हरेक वर्ष जुन १२ मा रूसले राष्ट्रिय दिवस मनाउँछ।
यही अवसरमा हामीले नेपालका लागि रूसी राजदूत एलेक्सी नोभिकभसँग लिखित अन्तर्वार्ता गरेका छौं।
यो अन्तर्वार्तामा राजदूत एलेक्सीले नेपाल र रूसबीचको ऐतिहासिक सम्बन्ध, व्यापारिक सहकार्य र साझा सांस्कृतिक सम्बन्धबारे चर्चा गरेका छन्। नेपालमा रूसी कम्पनीहरूको लगानी, छात्रवृत्ति विस्तार र पर्यटन प्रवर्द्धनजस्ता विषयमा उनले जानकारी दिएका छन्। रूसमा विभिन्न माध्यमबाट सेना भर्तीमा गएका नेपालीको अवस्थाबारे पनि धारणा व्यक्त गरेका छन्। त्यस्तै रूस–युक्रेन युद्धबारे पनि उनले आफ्ना भनाइ राखेका छन्।
प्रस्तुत छ सेतोपाटीले राजदूत नोभिकभसँग लिएको अन्तर्वार्ता।
रसियाको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा हामी कुराकानी गरिरहेका छौं। यो दिनको महत्त्व र यसको ऐतिहासिक सन्दर्भ के हो, रसिया दिवस नेपालमा कसरी मनाउनुहुन्छ?
हरेक वर्ष जुन १२ मा मनाइने रसिया दिवसले रूसी जनताको हृदयमा विशेष स्थान राख्छ। यो केबल पात्रोमा उल्लेख भएको एउटा मिति होइन, यो हाम्रो राष्ट्रिय भावना, हाम्रो समृद्ध सांस्कृतिक सम्पदा र युगौंदेखि हाम्रो अटूट निरन्तरताको जीवन्त अवतार हो।
रूसी जनताका लागि, यो गहिरो राष्ट्रिय गौरवको दिन हो। यसले हाम्रो महान राष्ट्रको शताब्दीऔं पुरानो इतिहासको सम्झना गराउँछ। हाम्रा पुर्खाहरूले युद्धको समयमा हाम्रो विशाल मातृभूमिको रक्षा गर्ने होस् वा शान्तिको समयमा नवीनता, संस्कृति र प्रगतिलाई अगाडि बढाउने कार्यलाई होस्, प्रतिकूलताको सामना गर्नु पर्दा बारम्बार अतुलनीय दृढता प्रदर्शन गरेका छन्।
म आफै नै चार दशकभन्दा बढी समयदेखि आफ्नो देशको सेवा गर्ने सौभाग्य पाएको व्यक्ति हुँ। मलाई पूर्ण विश्वास छ, रसियाको महानता केवल यसको विशाल भूभाग र प्राकृतिक सम्पदामा मात्र नभई, यसको जनताको बुद्धिमत्ता, मातृभूमिप्रतिको निष्ठा र अडिग नैतिकतामा निहित छ।
आजको जटिल र अशान्त विश्वमा हाम्रो एकता र देशभक्तिपूर्ण भावना झनै महत्त्वपूर्ण भएको छ। सत्य, ऐतिहासिक स्मृति र राष्ट्रिय स्वाभिमानमा आधारित भएर रूस आफ्नो स्वतन्त्र मार्ग तय गरिरहेछ – हाम्रा पुर्खाहरूको परम्पराको सम्मान गर्दै र भावी पुस्ताको आकांक्षा पूरा गर्दै।
यहाँ नेपालमा रहँदा पनि, रसियाली समुदाय र हाम्रा नेपाली मित्रहरूले यो महत्त्वपूर्ण अवसरलाई मनाउनु अत्यन्त सन्तोषजनक कुरा हो। नेपाली जनताको रूसी इतिहास र संस्कृतिप्रतिको चासो हाम्रो दुई देशबीचको मित्रता र आपसी सम्मानको साँचो प्रमाण हो।
यो वर्ष हामी सबैका लागि प्रेरणाको स्रोत बनोस्। हामी रूसी जनता हाम्रो इतिहासमा गर्व गर्छौं, भविष्यमा आशावादी छौं र बहुध्रुवीय तथा न्याययुक्त विश्व निर्माणमा योगदान पुर्याउने आफ्नो भूमिकामा दृढ छौं। हाम्रो बल हाम्रो सत्य, एकता र हाम्रो प्यारो रूसप्रतिको प्रेममा छ।
देशभक्त युद्धको विजयको ८० औं वार्षिकोत्सवले हाम्रो लागि प्रगाढ महत्त्व राख्छ यस पवित्र मितिलाई उचित रूपमा सम्मान गर्न रूसी संघको दूतावासले विविध अर्थपूर्ण कार्यक्रमहरू आयोजना गरेको छ।
