ग्लोबल नेपाली
ललितपुरतर्फ चक्रपथको नख्खुचोकबाट ओह्रालो गएपछि केही मिनेटमै पुगिन्छ नख्खुपुल। नख्खुपुल नजिकै छ 'हानकुक मिट मार्ट'।
यो मार्ट खुलेको तीन वर्ष भयो। यसमा कोरियामा काम गरेर फर्केका तीन साथीहरू प्रवीण श्रेष्ठ, दिल तामाङ र सहदेव गुरूङको संयुक्त लगानी छ।
यहाँ मुख्य रूपमा पोर्क (बंगुरको मासु) पाइन्छ। यसबाहेक कुखुरा, ट्राउट माछा, राइस केक, किम्ची, कोरियन मरमसला र केही कोरियन खाद्य वस्तु पनि पाइन्छ।
'हाम्रो उद्देश्य त पोर्क मात्रै बेच्ने थियो,' तीनमध्येका एक सहकर्मी प्रवीणले भने, 'ग्राहकले माग गरेपछि बिस्तारै अरू पनि थप्यौं।'
चटक्क सफा देखिने मिट मार्टमा मासु प्याकेजिङ गरेर फ्रिजमा राखिएको हुन्छ। ग्राहकले आफ्नो छनोटअनुसार किन्न पाउँछन्।
प्रविणका अनुसार यो मिट मार्ट कोरियन प्रविधिमा चलाइएको छ। प्रविधि पनि कोरियामै सिकेका हुन्।
'यहाँ कोरियन प्रविधिबाट काम गरिन्छ। मेसिनबाटै प्याकेजिङ हुन्छ,' उनले भने, 'मासुका अलगअलग भाग छुट्ट्याएर राखेका हुन्छौं। ग्राहकले आफ्नो आवश्यकता र रोजाइअनुसार लैजान सक्छन्।'
प्रवीणको पुर्ख्यौली घर धुलिखेल हो; आमा शिक्षक र बुबा होटल व्यवसायी थिए। कामको सिलसिलामा आमाबुबा सिन्धुपाल्चोकमा बस्थे।
उनको बाल्यकाल पनि सिन्धुपाल्चोकमै बित्यो। पछि बुबाले काठमाडौंमा व्यवसाय सुरू गरे। छोराछोरीलाई राम्रो स्कुलमा पढाउने बुबाको इच्छा थियो। तीन छोरा र एक छोरी लिएर बुबा काठमाडौं आए।
बसाइ ललितपुरको बागडोलमा थियो। दुई-चार दिनमै प्रवीणलाई काठमाडौं बस्न मन लागेन। उनी सिन्धुपाल्चोक नै फर्के। आमासँग बसेर उतै पढे। कक्षा १० को अन्तिम परीक्षा एसएलसी उत्तीर्ण भए।
त्यसपछि भने काठमाडौं नआइ भएन। मानविकी संकायमा भर्ना भएर पढाइ सुरू गरे। लगनखेलमा कपडा पसल थियो। पसल दाइको जिम्मामा थियो। प्रवीण पढाइका साथ दाइलाई पसलमा काम सघाउन थाले।
यस्तै दिनचर्या चल्दै थियो। दाइ अचानक गम्भीर बिरामी परे। पसल प्रवीणले चलाउनुपर्ने भयो। उनको पढाइमा असर पर्यो।
उनले भने, 'दाइलाई ब्रेन ह्यामरेज (मस्तिष्कघात) भयो। त्यसपछि मलाई पढाइमा मन नै लागेन। दाइ बिरामी भएपछि सबै जिम्मेवारी आइलाग्यो।'
भर्खरै कलेज पढ्न थालेका प्रवीणको कच्चा उमेरलाई व्यवसायको बोझ बढी भयो। पसलमा आम्दानी घट्न थाल्यो।
'पसल त राम्रै चलेको थियो त मलाई कपडा व्यापारको आइडिया नै भएन। कहाँबाट ल्याउनुपर्छ भन्ने पनि थाहा थिएन,' उनले सुनाए।
