेर भन्दा स्नातक पास गरेर जापान आउनेलाई सहज हुन्छ। यस्तो भए परिवार लैजान पाइन्छ र अवसर पनि धेरै हुन्छन्,' रोबिनले भने।