सर्वप्रथम, परम्परागत 'सन्त जर्ज रिबन' अभियान सञ्चालन गरियो जुन स्मृतिको शक्तिशाली प्रतीक हो। हजारौं रिबनहरू रूसी मूलका नेपालीहरू, रूसी भाषी समुदाय तथा नेपाली सांसद, सरकारी प्रतिनिधि, सार्वजनिक व्यक्तित्व, पत्रकार र रसियाका दीर्घकालीन मित्रहरूमाझ वितरण गरियो।
'अमरत सेना' मार्च काठमाडौंका सडकहरूमा सम्पन्न भयो जहाँ रूसी र नेपाली नागरिकहरू, युवा देखि वृद्धसम्म, युद्धमा लड्ने आफ्ना परिवारजनका तस्बिर बोकेर सँगै हिँडिरहेका थिए। म स्वयं पनि यो कार्यक्रममा सहभागी भएँ। त्यसअतिरिक्त, हाम्रो परम्परागत मोटर र्याली काठमाडौंमा सम्पन्न गरियो। नेपाल प्रहरीको सहयोगमा यस वर्षको र्याली विशेष सम्मानजनक र राम्रो व्यवस्थापनसहित सम्पन्न भयो।
हाम्रो स्मृति कार्यक्रमको सबभन्दा भावुक क्षण भनेको श्रद्धाञ्जली अर्पण समारोह थियो, जुन हामीले वर्ल्ड युथ फेस्टिभल तयारी समितिका नेपाली युवा साथीहरू र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग संयुक्त रूपमा आयोजना गर्यौं। नेपाली युवाहरूको सक्रिय सहभागिताले दुई देशबीचको मित्रता र आपसी समझदारीलाई अझ बलियो बनायो।
मे ६ तारिखमा दूतावासमा आयोजित औपचारिक स्वागत समारोहमा रसियासँग सम्बन्धित नेपाली र रूसी समुदायहरू, सोभियत तथा रूसी विश्वविद्यालयका पूर्वस्नातकहरू, सांस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, साथै रसियाका अन्य मित्रहरू उपस्थित भए। यो अवसरले विजयको ऐतिहासिक महत्त्वबारे चर्चा गर्न र सत्यको संरक्षणको आवश्यकता सम्झिन सहयोग पुर्यायो।
यस समर्पित कार्यक्रम अन्तर्गत हामीले सार्वजनिक व्याख्यान, चलचित्र प्रदर्शन, गोलमेच छलफलहरू जस्ता सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू पनि आयोजना गर्यौं।
यस वर्ष म मित्रकुन्ज संस्था – सोभियत र रूसी विश्वविद्यालयका नेपाली स्नातकहरूको सक्रिय समुदायको योगदानको उच्च सराहना गर्न चाहन्छु। उनीहरूको सक्रियता र व्यक्तिगत अनुभवहरूले यस वर्षको कार्यक्रममा विशेष महत्त्व थपेको छ। त्यसैगरी, रूसी हाउस काठमाडौंले सांस्कृतिक पक्षलाई विशेष सुदृढ गर्यो। तिनका प्रदर्शनीहरू, सांगीतिक कार्यक्रमहरू र अन्य सार्वजनिक कार्यक्रमहरूले दुई देशबीचको मानवताको सम्बन्धलाई बलियो बनायो।
नेपाल सरकारको परराष्ट्र मन्त्रालयप्रति म हार्दिक आभार प्रकट गर्छु, जसको स्थायी समर्थन र सहकार्यले हाम्रो स्मृति कार्यक्रम सफल बनाउन सहयोग पुर्यायो।
यस वर्षका कार्यक्रममा हामीले आफ्ना वीर पुर्खाहरूको सम्झनासँगै रूसी–नेपाली मित्रता र ऐतिहासिक समझदारीलाई अझ प्रगाढ बनाएका छौं। हामी नेपाली मित्रहरूको हार्दिक योगदानप्रति आभारी छौं।

सोभियत संघसँगको ऐतिहासिक सम्बन्ध हेर्दा, वर्तमान द्विपक्षीय सम्बन्ध सन्तोषजनक छ कि छैन? रूसको नेपालप्रतिको चासो घटेको हो? के यो मुख्य रूपमा सोभियत संघको विघटन वा चीन र भारतको बढ्दो प्रभावका कारण हो?