करिब एक वर्ष एक्लै चलाएर पसल बेचिदिए। त्यसपछि उनले एउटा कम्पनीमा काम सुरू गरे। जसोतसो दुई वर्ष बिताएपछि उनलाई विदेश जाने हुटहुटी चल्यो।
कोरियन सरकारले इपिएस (रोजगार अनुमति प्रणाली) बाट कोरिया लैजाने भएको थियो। जि-टु-जी (सरकार-सरकार) प्रक्रियाबाट कोरिया जान पाइने भएपछि प्रवीण त्यसमै लागे।
कोरिया जान इपिएस परीक्षा पास गर्नुपर्थ्यो। भरखरै सुरू भएकाले कोरियन भाषा पढाउने संस्था पनि थिएनन्। किताब किनेर आफै पढ्न थाले। करिब तीन महिनाको तयारीमा सन् २००८ मा भाषा परीक्षा पास गरे। कोरियन सरकारले भाषा परीक्षा पास गरेकालाई ३०-४० जनाको समूह बनाएर लैजाने भयो। प्रवीण सन् २००९ मा कोरिया गए।
चार वर्ष दस महिनाको सम्झौता थियो। उनले मासु प्रशोधन गर्ने कम्पनीमा काम पाए। खानेबस्ने सुविधा कम्पनीले नै दिएको थियो।
'मासिक ५० हजार (रूपैयाँ) सम्म आम्दानी हुन्थ्यो, काम चाहिँ गोरूको छाला बोक्ने,' प्रवीणले भने।
करिब एक वर्ष काम गरेपछि त्यो कम्पनी बन्द हुने भयो। प्रवीणले प्लास्टिकका सामान बनाउने कम्पनीमा काम पाए। कोरियामा काम खोज्न उति गाह्रो छैन। सरकारले नै ठाउँठाउँमा 'जब सेन्टर' खोलिदिएको छ। त्यहीँ गएर आफू बेरोजगार रहेको जानकारी गराएपछि काम खोजिदिन्छन्। कामदार र कम्पनी त्यहाँ जोडिएका हुन्छन्।
उनी काम गर्ने कम्पनीले प्लास्टिकका बोतल, डटपेन लगायत सामान बनाउँथ्यो। उनलाई त्यो काम निकै अनौठो र राम्रो लाग्यो। नेपाल फर्केर त्यस्तै काम गर्ने सोचे र सिक्दै गए। तीन वर्ष १० महिना त्यहाँ काम गरेपछि उनको सम्झौता सकियो।
प्रवीण सन् २०१४ मा नेपाल फर्के।
कोरियामा बनाएको सोचअनुसारै उनले आफ्नो व्यावसायिक योजना बनाए। आवश्यक खोज गरे। सबै कच्चा पदार्थ र मेसिन आयात गर्नुपर्ने थाहा भयो। अर्कातिर त्यो बेला लोडसेडिङ थियो। प्रवीण डिजेलबाट उद्योग चलाउन नसक्ने निष्कर्षमा पुगे।
तत्काल व्यवसायको सम्भावना नदेखेपछि उनी सन् २०१५ मा फेरि कोरिया गए। पहिलेको प्लास्टिक कम्पनीमै काम पाए। तर तीन महिनामै त्यहाँ उनको जाँगर मर्यो। उनी भविष्यमा आफूले गर्न सक्ने किसिमको कामको खोजीमा लागे। त्यही क्रममा पुगे मासु प्रशोधन कम्पनीमा।
प्रवीण माछामासुका सोखिन थिए। आफ्नो देशमा अव्यवस्थित मासुपसल देखेका उनलाई कोरियाका मासुपसलले लोभ्यायो।
'त्यहाँका मासुपसल कुनै भव्य मार्टभन्दा फरक थिएनन्। मासुपसलमा छु भन्ने अनुभव नै हुँदैनथ्यो,' उनले भने।