पछिल्ला केही दशकमा हाम्रो देश र विश्वमा धेरै परिवर्तनहरू भएका छन्। तर दुई देशका जनताबीचको आपसी सदभाव र बहुआयामिक सहकार्य विस्तार गर्ने चाहना भने परिवर्तन भएको छैन। रसिया नेपालको साथ द्विपक्षीय सम्बन्धको विकासमा उच्च महत्त्व दिन्छ।
हाम्रा देशहरूबीच आर्थिक, सांस्कृतिक, शैक्षिक र प्रविधि क्षेत्रमा समृद्ध सहकार्यको ऐतिहासिक परम्परा छ। हरेक समय रसिया–नेपाल सम्बन्धहरू सधैं मैत्रीपूर्ण रहिआएका छन् र कुनै विरोध वा द्वन्द्वले कहिल्यै छाया पारेको छैन।
रूस नेपालको शान्तिप्रिय परराष्ट्र नीतिलाई, गुटनिरपेक्षता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तप्रतिको प्रतिबद्धतालाई सम्मान गर्छ। गत दशकमा धेरै रूसी कम्पनी र व्यवसायीहरूले ऊर्जा, पूर्वाधार, औषधि, सूचना प्रविधि, पर्यटन लगायत क्षेत्रमा नेपालमा परियोजना स्थापना गर्ने प्रयास गरेका छन्। तर दुःखको कुरा, यी प्रयासहरू नेपाली पक्षको अस्पष्ट प्रक्रियाका कारण अवरोधमा परेका छन्।
कतिपय अवस्थामा रूसी व्यवसायीहरूले आवश्यक अनुमति र स्वीकृति पाउन अनिश्चितता र ढिलाइको सामना गरेका छन्। अहिले पनि केही महत्त्वपूर्ण प्रस्तावहरू र सम्झौताहरू लामो समयदेखि छलफलमा भए पनि नेपाली पक्षबाट ढिलाइ भइरहेको छ। जस्तै, निर्वाचन आयोगबीचको सहकार्य प्रोटोकल, गृह मन्त्रालयबीचको सहमति, सांस्कृतिक सहकार्य सम्बन्धी समझदारीपत्र, पुनः प्रवेश सम्झौता आदि।
हामी यी सबै कागजातहरूमा अघि बढ्न पूर्ण रूपमा तयार छौं। आशा छ, नेपाली अधिकारीहरूले यी प्रस्तावहरूलाई शीघ्र सकारात्मक रूपमा हेर्नेछन्। त्यसका साथै, पश्चिमी, विशेष गरी युरोपेली र अमेरिकी शक्तिहरूको दबाबका कारण कतिपय नेपाली साझेदारहरू अझै पनि रूसी कम्पनीसँगको सहकार्यप्रति हिचकिचाइरहेका छन्।
तर रसिया नेपालसँग ऊर्जा, कृषि, उड्डयन, आधुनिक उद्योग, शिक्षा लगायत धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक छ। नेपाली अधिकारीहरूले रूसी लगानीकर्ताका लागि थप पारदर्शी, सहज र बाह्य राजनीतिक प्रभावबाट स्वतन्त्र वातावरण तयार गर्न सके भने, हामीले निकट भविष्यमा अझ गतिशील र आपसी लाभदायी सहकार्य देख्नेछौं।
रसियाले नेपालका विकास पहलहरूमा कसरी योगदान गर्न सक्छ? नेपाल–रसिया साझेदारीका लागि कुन कुन क्षेत्रमा सम्भावना छ? रूसी प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्न नेपाल सरकारले के कस्ता कदम चाल्नुपर्छ?
नेपाल–रसिया आर्थिक सम्बन्धको एक प्रमुख क्षेत्र आपसी लाभदायी लगानी सहयोग हुन सक्छ, विशेष गरी केही महत्त्वपूर्ण क्षेत्रहरूमा।
ऊर्जा, विशेषगरी जलविद्युत, प्राथमिकता प्राप्त क्षेत्र हो। नेपालसँग वार्षिक करिब ८३ हजार मेगावाट जलविद्युत सम्भाव्यता छ। तर हाल जम्मा ३ हजार मेगावाट मात्र उत्पादन भइरहेको छ। सन् २०३५ सम्म यस क्षेत्रमा २३ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्र्याउने नेपाल सरकारको लक्ष्य छ। स्वदेशी स्रोतको कमी भएकाले नेपाल बुट (बिल्ड–अपरेट–ट्रान्सफर (बिओटी) मोडलमा परियोजना कार्यान्वयन गर्न खुला छ।
सन् २०१३ मा रूस–नेपाल ऊर्जा संयुक्त कार्यसमूह स्थापना गरिएको थियो र पहिलो बैठक पनि त्यही वर्ष सम्पन्न भएको थियो। तर त्यसपछि कुनै बैठक हुन सकेको छैन। नेपाली पक्षले पुनः यस संयन्त्रको गतिविधि सुरू गर्ने रूचि पुष्टि गरेको छ जुन ऊर्जा क्षेत्रमा सहकार्यका प्रमुख मुद्दाहरू छलफल गर्न उपयोगी प्लेटफर्म बन्न सक्छ।
रसियाबाट पिजेएससी रसहाइड्रो (पानी प्रशोधन परियोजनासहित), इन्टर आरएओ एक्सपोर्ट र पावर मेसिन्स जेएससी लगायत कम्पनीहरूले नेपालमा सम्भावित परियोजनाहरू अन्वेषण गरिरहेका छन्।
कृषि–औद्योगिक क्षेत्रः नेपालमा अनुकूल माटो र जलवायु अवस्थाका कारण सोलानेसी कुलका बालीहरू (जस्तै टमाटर, खुर्सानी, आलु) उत्पादनमा राम्रो सम्भावना छ। केही रूसी कृषि कम्पनीहरूले नेपालमा हरितगृह निर्माण गरी त्यसको उत्पादन निर्यात गर्ने सम्भावनाहरूको अध्ययन गरिरहेका छन्। साथै दीर्घकालीन बाली भण्डारण प्रविधिमा रूसी विज्ञता उपयुक्त हुनेछ।
काठमाडौंले आयातमा निर्भर कृषि उपकरण र मलहरूको सन्दर्भमा, स्थानीय स्तरमा यस्तो उपकरण उत्पादन गर्ने– विशेष गरी सोभियत सहयोगमा निर्मित वीरगन्ज कृषि उपकरण कारखानाको पुनरूद्धार परियोजनामा रूसी लगानीकर्ताहरूले चासो राख्न सक्छन्।
यातायात पूर्वाधार विकास: नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशको पूर्व–पश्चिम रेल परियोजनामा रूससँग सहकार्य गर्न तयार रहेको जनाएको छ। यसका लागि रूसी रेलवे कम्पनी (आरजेडडी) सँग सम्पर्क पुनः सुरू गर्ने नेपालको इच्छा छ। त्यसैगरी, काठमाडौंमा हल्का मेट्रो निर्माणमा पनि नेपाली पक्षले रूसी सहयोगप्रति रूचि देखाएको छ।
सूचना–प्रविधिः सरकारी सेवा र सार्वजनिक प्रशासनको डिजिटलीकरण, साइबर सुरक्षा र मानव स्रोत विकासका क्षेत्रमा नेपाल–रसियाबीच पारस्परिक लाभदायी सहकार्यको ठूलो सम्भावना छ।
नेपालले आफूलाई आइटी तथा बिजनेस प्रोसेस आउटसोर्सिङ (बिपिओ) को आकर्षक गन्तव्यका रूपमा उभ्याइरहेको छ। रूसी कम्पनी 'यान्डेक्स' आफ्नो 'यांगो' सेवामार्फत नेपाली आइटी बजारमा प्रवेश गरिसकेको छ।
पर्यटन पनि महत्त्वपूर्ण सहकार्यको क्षेत्र हो। सन् २०२४ मा नेपाल भ्रमण गर्ने रूसी पर्यटकहरूको संख्या १३ हजार ७ सय पुगेको थियो जुन ऐतिहासिक रेकर्ड हो। यस वर्षको पहिलो चार महिनामा मात्रै ६ हजारभन्दा बढी रूसी पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा करिब ५ प्रतिशत वृद्धि भएको छ। यस वर्ष नेपालको मुख्य पर्यटकीय सिजन अप्रिलमा करिब ३ हजार रूसीहरू आएका थिए। नेपाल आउने पर्यटकमध्ये रूस नवौं स्थानमा छ।
रूसी पर्यटकको आगमन अझ वृद्धि गर्न दुई देशबीच सिधा हवाई सेवा पुनः सञ्चालन गर्नु महत्त्वपूर्ण छ। यो नेपाली पक्षको प्राथमिकता पनि हो। यो मस्को–काठमाडौं सिधा उडान वा रूसी सहरहरूबाट पोखरा, भैरहवा जस्ता पर्यटन र धार्मिक केन्द्रहरूसम्म चार्टर वा क्षेत्रीय उडानहरूमार्फत सम्भव हुन सक्छ।
नेपाल र रूसको लामो समयदेखि सम्बन्ध छ। तर पछिल्ला वर्षहरूमा उच्चस्तरीय भ्रमणहरू प्रायः देखिँदैनन्। यसका पछाडि के कारण छन्? यस्ता भ्रमण पुनः सुरू कसरी गर्न सकिन्छ?
पछिल्ला केही महिनामा रूसले नेपालका सम्बन्धित मन्त्रालय र निकायका प्रमुखलाई धेरै उच्चस्तरीय अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा सहभागिताका लागि औपचारिक निमन्त्रणा पठाएको छ। यी प्लेटफर्महरूमध्ये केही 'शेपिङ द फ्युचर', शिक्षा मन्त्रीहरूको फोरम (कजान), रूसी ऊर्जा सप्ताह, अन्तर्राष्ट्रिय सुरक्षा बैठक, सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय कानुनी फोरम, नेभ्स्की वातावरणीय सम्मेलन, आइसिटी–क्राइम २०२५ सम्मेलन, ग्लोबल बायोसेक्युरिटी च्यालेन्जेज सम्मेलन र सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरम (एसपिआइइइफ) हुन्। यी विश्वकै प्रमुख व्यापार र लगानी संवाद मञ्चहरूमध्ये पर्छन्।
यसै क्रममा, हामी नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डल एसपिआइइएफ (जुन १८–२१, २०२५) मा सहभागी हुन आउने तयारीमा हुनु भएकोमा प्रसन्न छौं। हामी यो भ्रमणलाई यथासम्भव फलदायी र नतिजामूलक बनाउन सक्रिय रूपमा काम गरिरहेका छौं।
यदि नेपाली अधिकारीहरूले यस्ता कार्यक्रममा अझ दृढ प्रतिबद्धता देखाउने हो भने, यस्ता भ्रमणहरू औपचारिकताका रूपमा मात्र होइन, वास्तवमै अर्थपूर्ण र उच्चस्तरीय रूपमा सम्पन्न होऊन् भन्नेमा हाम्रो दूतावास पनि प्रतिबद्ध हुनेछ।
यस्तो भएमा लगानी भित्र्याउने, प्रभावशाली सम्पर्कहरू स्थापित गर्ने, र बहुपक्षीय एजेन्डामा नेपालको चासो प्रवर्द्धन गर्नेजस्ता मुख्य मुद्दाहरू धेरै प्रभावकारी र छिटो रूपमा सम्बोधन गर्न सकिने थियो। हामी विश्वास गर्छौं कि यस्ता मञ्चहरूमा गहिरो र निरन्तर संलग्नता द्विपक्षीय सम्बन्ध मात्र होइन, नेपालको विकास लक्ष्यहरूका लागि पनि ठोस फाइदा ल्याउनेछ।

हाल नेपालले रसियामा चिया र कफी निर्यात गरिरहेको छ। यो व्यापार अझ कसरी व्यवस्थित गर्न सकिन्छ? अन्य कुन व्यापारिक सम्भावनाहरू अन्वेषण गर्न सकिन्छ?