उनलाई नेपालमा पनि यस्तै मासुपसल खोल्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो। कम्पनीमा उनको काम बंगुर बध गरेर सफा गरेपछि टुक्रा गर्ने, प्याकेजिङ गर्ने र बेच्ने काम थियो। उनीसँगै अर्का एक नेपाली पनि काम गर्थे।
प्रवीण र उनका साथी व्यावसायबारे आफ्ना साहुसँग सोधपुछ गर्थे। साहुसँग सम्बन्ध राम्रो हुँदै गयो।
प्रवीणले त्यहाँ चार वर्ष पाँच महिना काम गरे। व्यवसाय सुरू गर्ने सोचले उनी सम्झौता अवधि पाँच महिना बाँकी छँदै सन् २०१९ मा नेपाल फर्के। फर्किने बेला उनले कोरियन साहुलाई आफ्नो योजना सुनाए। साहु उत्साहित भए, पैसा सहयोग गर्छु भने। उनले पैसाको साटो एउटा मेसिन पठाइदिन आग्रह गरे।
व्यवसायको योजनाका साथ आएका प्रवीणले एक सुटकेस एप्रोनले भरेर ल्याए।
'अरू केही सामान किनिनँ। आफूले चलाइरहेको एउटा तन्ना र ब्ल्यांकेट ल्याएँ। बाँकी सबै सुटकेसभरि एप्रोन ल्याएँ। मेसिन र चक्कु कोर्गो गरेँ,' उनले भने।
आउनासाथ उनी काममा लागे। परीक्षणका निम्ति बध गरेर टुक्रा गर्न तयार सिंगै बंगुर ल्याए अनि व्यावसायिक तरिकारले घरमै टुक्रा गरे। उनले मासुको गुणस्तर राम्रो देखेनन्, मासुको मात्रा नमिलेको देखे। चित्त बुझेन। लगत्तै बंगुरपालन हेर्न गए।
धादिङ, चितवन, दाङ, बाँके लगायत केही जिल्लाका बंगुरपालक किसानकहाँ पुगे। त्यहाँ उचित तरिका नअपनाएको देखे।
'मासुको गुणस्तर राम्रो हुन स्रोत नै गुणस्तरीय हुनुपर्छ। धेरैले त भ्याक्सिन नलगाई जुठो भात खुवाएर पालेको देखेँ,' उनले भने।
बजारमा बंगुरको उचित मूल्य नपाउने भएकाले किसानले दाना खुवाउन नसकेको उनले ठहर गरे। त्यसपछि उनले कही कृषकलाई बंगुरपालनका आधारभूत तरिका सिकाए। आफूले भने अनुसारको बंगुर दिए बजारमा पाइरहेको भन्दा बढी मूल्य दिने विश्वास दिलाए, मूल्य नै तोकिदिए। उनले भनेअनुसार किसानहरूले दाना खुवाए, भ्याक्सिन पनि लगाए।
प्रवीणले रेस्टुरेन्ट व्यवसायीलाई पनि भेटे। उनीहरू पनि गुणस्तरीय मासु नपाएर हैरान रहेछन्। कतिपयले त विदेशबाट मगाउँदा रहेछन्। यसपछि भने उनलाई व्यवसाय सुरू गर्ने आँट आयो।
'कृषकलाई भेट्यो बजार छैन भन्छन्। रेस्टुरेन्ट व्यवसायीलाई भेट्यो पोर्क गुणस्तरीग छैन भन्छन्,' उनले भने, 'गुणस्तरीय मासु दिन सक्दा व्यवसाय चल्छ भन्ने लाग्यो।'
उनी उपयुक्त ठाउँको खोजीमा लागे। मासु पसल राख्ने भनेपछि कोठा पाउन मुस्किल भयो।