मैले माथि पनि उल्लेख गरिसकेको छु, हामी नेपाली आर्थिक संस्थाहरू र व्यावसायिक प्रतिनिधिहरूलाई रूसी व्यापार सम्बन्धी कार्यक्रमहरूमा थप सक्रिय सहभागिता जनाउन र रूसी बजारतर्फ व्यापारिक मिसन तथा प्रतिनिधि मण्डलहरू पठाउन प्रोत्साहित गर्छौं।
रूसी बजारले नेपाली निर्यातका लागि प्रमुख गन्तव्य बन्ने ठूलो सम्भावना राख्छ। विशेष गरी 'नेपाल व्यापार एकीकरण रणनीति २०२३' मा समावेश भएका उत्पादनहरू जस्तैः चिया, कफी, मसला, ठूलो अलैंची, अदुवा, कृषिजन्य उत्पादनहरू, औषधीय र सुवासित बिरूवा, अत्यावश्यक तेलहरू, पश्मिना कपडा लगायतको निर्यातमा।
साथै, रूसबाट नेपालतर्फको निर्यात पनि उल्लेख्य रूपमा विस्तार गर्न सकिन्छ। यहाँ रूसी कृषि औद्योगिक क्षेत्रका उत्पादनहरू जस्तै मल, गहुँ, वनस्पति तेल, चिनी, आलस तथा कृषि उपकरणहरूको आपूर्तिमा बलियो सम्भावना छ।
अर्को सम्भावनायुक्त क्षेत्र भनेको रूसी उड्डयन उपकरणहरूको आपूर्ति हो। विशेष गरी एमआई–१७ हेलिकप्टरहरू, जुन नेपालमा अहिले पनि प्रयोग भइरहेका छन्। साथै छोटो टेकअफ र ल्यान्डिङ गर्ने विमानहरू (एसटिओएल एयरक्राफ्ट), जुन नेपालको विशिष्ट भौगोलिक अवस्थाका लागि अत्यन्त उपयुक्त छन्।
विगतमा रूसले नेपाली विद्यार्थीहरूलाई धेरै छात्रवृत्ति प्रदान गरेको थियो। यो कार्यक्रम पुनः सुरू गर्न सम्भव छ कि?
सन् १९५७ देखि हालसम्म साढे ८ हजारभन्दा बढी नेपाली विद्यार्थीहरू (इन्जिनियरिङ, चिकित्सा र अन्य क्षेत्रहरूमा) यस माध्यमबाट स्नातक भइसकेका छन्। नेपाली नागरिकहरूले रूसी उच्च शिक्षाको गुणस्तरको उच्च मूल्यांकन गर्छन्, जुन स्थानीय श्रम बजारमा पनि धेरै मागमा छ।
मेरो कार्यकालमा मैले व्यक्तिगत रूपमा सरकारी छात्रवृत्तिको संख्या तीनगुणाले वृद्धि भएको देखेको छु। जब मैले आफ्नो कार्यकाल सुरू गरेँ, प्रति वर्ष १५ छात्रवृत्ति मात्र थियो। अहिले, सन् २०२५ मा, यो संख्या वार्षिक ५० पूर्ण छात्रवृत्ति पुगेको छ। यी छात्रवृत्तिहरू पूर्ण रूपमा रूसी सरकारको बजेटबाट वित्तपोषित हुन्छन् – अर्थात् चयन गरिएका नेपाली विद्यार्थीहरूको सम्पूर्ण शिक्षण शुल्क तथा अन्य खर्च रूसी सरकारले बेहोर्छ।
यो उदार कदम मात्र नभई, नेपालको मानव पुँजी विकासमा योगदान दिन प्रतिबद्ध भएको रूसको साँचो प्रतिबद्धताको संकेत पनि हो। यसले हाम्रो देशहरूबीचको दीर्घकालीन मित्रता अझ बलियो बनाउनेछ।
छात्रवृत्तिको संख्या अझ वृद्धि गर्न रूस पूर्ण रूपमा तयार छ। यही उद्देश्यका लागि दुई वर्षअघि हामीले नेपालको परराष्ट्र मन्त्रालयमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएर नेपालका प्राथमिकता प्राप्त अध्ययन क्षेत्रहरू (जस्तै सूचना प्रविधि, स्वास्थ्य, इन्जिनियरिङ आदि) बारे विस्तृत जानकारी माग गरेका थियौं।
यो जानकारी आवश्यक छ ताकि रूसी पक्षले छात्रवृत्ति वितरण गर्दा नेपालका विकास लक्ष्यहरू प्रत्यक्ष रूपमा सम्बोधन गर्न सकियोस्। तर धेरै पटक सम्झाउँदै आए पनि, अहिलेसम्म नेपाली पक्षबाट औपचारिक प्रतिक्रिया प्राप्त भएको छैन। त्यसैले म सम्मानपूर्वक सुझाव दिन चाहन्छु कि, यो महत्त्वपूर्ण विषयलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग गम्भीरतापूर्वक उठाइनुपर्छ। समयमै जबाफ पाएमा हामी यो बहुमूल्य कार्यक्रमलाई अझ विस्तार गर्न सक्नेछौं, जसको सिधा लाभ नेपाली युवापुस्तालाई हुनेछ।
धेरै नेपालीहरू अहिले रूसमा व्यवसाय र विभिन्न क्षेत्रमा कार्यरत छन्। के रूस नेपालसँग श्रम सम्झौता गर्न इच्छुक छ?
हाल नेपाल र रूसबीच कुनै औपचारिक श्रम सम्झौता छैन। यद्यपि, रूसले सधैं आफ्ना विभिन्न क्षेत्रमा कानुनी रूपमा कार्यरत विदेशी नागरिकहरू (नेपालीहरू समेत) को योगदानको कदर गर्दै आएको छ।
विशेष श्रम सम्झौताको सम्भावना स्वाभाविक रूपमा आपसी छलफल र सावधानीपूर्वक विचार–विमर्श आवश्यक पर्ने विषय हो। यदि नेपाली पक्षले आवश्यक चासो देखाएर औपचारिक प्रस्ताव अगाडि ल्याउँछ भने रूस यसबारे संवाद गर्न खुला छ।
अहिलेसम्म नेपाली नागरिकहरू रूसी कानुन अनुसार, विद्यमान कानुनी व्यवस्था अन्तर्गत बसोबास र कार्यरत छन् र रूसी अधिकारीहरू उनीहरूको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छन्।
रूस–युक्रेन युद्धले विश्वमै प्रभाव पारेको छ। रूसले किन सार्वभौम छिमेकीमाथि आक्रमण गर्यो? यो द्वन्द्व समाधान गर्न रूसले कस्ता कदमहरू चालिरहेको छ?
सबैभन्दा पहिला, म जोड दिन चाहन्छु कि अहिले भइरहेको घटनालाई पश्चिमी सञ्चार माध्यमले चित्रण गरेजस्तो 'युद्ध' नै भन्नु उचित हुँदैन। यो एक विशेष सैन्य अपरेसन हो जुन रूसका कार्यहरूको वास्तविक प्रकृति र उद्देश्यलाई स्पष्ट पार्छ।
रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिनले यस अपरेसनका लक्ष्यहरू स्पष्ट रूपमा राखिसक्नुभएको छ— युक्रेनको असैन्यीकरण, नाजीकरणको अन्त्य र वर्षौंदेखि चुलिँदै आएको संकटका मूल कारणहरू हटाउने। यी मुख्यतः पश्चिमी मुलुकहरूको गैरजिम्मेवार र आक्रामक नीतिका कारण उत्पन्न भएको हो।
वर्षौंदेखि डोनबास क्षेत्रका रूसीभाषी जनताले प्रणालीगत भेदभाव र हिंसात्मक दमनको सामना गरिरहेका थिए। नेटो मुलुकहरूले युक्रेनको भूभाग प्रयोग गरेर रूसको सीमानामा सैनिक जमघट गर्दै आएका थिए जसले गर्दा रूसले आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न र सर्वसाधारणको जीवन रक्षार्थ कार्य गर्न अरू कुनै विकल्प नपाएको हो।
पश्चिमी सञ्चार माध्यममा रूसी कारबाही सम्बन्धी धेरै जसो सूचनाहरू गलत र बनावटी छन्। उल्टो, युक्रेनी पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन गर्ने, सार्वजनिक पूर्वाधारमाथि आक्रमण, पत्रकारहरूको हत्या तथा सन् २०२४ को क्रोकस सिटी हलमा भएको घिनलाग्दो आतंकवादी हमला जस्ता कार्यहरू गर्दै आएको स्पष्ट प्रमाणित भइसकेको छ।
द्वन्द्व समाधानका दृष्टिले, रूस सधैं संवादका लागि खुला छ। तर त्यसो गर्दा रूसका वैध सुरक्षा चासोहरू सम्मान गरिनुपर्छ र संकटका वास्तविक कारणहरू सम्बोधन गरिनुपर्छ।
इस्तानबुल वार्ता लगायत अन्य प्रस्तावहरू मार्फत रूसले राजनीतिक समाधानमा गहिरो रूचि देखाएको छ। निष्पक्ष समाधान र धरातलीय यथार्थमा आधारित हुनुपर्छ, न कि पश्चिमी भूराजनीतिक खेलहरूको साधन। त्यस्तै, हालसालै अघि सारिएको 'रजिस्टर अफ ड्यामेज' जस्ता पहलहरू पूर्ण रूपमा अवैध र राजनीतिक प्रेरित छन्। यसले अन्तर्राष्ट्रिय कानुनी मापदण्डहरूको उल्लंघन गर्दै रूसी सम्पत्तिहरूको गैरकानुनी जफतका लागि मार्गप्रशस्त गर्ने औजारको रूपमा प्रयोग गरिँदैछ।