एक दिन चिनजानका एकजना दाइले आफ्नो घरमा सटर खाली रहेको बताए। प्रवीण तुरून्तै हेर्न गए। सटर 'अन्डर ग्राउन्ड' थियो, पानी छताछुल्ल। त्यही कारणले खाली रहेछ। तीन महिनादेखि भौंतारिएका प्रवीणले त्यही सटर उपयोग गर्ने विचार गरे।
सरसफाइ गरे, रङ लगाए। टायल राखेर भुइँ चिटक्क बनाए। यतिन्जेलमा कोरियामा सँगै काम गरेका तीन जना साथी मिलेर संयुक्त रूपमा व्यवसाय गर्ने योजना बनिसकेको थियो। तीनै जना मिलेर 'मिनी हानकुक मिटमार्ट प्रालि' नामक कम्पनी दर्ता गराए। सोही कम्पनीमार्फत २०७६ सालमा असोजमा 'हानकुक मिटमार्ट' सुरू भयो।
बंगुर बधका लागि निजी क्षेत्रको एउटा बधशालासँग सम्झौता भयो।
'सटर डिजाइन र आवश्यक सामान तयारीमा दस लाख रूपैयाँ खर्च भयो,' प्रवीणले भने।
काम सुरू भयो। तीन सहकर्मीले आपसमा काम बाँडफाँट गरे। बिस्तारै ग्राहक आउन थाले, स्वदेशी र विदेशी दुवै। विदेशीमा कोरियन ग्राहक नै धेरै हुन्थे।
प्रवीणका अनुसार हाल दैनिक तीन सय किलो पोर्क बिक्री हुन्छ जसमध्ये आधा जति रेस्टुरेन्टमा जान्छ, बाँकी खुद्रा बिक्री हुन्छ।
उनको पसलमा चिकेन र ट्राउट माछा पनि पाइन्छ।
कम्पनीले बंगुरका लागि नुवाकोट, काभ्रे र चितवनका केही कृषकसँग सहकार्य गरेको छ। भ्याक्सिन लगाएर, दाना खुवाएर व्यावसायिक रूपमा पालेका बंगुरमात्र किन्ने गरेको प्रवीण भनाइ छ।
'हामीले मात्र व्यवसाय गर्ने भनेर भएन। किसान पनि बचाउनुपर्यो,' उनी भन्छन्, 'किसानले गुणस्तरीय बंगुर उत्पादन गरे भने मासु गुणस्तरीय हुन्छ अनि मात्र किसान र व्यवसायी दुवैलाई फाइदा हुन्छ।'
मिनी हानकुक मिटमार्ट प्रालिले दुइटा कोरियन रेस्टुरेन्टमा पनि लगानी गरेको छ। रेस्टुरेन्ट समेत गरेर सहकर्मी लगानीकर्ता पाँच जना भएका छन्।
कम्पनीमा कुल लगानी दुई करोड रूपैयाँ पुगेको छ। २५ जनाले काम पाएका छन्।
'अहिले कोरियन रेसिपीमा पोर्क ममः र चिकेन मम परीक्षण सुरू गरेका छौं। परीक्षण पूरा भएपछि उपभोक्ताका लागि खुला हुनेछ,' प्रवीणले भने।
भविष्यमा कम्पनीले नै बंगुरपालन गर्ने योजना पनि छ।
'जुनसुकै होस्, व्यवसाय सुरू गर्न सजिलो हुँदैन। काममा प्रोत्साहित गर्नेभन्दा नकारात्मक टिप्पणी गर्नेमान्छे धेरै हुन्छन्,' उनले भने, 'बंगुर बेच्ने भनेर हेप्ने पनि थिए। काम राम्रो हुँदै गएपछि प्रशंसा गर्ने धेरै छन्।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्)
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- setopatidebate@gmail.com