यो साँचो न्याय वा मेलमिलापको लागि होइन, बरू कानुनी संयन्त्रको भूराजनीतिक दुरूपयोग हो जसले डोनबास र रूसी भूभागमा युक्रेनी हमलाबाट पीडित सर्वसाधारणको पीडालाई पूर्ण रूपमा बेवास्ता गरेको छ। रूसले विशेष सैन्य अपरेसनका घोषित उद्देश्यहरू हासिल गर्न दृढताका साथ कार्य जारी राख्छ।
तर साँचो अर्थमा शान्तिमा इच्छुक पक्षहरूसँग सधैं रचनात्मक संवादका लागि तयार छ, न कि यो संकटलाई राजनीतिक फाइदाका लागि लम्ब्याउनेहरूका लागि।

इस्तानबुलमा सोमबारको वार्तामा रूसले द्वन्द्व अन्त्यका लागि आफ्ना सर्तहरू राखेको छ। रूस किन अहिले युक्रेनको नियन्त्रणमा रहेका चार क्षेत्रहरू आफूकहाँ राख्न चाहन्छ? किन हालको फ्रन्टलाइनकै आधारमा समाधान गर्न मान्दैन?
सबैभन्दा पहिले म यो जोड दिन चाहन्छु कि युक्रेनी पक्षले यी वार्ताहरू विफल पार्न किभ शासनको प्रत्यक्ष निर्देशनमा सर्वसाधारण र नागरिक पूर्वाधारहरूमा लक्षित हमला गर्दै आतंकवादी गतिविधिहरू गरेको छ। यस्ता कार्यहरू अन्तर्राष्ट्रिय कानुन अनुसार स्पष्ट रूपमा आतंकवादमा पर्छन् र हाम्रो दृष्टिमा किभ शासन अहिले आतंकवादी संगठनमा रूपान्तरण भइसकेको छ।
रूसी पक्षले यस्ता उक्साहटहरूमा नपरेर वार्तालाई निरन्तरता दिएको छ। सम्बन्धित स्मरणपत्रहरू दुवै राजधानी मस्को र किभमा विश्लेषण गरिनेछ र त्यसपछि वार्तालाई अघि बढाउने आशा गरिएको छ।
हालै रूसले केही सीमित क्षेत्रमा २–३ दिनको मानवतावादी विराम प्रस्ताव गरेको थियो, ताकि घाइतेहरूको उद्धार र विपन्न सैनिकहरूको शवको सम्मानपूर्वक व्यवस्थापन गर्न सकियोस्।
दुर्भाग्यवश, युक्रेनी पक्षले यो प्रस्ताव पूर्ण रूपमा अस्वीकार गर्यो। यस्तो घटना एक पटक मात्र भएको होइन, अर्थोडक्स इस्टरर महान देशभक्त युद्धको ८० औं वार्षिकोत्सवका बेला प्रस्ताव गरिएका मानवतावादी विरामहरू पनि युक्रेनले अस्वीकार गरिसकेको छ।
यसले के देखाउँछ भने हालको युक्रेनी नेतृत्व निर्माणात्मक संवादका लागि तयार छैन – शुद्ध मानवतावादी मुद्दाहरूमा पनि तयार छैन। यस्तो अवस्थामा केवल हालको फ्रन्टलाइनकै आधारमा सहमति गर्नु अवास्तविक र प्रतिफल रहित हुन्छ। यसले द्वन्द्वका मूल कारणहरू समाधान गर्दैन र उल्टो किभलाई द्वन्द्व थप चर्काउन प्रयोग गर्न सकिन्छ।
स्मरणीय छ कि डोनेत्स्क, लुगान्स्क, जापोरोझ्ये र खेरसोन क्षेत्रहरूमा अन्तर्राष्ट्रिय कानुनी मापदण्ड अनुसार जनमत संग्रह गरिएका थिए र जनताले स्पष्ट रूपमा रूसी महासंघमा समाहित हुन चाहेको इच्छा प्रकट गरेका थिए। त्यसैले यस्ता जनमतको अवमूल्यन गरेर बनाइएको कुनै पनि समाधान अस्थिर हुनेछ। स्थायी शान्ति, यी क्षेत्रका जनताको अधिकार र सुरक्षा सुनिश्चित गर्ने र सबै सरोकार पक्षका वैध हितहरू सम्बोधन गर्ने व्यापक समाधानका लागि रूस प्रतिबद्ध छ।
रिपोर्टहरूका अनुसार केही नेपाली युवाहरू रूसी सेनामा सामेल भएका छन्, यद्यपि आधिकारिक तथ्यांक छैन। के रूससँग यस्ता व्यक्तिहरूको रेकर्ड छ ?
म प्रस्ट पार्न चाहन्छु कि रूसी सशस्त्र सेनामा सामेल भएका सबै नेपाली नागरिकहरू पूर्ण रूपमा स्वयंसेवकको रूपमा, आफ्नै इच्छाले र रूसी संघको कानुन अनुसार सामेल भएका हुन्।
युक्रेनी पक्षमा देखिएको जस्तो अव्यवस्थित र जबर्जस्ती भर्ती जस्ता अभ्यास रूसमा छैन। रूस कानुनको शासनमा काम गर्छ र सेवा गर्न चाहने व्यक्तिहरूको स्वतन्त्र निर्णयको सम्मान गर्छ।
कुनै पनि नेपाली नागरिकलाई जबर्जस्ती विशेष सैन्य अपरेसनमा पठाइएको छैन। जति नेपाली नागरिक सामेल भएका छन्, उनीहरू स्वतन्त्र रूपमा रूस प्रवेश गरेका, प्रायः तेस्रो देशहरू हुँदै यात्रा गरेका र निजी मध्यस्थकर्ताहरू मार्फत प्रक्रिया अघि बढाइएकाहरू हुन्। त्यसैले जबसम्म उनीहरू कानुनी रूपमा सेवा दर्ता गर्दैनन्, रूस पक्षसँग यस्ता व्यक्तिहरूको प्रवेशपूर्व केन्द्रीय रेकर्ड राख्ने सम्भावना हुँदैन।
नेपालको परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई द्वन्द्व क्षेत्रतर्फ प्रवेश नगर्न निर्देशन दिइरहेको हामी पूर्ण रूपमा बुझ्छौं र सम्मान गर्छौं। नेपाली नागरिकहरूको सहभागिता सम्बन्धी सबै विषयहरू मस्कोस्थित नेपाली दूतावासले, रूसी रक्षा मन्त्रालयसँग मिलेर समन्वय गरिरहेको छ।
यस सम्बन्धमा कुनै पनि आधिकारिक सूचना यिनै वैध माध्यमबाट मात्र आउनुपर्ने हो। रूसविरोधी गलत प्रचार वा दुई देशबीचको मित्रता कमजोर पार्न खोज्नेहरूबाट होइन। रूसले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्ने दाबी पूर्ण रूपमा गलत छ।
रूसका लागि लड्दा मृत वा गम्भीर घाइते भएका नेपाली सैनिकहरूको परिवारलाई के सहयोग उपलब्ध गराइएको छ?
यस विषयमा रूसी कानुन र प्रक्रिया अनुसार पूर्ण रूपमा व्यवस्थित रूपमा हेरचाह गरिन्छ। क्षतिपूर्ति वितरण र सहयोग दिने प्रक्रिया जटिल र संवेदनशील छ, जसलाई ध्यानपूर्वक र गम्भीरतापूर्वक कार्यान्वयन गर्न आवश्यक हुन्छ।
यस सन्दर्भमा मस्कोस्थित नेपाली दूतावास र रूसी रक्षा मन्त्रालयबीचको सहकार्य अत्यन्त महत्त्वपूर्ण छ। दुवै निकाय मिलेर यस्ता मुद्दाहरूलाई प्रभावकारी र समयमै सम्बोधन गरिरहेका छन्।
त्यसैगरी, म एउटा सामान्य गलत बुझाइलाई पनि स्पष्ट पार्न चाहन्छु।
नेपाली नागरिकहरू लडाइँमा सामेल हुनुनपर्ने वा फ्रन्टलाइनबाट टाढा रहनुपर्ने सोचेर मात्र रूसी सेनामा सामेल भएका थिए भन्ने मानिन्छ। यो पूर्ण रूपमा सही होइन। रूसी सशस्त्र सेनासँगको कुनै पनि सम्झौतामा सेवा गर्ने व्यक्ति सक्रिय सैन्य अपरेसनमा खटिन सक्छ भनेर स्पष्ट रूपमा उल्लेख हुन्छ।
त्यस्तै अहिले सेवा गरिरहेका सबै विदेशी नागरिकहरू घर फर्किन चाहन्छन् भन्ने सोच पनि गलत हो। थुप्रै प्रमाणित उदाहरणहरू छन्, जहाँ विदेशी सैनिकहरूले फर्कने मौका दिइए पनि फ्रन्टलाइनमै रहन र रूसी सहकर्मीहरूसँग सेवा जारी राख्ने निर्णय रोजेका छन्।
यो व्यक्तिगत आस्था र कर्तव्यको भावनाको प्रतीक हो।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी